साफ च्याम्पियनसिपमा लगातार दोस्रो जित, श्रीलंका ३–२ ले पराजित


लेखक : लेखापढी      १९ आश्विन २०७८, मंगलवार ०५:२१ मा प्रकाशित     
साफ च्याम्पियनसिपमा लगातार दोस्रो जित, श्रीलंका ३–२ ले पराजित

काठमाडौं । साफ च्याम्पियनसिपमा श्रीलंकालाई ३–२ ले हराएको छ । सुमन लामा, अञ्जन विष्ट र आयुष घलानको गोलमा नेपालले आज लगातार दोस्रो जितसँगै नेपाल अंक तालिकाको शीर्ष स्थानमा रहन सफल भएको छ ।

दुई खेलबाट ६ अंक जोडेको नेपाल शीर्ष स्थानमा छ । समान खेलबाट चार अंक जोडेको बंगलादेश दोस्रो स्थानमा छ । एक अंक जोडेको भारत तेस्रो, माल्दिभ्स चौथो र श्रीलंका पाँचौँ स्थानमा छ ।

‘काउन्टर अट्याक’को रणनीतिमा उत्रिएको नेपालले ३३औँ मिनेटमा सुमनको गोलबाट अग्रता लिएको थियो । नेपालका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आजको सुजल श्रेष्ठको स्थानमा सुमनलाई मौका दिएका थिए । सुमनले पाएको मौकामा आफुलाई प्रमाणित गरे ।

पहिलो हाफमा एक शून्यको अग्रता लिएको नेपालका अञ्जनले ५१औँ मिनेटमा अग्रता दोब्बर बनाए । वैकल्पिक खेलाडी आयुष घलानले दिएको ‘ब्याकपास’मा नवयुग श्रेष्ठले हानेको प्रहार श्रीलंकाका गोलकिपर सुजन परेराले बचाएका थिए । तर, रिबाउन्डमा प्राप्त बललाई अञ्जन विष्टले कुनै गल्ती नगरी पोस्टको दिशा दिएका हुन् । आयुष दोस्रो हाफको सुरुमै विशाल राईको स्थानमा मैदान छिरेका थिए । आयुष मैदान छिर्ने बित्तिकै आफ्नो प्रभाव छाड्न सफल भए ।

मार्भिन ह्यामिल्टनले ५७औँ मिनेटमा गरेको गोलबाट श्रीलंकाले पुनरागमनको प्रयास गरेको गर्‍यो । तर, पाएका केही राम्रा गोलको अवसरलाई सदुपयोग गर्न नसक्दा श्रीलंकाले बराबरी गोल गर्ने अवसर खेर फाल्यो । ह्यामिल्टनले दायाँ खुट्टाले पहिलो बार च्यापेर हानेको लामो प्रहारलाई नेपालका गोलकिपर किरण चेमजोङले बचाएन सकेनन् ।

खेल सकिन चार मिनेट बाँकी हुँदा वैकल्पिक खेलाडी आयुषले अर्को गोल थपिदिएपछि नेपालको जित पक्काजस्तै भएको थियो । आयुषले तेज तामाङको क्रसलाई नियन्त्रणमा लिँदै गोल गरेका हुन् ।

श्रीलंकाले इन्जुरीमा समयमा नेपालमाथि दबाव बढाएको थियो । त्यहीबेला श्रीलंकाले पेनाल्टी अवसर पायो । त्यसमा डिलोन डी सिल्भाले कुनै गल्ती नगरी गोल गरे । तर, त्यतिबेलासम्म श्रीलंकालाई खेलमा फर्किन धेरै ढिला भइसकेको थियो ।

त्यसअघि ५९औँ मिनेटमा श्रीलंकाका मिगाला चालाना चमीराले हानेको प्रहार नेपालका रक्षक सुमन अर्यालले गोललाइनबाट बचाएका थिए ।

४६औँ मिनेटमा पाएको फ्रिकिकमा नेपालका अञ्जन विष्टले हानेको प्रहार श्रीलंकाका गोलकिपरले मुश्किलले बचाएका थिए । ६३औँ मिनेटमा प्रशिक्षक अल्मुताइरीले सुमन लामाको स्थानमा सन्तोष तामाङ, नवयुग श्रेष्ठको स्थानमा मनिष डाँगी मैदान छिराए ।

सन्तोष ६७औँ मिनेटमा ‘वान भर्सेस वान’मा गोल गर्न चुके । त्यसै बलमा मनिषले हेडमार्फत दिएको पासमा आयुषले हानेको प्रहार पनि श्रीलंकाका गोलकिपर परेराले बचाइदिएका थिए । ७४औँ मिनेटमा मनिष डाँगीले पनि गोलको राम्रो अवसर खेर फाले । त्यस लगत्तै पाएको अर्को अवसरमा आयुष पनि गोल गर्न असफल भए । अञ्जनले वायाँ विंग्सबाट गरेको क्रममा आयुषले ६ यार्ड बक्सबाट हानेको हेडिङले पोष्टका दिशा लिन सकेन ।

आजको खेलमा नेपालका अञ्जन विष्ट ‘म्यान अफ द’ म्याच बने ।

नेपालले पहिलो खेलमा पनि आयोजक माल्दिभ्सलाई १–० ले हराएको थियो । माल्दिभ्सविरुद्धको खेलेको टोलीमा नेपालले आज दुई खेलाडी परिवर्तन गरेको थियो । दिनेश राजवंशीको स्थानमा विशाल राई र सुजलको स्थानमा सुमनलाई मौका दिएका थिए ।

आजै सम्पन्न पहिलो खेलमा दश खेलाडीमा सिमित बनेको बंगलादेशले भारतलाई १–१ को बराबरीमा रोकेको थियो ।-१२खरिबाट 

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •