आईसीसी विश्वकप क्रिकेट लिग-२ : नेपाल र अमेरिकाबीचको खेल आज


आईसीसी विश्वकप क्रिकेट लिग-२ : नेपाल र अमेरिकाबीचको खेल आज

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज आज (सोमबार)देखि सुरु हुँदै छ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपालले आज सिरिजको पहिलो खेल अमेरिकाविरुद्ध खेल्दै छ। नेपाल र अमेरिकाबीचको खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ।

डेढ वर्षपछि आईसीसी विश्वकप लिग २ को शृंखलाका लागि आमनेसामने हुँदा नेपाल, अमेरिका र ओमानको टोलीमा खासै भिन्नता छैन । लिग २ को अंक तालिका हेर्ने हो भने यो ठोकुवाका साथ भन्न सकिन्छ । 

लिग–२ अन्तर्गत नेपालले यसअघि घरेलु मैदानमा अमेरिकासँग खेलेको दुबै खेल जितेको थियो।

सन् २०२० को फेब्रुअरी १२ मा टियु क्रिकेट मैदानमा नेपालले अमेरिकासँग पछिल्लो पटक प्रतिस्पर्धा गरेको थियो। त्यस खेलमा नेपालले अमेरिकालाई ८ विकेटले हराएको थियो।

सन् २०२३ को ओडीआई विश्वकपको रोडम्यापको रुपमा रहेको लिग-२ को यो छैटौं सिरिज हो । यस सिरिजमा नेपाल र अमेरिकासंगै घरेलु टोली ओमान पनि छ ।

प्लेअफबाट दुई टोलीले ग्लोबल छनोट खेल्ने अन्तिम अवसर पाउनेछन् । ग्लोबल छनोटमा १० टोली हुनेछन् । आईसीसी विश्वकप सुपर लिगमा १२ टेस्ट टोली र नेदरल्यान्ड्स गरी कुल १३ टोली छन् । विश्वकप सुपर लिगमा १३ टोली मध्य भारत आयोजक देश हुँदा छनोट भइसकेको छ । सुपर लिगपछि अन्य शीर्ष ७ टोलीले विश्वकपमा स्थान बनाउनेछन् । बाँकी पाँच टोलीले ग्लोबल छनोटमा झर्नेछन् ।