म्याग्दी राखूको महारानी सदार्वत गुठी: ऐतिहासिक, धार्मीक, सामाजिक तथा साँस्कृतिक महत्व


लेखक : लेखापढी      २९ भाद्र २०७८, मंगलवार १६:५२ मा प्रकाशित     
म्याग्दी राखूको महारानी सदार्वत गुठी: ऐतिहासिक, धार्मीक, सामाजिक तथा साँस्कृतिक महत्व

परिचय
नेपालको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथको समिपबाट अविरल बग्ने कालिगण्डकी (कृष्णगण्डकी,शालीग्राम युक्त नदी) र धौलागिरी हिमश्रृंखलाबाट उदगम भई राखूको पश्चिम हुँदै बग्ने रंघुगंगा जस्ता दुई नदिको संगमस्थल एवं धार्मिक स्थल गलेश्वरधाम देखी लगत्तै उत्तर पश्चिम फैलिएको साथै अन्नपूर्ण र निलगिरी हिमश्रृंखलाहरुले शोभायमान अति नै मनोरम स्थल “राखू” हो जसले ऐतिहासिक, साँस्कृतिक, पुरातात्विक भौगोलिक मान्यता बोकेको छ ।

राखूगाँउ मुस्ताङ्ग जिल्लामा रहेकोमा पछि २०३२ सालदेखि म्याग्दी जिल्लामा पारिएको थियो । त्यो भन्दा पहिला राखूलाई ४००० पर्वत बागलुङ्ग थुम राखू भनिने गरिन्थ्यो भने अझ त्यो भन्दा अगाडि के भनिन्थ्यो तर बाइसे चौविसे राज्यको केही समयसम्म तथा त्यो भन्दा अगाडि यसठाँउलाई राखू प्रदेश, राखूपुला अथवा पौलास्याश्रम समिपेको नामले चिनिने गरेको थियो । यहि राखूको हाला रानीपौवा स्थिती मुक्तिनाथ सदार्वत गुठी संचालन गरिने रानाीपौवा थियो हाल आएर यसको भग्नावशेषमा यसको घरको जग मात्र देखिन सकिन्छ ।

स्थापना

राखूको महारानी पौवामा राजा रण बहादुर शाह वि.स. १८५१ तिर नै मुक्तिनाथको तिर्थ यात्रीको लागि आँउदा उहाँको आदेश अनुसान आँप दारिमको रुख रोप्न लगाइएको थियो भन्ने भनाई छ (अधिकारी क्षेत्र बहादुर, २०५४ ) । मुक्तिनाथ सदार्वत गुठीको स्थपाना भने वि.सं. १८६३ मा श्री ५ रणबहादूर शाहको माहिली श्रीमति सुर्वणप्रभाले मुक्तिनाथ तिर्थ गरि आउँदा मुक्तिनाथ जाने जोगी सन्यासीको लागि बस्न खानको लागि व्यवस्थापन मिलाउनको लागि यो गुठी स्थापना भएको थियो । यसको केही समयपछि नै यो रानीपौवा स्थापना गरि यहि राखूबाट नै यो गुठी संचालन गरिएको थियो ।

मुक्तिनाथका तिर्थयात्रिको सुविधाको लागी पौवाहरुको निर्माण गरि सदार्वत बाँड्ने, धुनी लगाउने जस्ता परोपकारी कार्यको लागि गुठीको स्थपना गर्न राजा तथा रानीहरुको ध्यान गएको देखिन्छ ।

मुक्तिनाथको दर्शनार्थीहरु टाढा टाढाबाट हजारौको संख्यामा तीर्थयात्रीहरुको आगमन हुने यस पूण्यस्थलमा नेपालको एकिकरण पछि त्यस क्षेत्रमा जाने तिर्थयात्रिको सुविधाको लागी पौवाहरुको निर्माण गरि सदार्वत बाँड्ने, धुनी लगाउने जस्ता परोपकारी कार्यको लागि गुठीको स्थपना गर्न राजा तथा रानीहरुको ध्यान गएको देखिन्छ । यसरी मुक्तिनाथसँग सम्वन्धित पौवा, सदार्वत तथा फलफुल बगैचाको निर्माण गएिको थियो । यो गुठी २५३० मुरी खेत राखिएको छ भने । यसको सिमाना पर्वत कालिगण्डीकी र राखुघाट, पश्चिममा कामुखोला, उत्तरमा भुज्यालगढि सिमलको रुखदेखि अघिबाट सानुखोला देखि कालिगण्डकी र राखुघाटको दोभान, दषिन कालिगण्डीक र राखुखोलका वेणितिर पुर्व कटुन्जया खोलाको आम्दानीले यो राखू रानीपौवा सर्दावर्त गुठी स्थापना भएको हो ।

प्रशासनिक व्यवस्था

यहाँको प्रशासनिक व्यवस्था कहिले देखि संचालन भयो भनेर एकिन गर्ने आधार त केहि पनि छैन । भिमराज (पुल्मी) मल्लका जेठा छोरा महाविर मल्लले २५ बर्ष त्यस गुठीको डिट्ठा भएका थिए भन्ने सामाजिक इतिहास छ । उनको जन्म वि.स. १८६५ तर हुँदा उनी लगभग २५ बर्ष भएपछि २५ बर्ष सम्म डिट्ठा चलाउँदा वि.स. १९१५ देखि वि.स. १९२० सम्म देखिन्छ । राखू मुक्तिनाथ सर्दावर्त गुठीको डिट्ठामा राखूका मल्ल ठकुरीहरुले लगभग १५० बर्ष चलाएका थिए (अधिकारी क्षेत्र बहादुर, २०५४) । त्यस पछि वि.स. १९५२ मा मइविर डिट्ठा भएका छन । उनीकहाँका थिए भनि एकिन गर्न सकिन्न । वि.स. १९५०, १९६०, १९८५, १९९५ मा यहाँ डिट्टा भएका प्रमाण हरु प्रशस्त छन । यसबेलामा डिट्टा पद रोलक्रममा बाउ छोरा पछि भाई भाईमा क्रमीक रुपमा यहाँको प्रशासन चलाइएको देखिन्छ । जसकारण महाविर डिट्ठा भएपछि उनका भाई कविराज पनि डिट्ठा भएका हुनु पर्छ । तर त्यसको सामाजिक इतिहास छैन ।

कविराजको पाला देखि दाजुभाईमा नगएरु यिनकै छोराहरुकोमा डिट्ठा पदवी गइको देखिन्छ । यो चलन नेपालको राणाहरु प्रशासनमा पनि चलेको थियो । उनका छोराहरु प्येयर सिं ठकुरी र जहरसिं (जगतबहादुर मल्ल) मा गएको देखिन्छ । । वि.स १९७४ तिर यो सबै दाजुभाईमा तथा अन्य जागितमा यो पदवि गएको देखिन्छ । जसमा चन्द बहादुर , वि.स १९७८ मा गजदल भण्डारी, वि.स १९८४ मा चंद बहादू मल्ल, वि.स १९९४ मा खड्ग बहादुर मल्ल पछि रत्न बहादूर मल्ल, उजिर सिं मल्ल, नन्द बहादूर मल्ल, र खिम बहादूर मल्ल डिट्ठा भएका थिए पछि फेरी नन्द बहादुर मल्ल बडाहाकीम हुँदै अञ्चलाधिस पनि हुनु भएको थिए ।

तथ्याकं एकिन नभएपनि पिप्ले २ स्यालडाँडा निवासी डिल बहादुर शाहीका अनुसार: ७, ८ बर्ष सम्म रुद्रविर बहादुर शाही, चन्द्र बहादूर शाहीेले खन्जान्चि डिट्ट चलाए पनि यसमा विभिन्न षडयन्त्र हुदै सवैमा रिझाउन जानेका सिजलगाँउका गहदौ भण्डारीले पनि डिट्ठा चलाएका थिए । त्यसपछि रत्न बहादूर मल्ल चलाए । गौश्वारे ठकुरीहरुले पनि डिठा चलाए, तिलाहर रजिंत घर्तीले पनि चलाए । चौतारीया डोंडजँगका हुकुम अनुसार बाग्लुगंका देवेन्द्र कुमाई पनि डिट्ठा चलाउन आए पछि राखूबासीले यसले राखूबासीलाई दवाउछ भनि सारा राखुबासी उठेर बहाली गर्न नदिए पछि देवेन्द्र कुमाईले गदागद्धि मुद्दा हाल्दा कमलखोर प्रतापसिंह मल्ल, हरखर्क हस्तबहादुर शाही, पटानी हर्क बहादूर मल्ल, ठाडाखोर विल बहादूर मल्ल, पिप्लेका रण बहादूर मल्ललाई बाग्लुङ्गको जेलमा लगि थुनियो थियो । त्यस समय भन्दा अगाडि जर्नेल शेर बहादूर मल्लको विवाह पाल्पा गौडाका हाकिम कर्णेल योग विक्रम राणाको छोरी सँग विवाह भएका थियो । त्यसै सेरोफेरो मिलाई यि व्यक्ती निर्दोष छन, निर्दोष व्यक्ती जेलमा परेका छन भनि विन्ति प्रत्र हाल्दा पाल्पाले ति व्यक्तीहरु निर्दोष छन छोडिदिनु भनि आदेश दिएपछि सवै जेलबाट छुटेका थिए ।

उक्त घटना अति भएपछि बुढाघरका इन्द्र बहादूर मल्ल सहित अन्य मल्लहरुले भिमसेनको अत्याचार सहन नसकेर उनले “ल बन्दुकले मेरो छातिमा हान भनि छाति थापे इन्द्रबहादुर मल्लले “ यसरी धम्की दिएर डिट्ठा हुन मोहन बहादूर मल्ललाई असुहाउँदो भयो ।

तात्कालिन समयमा केन्द्रमा जसको चाकडी चल्यो त्यही व्यक्तीले डिट्टा हुने भएपछि वि.स. २०११ सालमा मल्लाजबाट स्व. इतिहासविद मोहन बहादुर मल्ल राखूको डिट्ठा पदविमा नियुक्त भएर आए । उनी डिट्टा भएर आउँदा राखूका थर थरका सबैका साथमा राखूका मल्लहरु, मोहन बहादुर मल्लको विरुद्ध उठे । उनलाई त्यहाँ बहाली गर्न नदिएपछि मोहन बहादुर मल्लका दाईका छोरा भिमसेन मल्ल बन्दुक लिएर राखूका सवैको घरघरमा बन्दूक देखाउदै धम्की दिन थाले । उक्त घटना अति भएपछि बुढाघरका इन्द्र बहादूर मल्ल सहित अन्य मल्लहरुले भिमसेनको अत्याचार सहन नसकेर उनले “ल बन्दुकले मेरो छातिमा हान भनि छाति थापे इन्द्रबहादुर मल्लले” यसरी धम्की दिएर डिट्ठा हुन मोहन बहादूर मल्ललाई असुहाउँदो भयो । उनलाई लाज भयो र उनले डिट्ठा पद छोड्नु पर्यो । पछि सबैको सल्लाह बमोजिम खिम बहादूर मल्लले डिट्ठा पदवि चलाए । उनलाई कलेजावागं देखि पिप्लेले सर्मथन गरेका थिए । त्यहीका केही व्यक्तीले विरोध गरे पनि उहाँले डिट्टा पदवि चलाउनु भएको थियो । उनका पालमा केन्द्रमा जर्नेल शेर बहादुर मल्लको पहल तथा राखूबाट उहाँको पहलमा राखू भगवतिमा खानेपानिको योजना पारि राखूको खानेपानिमा राम्रो व्यव्स्था गरिएको थियो । त्यो समयमा उल्लेखनिय काम गरिएको थियो ।

उक्त पश्चताप राखूमा “केटा जति लगे गल्लाले, राखूमा पानि ल्याए खिम बहादुर मल्लले “ भनि गित गाईन गरिन्थ्यो । साथै राखूमा वेनि भन्दा अगाडी स्वास्थ्य सेवा , पशुसेवा, कृषीका अफिसहरु स्थापना भएका थिए । यसमा जर्नेल शेर बहादुर मल्लको पनि ठुलो हात छ । समयक्रमको विचमा एकचोटी गौहद भण्डारी डिट्टा भएका थिए । वि.स. २०२१ सालमा बाग्लुगंका दुर्गा बहादूर हमाल पनि डिट्ठा भएका थिए । कटुवाल थरबाट टेक बहादुर कटुवाल क्षेत्रि पनि राखूसदार्वत गुठिको उठानको जिम्मा लिएका थिए । (राखू पिप्ले निवासी श्री डिल बहादुर शाही ज्यूले भन्नु भएको हो उहाँ भु.पु उपप्रधान पञ्च तथा राखू सदार्वत गुठीको अम्वाली पदमा कार्यरत हुनु हुन्थ्यो । उक्त भनाई राखूको गुठि अन्तर्गतको शाखा भद्रकालीमा पनि त्यही भनाई निवेदनहरु भएकाले उक्त कुरा सत्य छ)

यसको महत्व

यस्तो एतिहासिक, धार्मीक, साँस्कृतिक तथा सामाजिक बोकेको राखू गुठी हाल यसको संरक्षण गर्नूको साटो यसलाई अहिले सबै संरचना नष्ट पारिएको छ र यसको हाल जगको संरचना मात्र बाँकी छ । यस्तो महत्व बोकेको राखू गुठीलाई संरक्षण गर्न सकेको खण्डमा यसले अझ झन एक ऐतिहासि धर्मीक मान्यता बोक्ने छ । डा. रमेश ढुङ्गेल भन्नुहुन्छ मुक्तिनाथ र राखू रानीपौवा गुठी भनेको केदारनाथ र बद्रिनाथ जस्तो हो । तथा ब्यवस्थाको क्रममा मुक्तिनाथ मन्दिर वरि परि मात्र नभएर मुक्तिनाथ जाने बाटोमा यस्ता पाटिपौवाहरु स्थापना गरिएका थिए । दिनमा हजारौ तिर्थ यात्रीलाई खान बस्नको व्यवस्थापन गरेको राखूगुठीको मह्त्व अहिले ओझेलमा परेको छ । राखु र दोवामा त्यो बेलाको मालपोत कर सरकारमा दाखिला नगरी सोझै गूठीको रुपमा कायम गरि त्यसैबाट मुक्तिनाथको पूजा आजा चलाउने गरिन्थ्यो । त्यहाँ जाने साधु सन्तलाई सिधा दिने व्यवस्था थियो । माथिको ताम्रपत्रमा जनही एक माना चामल, दुईमुठी दाल, नुन, घयू दाउरा दिन चलन थियो । यसरी सामाजिक भाव बोकेको इतिहासमा गर्व गर्न लाएक यो सदावर्द गुठी हाल आएर बन्द हुँदा त्यो क्षेत्र भएर जानी तिर्थयात्रिलाई पुगेको समस्यामा राज्यको आँखा पुगेको देखिदैन ।

सुधार गुठी अति भयो अन्याय भयो भनेर सेवातिर लाग्नु भएका भु.पु. अंचलादिश नन्द बहादूर मल्ल लाई आठपाथी चामल घरदुलाबाट घरमा छोरा मान्छे नभएका लाई मिनाह गरेका थिए ।

राखु गुठियारले तिर्दै गरको तिरो २००७ सालसम्म कायम नै थियो । त्यसपछि यो स्थिती नै टिक्न नसक्ने भएको हुनाले २००८ सालमा बडाहाकीम श्री नन्दबहादुर मल्लबाट (१२) बाह्र पाथी धानको १ पाथी चामल तिर्ने व्यव्स्था मिलाइयो र त्यसैमा जनता पनि खुसी भए । त्यसैबाट चलि आएको धर्म पनि थियो तर राजनैतिक चलखेलले त्यो आम्दानीले पुगेन भनेर १२ बाह्रपाथी धानको बाह्र माना चामाल तिर्नु पर्ने गराइएको थियो । सुधार गुठी अति भयो अन्याय भयो भनेर सेवातिर लाग्नु भएका भु.पु. अंचलादिश नन्द बहादूर मल्ललाई आठपाथी चामल घरदुलाबाट घरमा छोरा मान्छे नभएकालाई मिनाह गरेका थिए । त्यस कार्यमा पनि राखूबासी उठेपछि जति राम्रो काम गरे पनि राम्रो भएन भनि राजिनामा गरे । वि.स. २०२१ साल अशोज १४ गते को पत्रमा चौतरिया ज्यू सँग पास भएको पत्रिलिपी अनुसार १२ बाह्र पाथि धानको एक पाथी चामलको दरले उढाउँदा पनि ८३ मुरी चामल हुने रहेछ । यो उठती भएको चामलबाट साधु सन्तलाई सर्दावर्त दिने र जागिरे रुपमा जाने चामल र बढि हुन आएको चामल गाँउ पंचायतको आम्दानीमा बाँकी रहेको सार्वजनिक काममा लगाउनु भनि लेखिउको पत्रले पनि यो क्षेत्रमा सामाजिक कार्य गरेको देखिन्छ । भने अहिले आएर राखूगुठीलाई रैकर छुट आवाज आएको छ । सत प्रतिशत छुट भएमा राम्रो तर केही छुट र बाँकी रकम गुठीमा तिर्ने व्यव्स्थालाई यो गुठी संचालनमा त्यो रकमलाई हस्तान्तरण गर्नु नै यसको महत्व हो ।

हालको अवस्था

वि.स. २०३२ साल पछि मुक्तिनाथ सदार्वत गुठि संस्थानबाट संचालन गर्ने भएपछि र मुक्तिनाथ जाने बाटो पनि रघुघाट बाट कालगण्डिकी तिरै तिर वेगखोला जाने बनाएपछि यो राखूको महारानी सदार्वत गुठि ओझेलमा परेको हो । उक्त पश्चताप यसको मर्मत संभार नभएपछि यो गुठीको भवन भत्कने अवस्थामा थियो पछि यसलाई त्यहाको समाजले यसको संरचना नष्ट बनाइएको थियो तर पछि यसलाई पुर्नस्थापना गर्न सकिएको छैन । हाल यो गुठीमा बनेको संरचनाको जगमात्र देख्न सकिन्छ ।

पुर्नस्थापना अबको आवश्यकता

समय परिवर्तनशिल छ । मानिसका चाहना अनगिन्ती हुन्छन । त्यो रढीबादी जमानाबाट मानिस पुजीवादी जमनामा ढल्केका छन । मानिस पैसाको लागि मरिहत्ते गरेका छन । आखिर पैसा भएर पनि के हुने रहेछ भन्ने हाम्रो इतिहास ले देखाइसकेको छ । पैसा कमाएपनि धर्म कर्म मै मानिसले जति आन्नदाभुति गर्छ अरु केहीमा गर्न सक्दैन । अब राखूबासीको आवश्यकता भनेको राखूगुठी संचालन गरि मुक्तिनाथ जाने जोगी सन्यासी र तिर्थयात्रीको सेवा सुविधा गर्नू नै धार्मीक मान्यता अनुसार स्वर्ग पुग्नु हो । हामीमा एउटा समिति बनि राखूमुक्तिनाथ जाने तिर्थ यात्रुका सवारी साधानहरुलाई केही कर रकम लिएर यो गुठी संचानल गर्नु पनि अहिलेको आवश्यकता हो । यसको भौगलिक र यर्थाथता अध्ययन गरि यसको रेखाकंन गरि यसको थ्रि डि बनाएर फेरी पुरातत्वविभागमा यसको पुनरुत्थान लागि घचघच्याउने र यो संरचनालाई ऐतिहासिक धरोहर बनाउने अहिलेका आवश्यकता हो ।

निष्कर्ष
पुन्य भुमी हामी सबै पुराणमा ब्याख्या गरे अनुसार त्यस क्षेत्रमा जन्मिएका मानिस र कालिगण्डीको तिरमा दाहसंस्कार भएका व्यक्ति सबै स्वर्गको बास हुने भुमी एक ऐतिहासिक, धार्मीक र सामाजिक साँस्कृतिक मान्यता बोकको ठाँउ हो जहाँ मुक्तिनाथ सदार्वत रानीपौवा गुठी यो मुक्तिनाथ मन्दिरको लागि अभिन्न अँग हो । यो राखू सर्दावर्द गुठी जसरी केदारनाथको बद्रिनाथ भए झै मुक्तिनाथ सदार्वथ गुठीको राखू रानाीपौवा गुठी पनि अभिन्न अँग हो ।



दलिपकुमार मल्ल, पिएचडि
सामाजिक मनोवैज्ञानिक, समाजशास्त्री
सामाजिक विकास तथा पुनर्वास विज्ञ
dk_malla@yahoo.com

100% LikesVS
0% Dislikes
Spread Your Love !!!