मनाङमा स्याउ छ, बजार पुर्याउन बाटो छैन: किसानको समस्या


लेखक : लेखापढी      ३१ भाद्र २०७८, बिहीबार १४:५० मा प्रकाशित     
मनाङमा स्याउ छ, बजार पुर्याउन बाटो छैन: किसानको समस्या

रासस- मनाङ । यसवर्ष जिल्लामा उत्पादित स्याउ बजारमा पुग्न सकिरहेका छैनन् । विगतका वर्षमा भदौ महिना लाग्नासाथ स्याउ बजारमा पुर्‍याउन सुरु गरिन्थ्यो ।

नासों गाउँपालिका–९ स्थित दानाक्यु एग्रो फार्म प्रालिका सञ्चालक राजु गुरुङले सडक नहुँदा यसवर्ष स्याउ टिप्न र बजारसम्म पुर्‍याउन ढिलो भएको बताए ।

उनले भने, ‘विगतका वर्षमा यतिखेर स्याउ टिप्न चटोरो हुन्थ्यो । यसवर्ष स्याउ टिप्न र बजार लैजान सक्ने अवस्था छैन । कतै सडक नहुँदा बारीमा नै कुहिने त होइन भन्ने चिन्ता लागेको छ ।’

उनका अनुसार एक सय रोपनीका फार्ममा लगाइएको स्याउ मध्ये ३० रोपनी पहिरोले बगाउँदा रु. ४० लाख क्षति भएको छ । उनी जस्तै जिल्लाका आफ्नै बारीमा व्यावसायिक स्याउखेती गर्दै आएका किसान सडक नहुँदा मर्कामा परेका छन् ।

यस पटकको बाढीपहिराले स्याउखेती गर्ने किसान वढी समस्यामा परेका जनाइएको छ । बजारमा स्याउ पुर्‍याउन मुस्किल भएको नासों-८ ताचैका किसान सोलबहादुर गुरुङले बताए । उनले भने, ‘दशैं अगाडिसम्म सडक सुचारु भएमा स्याउ पुर्‍याउन सकिन्छ कि भन्ने आशा जागेको छ ।’

एग्रो मनाङका प्रमुख सोमराज गुरुङले यतिखेर स्याउ बजारमा पुर्‍याउनुपर्ने भए पनि सडकका कारण पुर्‍याउन नसकिएको बताए । ‘गतवर्ष यो सिजनमा प्याकिङ गरिन्थ्यो । यसवर्ष पनि दशैंसम्म सडक निर्माण हुने खबर पाएका छौं । सोही अनुसार प्याकिङको काम थालेका छौं । सडक बनेपछि बजारमा पुर्‍याउने तयारीमा छौ ।’ उनले भने ।

सडक मर्मत जारी

यसैबीच डुम्रे-बेँशीसहर-चामे सडक योजना कार्यालय लमजुङका प्रमुख अच्युत विलास पन्तले सदरमुकाम चामेसम्म असोजसम्ममा सडक सञ्चालन गराउने तयारीमा रहेको जानकारी दिए । मर्मत तथा सम्भार र निर्माण जारी रहेको उनले बताए ।

‘सडक मर्मत तथा सम्भार भइरहेको छ । वर्षा भइरहेकाले समस्या भने आइरहेको छ । एक ठाउँमा बनायो अर्को स्थानमा भत्किन्छ । यो समस्याले सडक निर्माणमा अलि ढिलाइ चाही भएकै हो।’, उनले भने ।

उनका अनुसार अगामी दशैँ अगावै जिल्ला सदरमुकामसम्म सवारी सञ्चालन गर्ने योजनासहित काम भइरहेको छ । माथिल्लो मनाङ जाने सडक अन्तर्गतको तलेखु–भ्राताङ भीरमा ब्लाष्टिङ गर्ने सबै सामग्री उपलब्ध गराउँदै काम पनि भइरहेको उनले बताए । सो सडकखण्ड एक सय सात किलोमिटरमध्ये लमजुङको बेँशीसहरदेखि नासों गाउँपालिका-१ खोत्रोसम्मको ३५ किमी सडक निर्माण भइसकेको छ ।

त्यस्तै चामे गाउँपालिकामा स्थानीयवासीको सहयोगमा पालिकाम पूरै सवारी आवतजावत भइसकेको उनले बताए । उनका अनुसार अब उक्त सडक खण्ड अन्तर्गतको खोत्रोदेखि तिमाङसम्म करिब १५ किलोमिटर सडक निर्माण हुनबाँकी छ ।

माथिल्लो र तल्लो मनाङलाई जोड्नका लागि करिब साढे दुई महिनापछि तलेखु–भ्राताङ भिरमा चट्टान काटेर सडक निर्माणको काम भइरहेको कार्यालयले जनाएको छ । उक्त सडक निर्माण भएपछि सर्वसाधारणलाई आवतजावत तथा सामग्री ढुवानीमा सहज हुनेछ ।