लक्ष्मीप्रसाद पौडेलका कोरोनाकालीन दुई लघुकथा


लेखक : लेखापढी      २७ भाद्र २०७८, आईतवार १७:२४ मा प्रकाशित     
लक्ष्मीप्रसाद पौडेलका कोरोनाकालीन दुई लघुकथा

कसुर

चिनको बुहान प्रान्तबाट शुरु भयो भनिएको कोभिड–१९ नामको कोरोना भाइरस एक वर्ष पूरा गरेर दोस्रो वर्षको चौथो महिनामा दगुरिरहेथ्यो । सानादेखि ठुलसम्म धेरैको घर शून्य पारिसकेको थियो । हुनेखानेहरू अस्पताल नै ठेक्का हानेर बाँच्ने प्रयासमा थिए । नहुनेहरू आफ्ना इष्टकूल पुकार्दै अन्तिम सहारा सरकारी अस्पतालको उस्ताउस्तै बिरामीले खचाखच भुई ओगट्न विवश थिए ।

सरकारले लकडाउन गर्ने जोहो गरिसकेको थियो । रोजिरोटी खोज्दै भारत छिरेका मजदुरहरू एकातिर तिव्र रूपमा फैलिएको महामारीका कारण रोजगारी गुमाउनु परेको अर्कोतिर रोगले लैजाने हो कि भन्ने आशंकाले स्वदेश फर्किदै थिए ।

यता ऊ “को भन्दा को कम” अभियानमा सरिक मान्छेहरूको भिड ओसारपसार गर्थ्यो । ऊ पेशाले चालक थियो । सरकारले भनेको स्वास्थ्य मापदण्ड त हुनेखानेको लागि हो । ऊ त बिहान साँझको छाक टार्न श्रीमतीले सिलाएको कपडाको टालो मास्क भन्थ्यो, अनुहारभर त्यही बेर्दथ्यो । सामाजिक दुरी कायम गरोस्, अन्न र पेटको दुरी बढ्थ्यो ।

“मैले भनेको मानेनौ । रोगले समातिहाल्यो । तिमीलाई केही भैहाल्यो भने हामी त जिउँदै मर्छौ ।” आँखाभरी आँसु बोकेर श्रीमतीले एम्बुलेन्समा चढ्ने बेला भनेकी थिई, उसले सम्झ्यो ।

अचानक अस्पतालमा हडकम्प मच्चियो । कुन्नी को हो, ठूलै नेता मान्छेले बेड पाएनछ । अस्पताल प्रशासन, सरकारविरुद्ध नाराजुलुस चल्यो ।

ऊ अस्पतालको एउटा कुनामा मुखमा प्राणवायुको तार जोडेर पल्टिएको थियो । अचानक अस्पतालमा हडकम्प मच्चियो । कुन्नी को हो, ठूलै नेता मान्छेले बेड पाएनछ । अस्पताल प्रशासन, सरकारविरुद्ध नाराजुलुस चल्यो । बाहिरको हुलहुज्जतले बिरामीहरूमा थप निराशा थप्ने काम गर्दैथ्यो । तनावग्रस्त अवस्था निकै बेर रह्यो ।
अलिपछि त्यो मान्छे उसको छेवैमा भर्ती हुन आइपुग्यो ।

“सबै निकम्मा छन् कुनै प्रबन्ध नै छैन ।” ऊ अझै कराइरहेको थियो । ऊ पूर्व नेता थियो । हिजोसम्म हुलका हुल मान्छे बोकेर जुलुस सजाउनेमा पथ्र्यो ।

उसले मनमनै भन्यो, “कालो बादल फैलाउनुमा तपाईंको पनि सहयोग थियो । अँध्यारोलाई सरापेर के हुन्छ ? आफ्नो भागको दियो त आफैले बाल्न सक्नुपर्छ ।“

प्रचार–प्रसार

“रामेशलाई कोरोना भएछ नि !“ टोलभरी हल्ला भुसको आगो झै फैलियो । रामेशका बाबू बजारमा मेडिकल स्टोरमा काम गर्थे । कोरोनाको दोस्रो लहर तिव्र भएपछि उनले घर आउनै छोडेका थिए । आमा र एउटी बहिनीको साथमा रामेश घरभित्र सुरक्षित बसेका थिए । सुरक्षाका सबै उपाय अपनाएर आमा घर बाहिरको एक्लै किनमेलको काम गर्थिन ।

आज रासन लिन जाँदा सबैले दुरदुर गरे । उनी छक्क परिन् । पसलेले सामान दिन इन्कार त गरेन तर “पैसा पछि दिनु” भन्दै उनको हातको पैसा लिएन ।

आमाले छोरीलाई सबै घटना सुनाइन् । सानी बहिनी दङ्ग परी । झल्याँस्स दाजुले टेलिफोनमा कुरा गरेको सम्झी ।

“महिनौं भैसक्यो एकचोटि भेटाैं न !”

“हुँदैन हो ! अस्तिदेखि लगातार तीन दिन ज्वरो आयो । रिपोर्ट जाँच गराउन भनेर दुई घण्टा लाइनमा सँगै भएको अगाडिको मान्छे रिपोर्ट नहेरेर हिजो बित्यो भन्छन् । आफुलाई घरभित्रै डर लागिरहेको छ । तिमी भेट्ने कुरा गर्छौं ?“

“ए, हो हैं ! त्यसो भए त हुँदैन । आफ्नो ख्याल गर्नु !” कलेजमा सँगै पढ्दाका साथी विनिता र रामेश टेलीफोनमा कुरा गर्दै थिए ।

“लौ बितायो, त्यो बिनिता त हिजो हरिशसँग अँगालो हालेर घुम्दै थिई !” आमाको होस उड्यो ।

बहिनीले अनुमान लगाई, “यो सबै हल्ला फैलाउने बिनिता नै हो ।”

उसले दाइलाई हकारी, “दादा तँ कहिले गइस टेस्ट गराउन ?”

“म कहाँ गएँ ? मैले त हरिशको कुरा पो गरेको ! बिनिताले पूरा कुरा सुन्दै नसुनी फोन काटी !” रामेशले भन्यो ।

“लौ बितायो, त्यो बिनिता त हिजो हरिशसँग अँगालो हालेर घुम्दै थिई !” आमाको होस उड्यो ।

“यसरी शंकास्पद व्यक्तिले लापरवाही गर्दा नै यो रोग फैलिरहेछ ।”

“दादा ! तेरी प्रेमिका त तँलाई कोरोना भयो भनेर हरिशसँग लागिछ !” बहिनी चुट्की बजाउँदै आमा भएतिर दगुरी ।


लक्ष्मीप्रसाद पौडेल
धनगढी, कैलाली


(लक्ष्मीप्रसाद पौडेलको बसोबास धनगढी, कैलालीमा रहेका छ । समकालीन लघुकथा लेखनमा अत्यन्त सक्रिय पौडेल आधुनिक नेपाली लघुकथा पेजका व्यवस्थापक हुनुहुन्छ ।)

100% LikesVS
0% Dislikes
Spread Your Love !!!