मध्य भोटेकोसी जलविद्युत् कम्पनीको आईपीओ खुल्यो


मध्य भोटेकोसी जलविद्युत् कम्पनीको आईपीओ खुल्यो

काठमाडौं । मध्य भोटेकोसी जलविद्युत् कम्पनीले सर्वसाधारणलाई आजदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कसान (आईपीओ) बिक्री खुला गरेकोे छ । कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यमा ९० करोड बराबरको ९० लाख कित्ता सेयर निष्कासन गरेको हो ।

सर्वसाधारणका लागि निष्कासनमा ल्याएको कुल सेयरमध्ये ४ प्रतिशत अर्थात् तीन लाख ६० हजार कित्ता सेयर कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् चार लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्ट्याएर बाँकी रहने ८१ लाख ९० हजार कित्ता सेयरको लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा यही असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिसम्म मागानुसार पर्याप्त आवेदन नपरे आउँदो कात्तिक ३ गतेसम्म म्याद थप हुनेछ । कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर मोबाइल एपबाट आवेदन दिन सकिनेछ ।

कम्पनीले आईपीओ निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी’ इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीले वित्तीय दायित्व पूरा गर्न सक्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।

कम्पनीले यसअघि आयोजना प्रभावित जिल्ला सिन्धुपाल्चोक र आयोजनाको प्रभाव क्षेत्रका स्थानीयलाई आईपीओ निष्कासन गरेर बाँडफाँड गरिसकेपछि सर्वसाधारणलाई आईपीओ जारी गरेको हो ।

नेपाल विद्युत् प्राधिकरणबाट प्रवद्र्धित चिलिमेको सहायक कम्पनी मध्य भोटेकोसीले सिन्धुपाल्चोकमा १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
-१२खरीबाट