उत्तर कोरियाद्वारा लामो दूरीको क्रुज मिसाइल परीक्षण; सफल परीक्षण गरेको दाबी


लेखक : लेखापढी      २८ भाद्र २०७८, सोमबार १२:१२ मा प्रकाशित     
उत्तर कोरियाद्वारा लामो दूरीको क्रुज मिसाइल परीक्षण; सफल परीक्षण गरेको दाबी

उत्तर कोरियाले लामो दूरीमा प्रहार गर्न सक्ने नयाँ क्रुज मिसाइल परीक्षण गरेको छ। उक्त मिसाइल जापानका अधिकांश स्थानमा मार हान्न सक्ने क्षमताको रहेको उत्तर कोरियाली समाचार संस्था केसिएनएलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

उत्तर कोरियाली सरकारी सञ्चारमाध्यम केसीएनएका अनुसार उक्त मिसाइल नयाँ प्रकारको भएको दाबी गरिएको छ । 

दक्षिण कोरियाको संयुक्त चिफ अफ स्टाफका अनुसार उत्तर कोरियाले ती क्षेप्यास्त्रहरु होडो प्रायद्वीपबाट प्रक्षेपण गरेको हो।

दुवै क्षेप्यास्त्र १,५०० किलोमिटर टाढासम्म पुग्न सक्ने उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनएले जनाएको छ।

उत्तर कोरियासँग लामो समयदेखि कायम कूटनीतिक गतिरोधका विषयमा टोक्योमा अमेरिका, जापान र दक्षिण कोरियाका अधिकारीहरूबीच हुन लागेको छलफलको पूर्वसन्ध्यामा पछिल्लो परीक्षण गरिएको हो।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तर कोरियालाई ब्यालेस्टिक मिसाइल परीक्षणमा प्रतिबन्ध लगाएको छ। क्रुज मिसाइलको तुलनामा ब्यालेस्टिक मिसाइल बढी खतरनाक मानिन्छ।