संखुवासभा हत्याकाण्डका आरोपी सार्वजनिक: काठको चिर्पट हानेर सबैको हत्या


लेखक : लेखापढी      २७ भाद्र २०७८, आईतवार १२:०१ मा प्रकाशित     
संखुवासभा हत्याकाण्डका आरोपी सार्वजनिक: काठको चिर्पट हानेर सबैको हत्या

संखुवासभाको मादी नगरपालिका–१, उम्लिङमा भएको सामूहिक हत्याकाण्डका आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । संखुवासभास्थित चैनपुर इलाका प्रहरी कार्यालयले कार्कीलाई सार्वजनिक गरेको हो ।

२६ वर्षीय कार्कीलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको थियो ।

चैनपुरमा आइतबार पत्रकार सम्मेलन गरी घटनामा संलग्न भनिएका २६ वर्षीय लोकबहादुर कार्कीलाई सार्वजनिक गरिएको हो । यही भदौ २१ गते बिहान तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको वीभत्स हत्या भएको थियो ।

पत्रकार सम्मेलनमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डीआईजी अरुणकुमार बिसीले लोकबहादुर वैदेशिक रोजगारीमा गएको र असफल भई फर्केको पाइएको बताए ।

उनले भने, “यो योजनागत भन्दा पनि आवेशमा आएर गराएको देखिएको छ । मानिसक रूपमा समेत विक्षिप्त भएका लोकबहादुले आफूलाई अवहेलना भएको भन्ने मानसकिताले हत्या गरेको पाइएको छ ।”

यसरी भएकाे थियाे घटना

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार प्रहरीले अनुमान गरेजस्तै घटनामा एकपछि अर्कोले देखेर सामूहिक हत्या भएको पाइएको छ ।

प्रहरीका अनुसार हत्याका अभियुक्त लोक बहादुर कार्कीले नातामा काका पर्ने तेजबहादुर कार्की घरबाट निस्किएको आफ्नो शौचालयमा देखेका थिए । आफूलाई सधैँ हेप्ने, सापटी लिएको रकमको ब्याज लिएको आदि कुराले लोकबहादुर काका तेजबहादुरप्रति रुष्ट थिए । हत्याको अघिल्लो रात पनि लोकबहादुरको मनमा अनेकौँ कुराहरू खेलेका थिए ।

जब बिहानै तेजबहादुर घरबाट निस्किन लागे लोकबहादुरले तेजबहादुरलाई आक्रमण गर्ने सोच बनाए । अनि घर नजिकै रहेको दाउराको चाङबाट एउटा चिर्पट निकाले, अनि तेजबहादुर अगाडि बढेपछि उनी खोल्सीमा पुगेर तेजबहादुरमाथि आक्रमण गरे ।

तेजबहादुरले ‘लोकेले मा–यो, गुहार …’ भनेर चिच्याएपछि उक्त चिच्च्याहटका कारण तेजबहादुरकी श्रीमती कमला र बुहारी रञ्जना पनि घटनास्थलतर्फ आए । घटनामा संलग्न लोकबहादुर कमला र रञ्जनालाई देखेपछि पोल खुल्ने डरले पहिले कमलामाथि पनि त्यही चिर्पटले टाउकोमा प्रहार गरे ।

गत सोमबार ९१ वर्षीय बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय छोरा तेजबहादुर कार्की, बुहारी ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, ११ वर्षीय नाति दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको थियो । NEWS AGENCY

50% LikesVS
50% Dislikes
Spread Your Love !!!