तीजको महिमा र आधुनिकता


लेखक : लेखापढी      २५ भाद्र २०७८, शुक्रबार १४:२० मा प्रकाशित     
तीजको महिमा र आधुनिकता

सर्वप्रथम हिन्दू नारी जातिको प्रधानता रहेको प्रमुख र महान चाड हरितालिका तीजको सम्पूर्णमा शुभकामना टक्र्याउन चाहन्छु !!

प्रत्येक साल भदौ महिनाको शुक्ल पक्षको तृतीया तिथि र हस्था नक्षत्रका दिन मनाउने चाड हिन्दु धार्मिक ग्रन्थअनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरे पछि सँगिनीहरूद्वारा हरेर जङ्गलमा पुर्‍याएकी जगतमाता पार्वतीले महादेव पति पाउनका निम्ति गरिएको तीजको ब्रतलाई हरितालिका भनिएको हो

नामस्य व्रतराजस्य श्रृणु देवि यथाभवम् ।
आलिभिर्ह्रिता यस्मात्तस्मात्सा हरितालिका ।।

आलि भनेको साथी हो र आलिभिर्ह्रिता साथिहरूद्वारा हरण गरिएकी भनेर हरितालिका नाम रहन गएको हो । यसको नामको सम्बन्धमा शिवजीले पार्वतीलाई यसरी बताएका छन् :
यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस्’ भनी आशिर्वाद दिएपछि शिव पार्वतीको विवाह हुन पुग्यो। त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो। सोही तिथिदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ। तीजको व्रत पवित्र मन-वचनका साथ बस्दा अविवाहितले चिताएको वर पाइने तथा विवाहितहरूले आफ्ना पतिको दीर्घायु तथा सुस्वास्थ्य प्राप्त गर्ने परम्परागत मान्यता छ ।

यो पर्व विशेषगरी भाद्र शुक्ल द्वितीयादेखि ऋषी पञ्चमीसम्म जम्मा चारदिन मनाइन्छ ।

हरेक वर्ष शुक्ल तृतीयाका दिन मनाइने यो पर्वमा अघिल्लो रात अर्थात् द्वितीयाका दिन दर खाइन्छ। तीजका दिन व्रत बसिन्छ। चौथीका दिन स्नान गरी व्रतको पारण गरेर खाना खाइन्छ भने तीजको तेस्रोदिन अर्थात् ऋषिपञ्चमीका दिन व्रतालु महिलाहरूले ३६५ वटा दतिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्छन् ।

अपमार्ग लेपनले छालामा हुने एलर्जी हटाउँछ । पञ्चमीका दिन अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि तथा वशिष्ठ ऋषिको पूजा गरी हलोले नजोतेको अन्नको भात र एक सुइरे भएर उम्रने कर्कलो आदिको तरकारी वा एकदलीय अन्न मात्र खाइन्छ । यो दिन श्रीमानले पकाएको भोजन खाए आपसी आत्मीयता एवं सद्भाव बढ्ने विश्वास छ ।
अघिअघि खेतको कामले अर्थात् वर्षाभरि मेलापात गरेर थाकेको ज्यान माइतमा आएर थकानमेट्ने साथै दुई दिन खुसीले रमाउने मीठो मसिनो खाने चलन अहिले हाम्रो माझामा एउटा परम्परा अर्थार रीति रिवाजको रूपमा जिउँदै छ । साथै माइती र चेलीको सङ्गम गराउने एउटा सुनौलो अवसर पुर्‍याउने तीज पर्वलाई नेपाली चेलीबेटीको मुटु एवम् धुकधुकी भन्दा पनि कुनै गल्ती हुँदैन जस्तो मलाई लाग्छ
कता कता यस चाडले सुटुक्क नारी स्वतन्त्रताको सन्देस छोडेको देख्न पाइन्छ। नारीले स्वतन्त्ररूपमा आफ्नो पति छानेर वरण गर्न पाउने अधिकार पनि यसै चाडले दर्शाउँछ ।
यसरी हाम्रा पुख्र्यौलीको परम्परा राख्दै आज हामी पनि तीजको रमाइलो मनाउने चेलीबेटी बोलाएर मिठो मसिनो खाने खुवाउने र भोलिपल्ट महादेवको पूजा अर्चना निर्जल निराहार बसेर गर्ने क्रम अघिसारिरहेका छौ ।

आजभोलि तीज पर्वले आधुनिकताको घुम्टो ओढेको जताततै देख्न पाइन्छ। आधुनिक र सहरिया ढाँचामा महिलाहरू होटलमा भेला भएर पार्टी आयोजित गर्छन् र मदिराको नसामा तल्लिन हुन्छ्न्। तीजका नाममा भित्रिएको यो सबैभन्दा ठुलो विकृति हो । इज्जत र सभ्यता अनि सुन्दर देखिन नभई अरूको देखासिकी र प्रतिस्पर्धाका लागि गहना लगाउने चलन पनि भित्रिएको छ । यस्तो व्यवहारले मौलिक संस्कृतिलाई पनि ओझेलमा पार्छ । यो पर्वको सांस्कृतिक महत्वको हिफाजत गर्न विकृतिहरू हटाउँदै जानु आवश्यक छ ।


कविता पूर्ण पौड्याल
बंगाईगाउ,असम, भारत 

100% LikesVS
0% Dislikes
Spread the love !