हलिया: कविता


लेखक : लेखापढी      २७ भाद्र २०७८, आईतवार १४:५१ मा प्रकाशित     
हलिया: कविता

पुस्तौंंपुस्तादेखि
बाजेबराजुको पालादेखि
खोला किनारको सानो छाप्रो
जो उसको नाममा दर्ता छैन
अलि वर्षा हुदाँ खोलाले बगाउँछ
पहिरोले पुर्दैपुर्दै गएको हुन्छ
न त स्वामित्व नै छ त्यसमा
हो, त्यसै जमिनको टुक्राबापत्को
बाउबाजेले थामेको बिंडो
उही मालिकको हलो
काँधमा बोकेर
खेतबारीमा खेलिरहन्छ
एक हल गोरुसँगै आफू पनि
जोतिएको हुन्छ–हलिया ।

पैँचो लिएको दुई माना कोदो
बिहान बेलुकाको छाक टार्न
लिएको सानो ऋण तिर्न नसकेपछि
विवश पारिन्छ र अनि
खाली कागजमा
अगुँठा च्याप्न लगाएर
लेखिन्छन तमसुकहरु
हरेक वर्ष तमसुकको
संख्यामा वृद्धि गरिन्छ
एक ढिका नुनको
सिर्फ एक खुर्सानीको
हलेदोकोे, रायोको पातको
एक थोपा तेलको
भारी कस्छ तमसुकमा लपेटेर
थन्क्याउँछ छाप्रोभित्र
राख्छ आउँदो पुस्ताका लागि
पहाड उभ्याइरहन्छ
दासताको भारीको–त्यो हलिया ।

मालिकको नजरभित्र कैद हुन्छ
वर्षभरि बँधुवा जीवन जिउँछ
निधारबाट मूल्यहीन पसिना बगाउँछ
हुँदैन कुनै त्यसको हिसाब किताब
मरुभूमिको बालुवाको भाउजस्तो
चल्छ त केवल त्यही पसिना
न त पानी चल्छ न छुन मिल्छ
दूध दही घीउ केही नचल्ने
घिच्छ पानीसित एक गाँस
धान्छ परान बजार्छ ढुङ्गा माटो
यस्तै जीवनको परिभाषा हो–हलिया ।

नुनको अथाह सोझो
बफादार नैतिकवान नौकर
मालिकको खेत मालिकका गोरु
उसले आफ्नो मुटुमा राख्छ
मालिकका खेत र गोरुलाई
कसैले केही कुरा लाए भने
ऊ प्रतिरोध गर्छ
मालिकको बचाव गर्छ
चाहे भोलि मालिकलाई नै
दण्ड जरिवाना तिर्नुपरे पनि
खसी बोका नै दिनुपर्ने भए पनि
तमसुकमा थप्न तयार हुन्छ–हलिया ।

चोटमाथि चोट
सङ्कटमाथि सङ्कट व्यहोर्छ
आफू, सानो हुँदा उमेर नै खान नपाएर
अकालमै भएको बाजेको मृत्यु सम्झन्छ
सम्झिन्छ आफ्नो बुबाको मृत्यु
मालिकको खेतमा गोरु जोतिरहेकै बेला
गोरु बिच्किएर खुट्टामा फाली लागेपछि
हलोसितै जोतिन पुग्छ रक्ताम्य भई
उपचारै गर्न नपाई जीवन गुमाउँछ
मृत बुबाको जीवन बिमा आउँछ
बिमामा हलो पाउँछ
र अनि उ बन्छ–हलिया ।

देशमा चलेको सङ्कटकाल
क्रान्तिका अभियानहरू
एकाएक दिनहरू फेरिए
मालिकले हलो जोतेको घटना
तमसुकहरू च्यातिएको खबर
गाउँमा जनसरकारको उर्दी
भीमदत्त पन्तका नारा
‘जमिन कसको जोत्नेको’
‘कि त जोत हलो कि त छोड् थलो’
इत्यादि लेखेर रङ्गएिका वालहरू
मलम बनेपछि पुरिए घाउहरू
फेर्छ स्वाभिमानको श्वास
आभास गर्छ स्वतन्त्रताको
छुट्करा पाउँछ
दासताको जञ्जीरबाट
हिजोको त्यो–हलिया ।

स्थायी शान्तिको अभिलासासँगै
अवकासमा पर्छन् फेरि हलियाका
अस्थायी ती दिनहरू
पुनर्लेखन हुन्छन् च्यातिएका तमसुकहरू
क्षतिपूर्ति असुलउपरको नाउँमा
कानुनका दफा उल्लेख गरेर
दशौँगुना बिगो राखेर
सहूँला बुझाऊँलाको कागजमा
फेरि फेरि अगुँठा च्यापिन्छ
प्रतिसोध साँध्न उसको
छोराको हातमा हतकडी लागेपछि
दासताको नारकीय जीवनको
जञ्जीरमा फेरि कसिन पुग्छ–हलिया ।

यस्तै बेला गिद्दले सिनो खोजे जस्तै
डलरहरूले हलिया खोजे
दौडाए कागजका घोडाहरू
उडाए प्लेनहरू
गुडाए चिल्ला कारहरू
बोलाए नामका हलिया
भोज भतेर लाए
दिउँसो सिंहदरबार धाए
लगाए चर्का चर्का नाराहरू
पत्रकारहरूले कैद गरे ती तस्विरहरू
साँझ तारेहोटेलमा पाटी
भोलि अन्तर्वार्तामा डलर बोल्छ
पत्रिकाको मुख्य पृष्ठ
टेलीभीजनको मुख्य न्युज बन्छ
हठात् मनस्थितिमा पुग्छ सरकार
सस्तो लोकप्रियता कमाउन
हतारहतारमा गर्छ
हलिया मुक्तिको घोषणा
दुनियाँ पत्याउनका लागि
रहँदैन कागजमा–हलिया ।

खटाउँछन् दौडाहा टोलीहरू
डलरको डिजाइनमा
बनाइन्छ फरमेड
लिइन्छ तथ्याङ्क
तथ्याङ्कमा एउटा हलिया एउटा मालिक
खेतमा अर्कै हलिया अर्कै मालिक
बाँडिन्छन पुनस्र्थापनाका प्याकेजहरू
डाडु पन्यूँ तिनै चलाउँछन्
अथाह जमिनका मालिक
जो आफैँ घरमा हलिया चलाउँछन्
रित्तिन्छ सरकारी ढुकुटी
बगिरहन्छन् डलरका खोला
हलिया हलिया नै रहन्छ
नाम फेरेर बजार थापिन्छ
कहिले मुक्त हलिया
कहिले छुट हलिया
तर हलिया हलिया नै छ
ऊ बेचिएको छ
सबैबाट पटक पटक ठगिएको छ
त्यसैेले ऊ,
अनवरत स्वाभिमानको खोजीमा छ
क्रान्तिको पर्खाइमा छ
मुक्ति र स्वतन्त्रताको दैलो चहार्दै
तड्पिरहेको छ वास्तविक – हलिया ।।


कर्ण दयाल



(कर्ण दयाल मेलौली नगरपालिका ७, बैतडीका बासिन्दा हुनुहुन्छ । उहाँ नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउनुहुन्छ । यस कवितामा उहाँले पश्चिम पहाडका हलियाका व्यथालाई प्रस्तुत गर्नुभएको छ ।)

100% LikesVS
0% Dislikes
Spread Your Love !!!