सभामुखद्वारा आह्वान सर्वदलीय बैठकमा एमाले अध्यक्ष ओली नजाने


सभामुखद्वारा आह्वान सर्वदलीय बैठकमा  एमाले अध्यक्ष ओली नजाने

संसदको गतिरोध अन्त्य गर्न भन्दै सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली सहभागी नहुने भएका छन् ।

प्रमुख प्रतिपक्षी दलको नेताको रूपमा उपस्थित हुन सभामुखले व्यक्तिगत पत्र पठाए पनि सर्वदलीय बैठकमा अध्यक्ष ओली उपस्थित नहुने भएका हुन्। एमालेले कारबाही गरेका १४ सांसदको विषयमा निर्णय नभएसम्म सर्वदलीय बैठकमा सहभागी नहुने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बताए। तर ओली नजाने पार्टीबाट कुनै प्रतिनिधि पठाइने उनको सचिवालय स्राेतले जानकारी दिएकाे हाे ।

छलफलमा प्रधानमन्त्री एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुर तथा जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल र राप्रपाका राजेन्द्र लिंदेनलाई आमन्त्रण गरिएको छ । 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार संसद बैठक अवरुद्ध पारेपछि आइतबार सभामुखले संसदमा प्रतिनिधित्व गर्ने दलहरुसँग छलफल गर्ने निर्णय गरेका थिए। आज दिउँसो साढे २ बजे सभामुखले सर्वदलीय बैठक बोलाएका हुन्।