पञ्चमहाभूतमा परिणत हुन
प्रकृतिबाटै
सम्पूर्ण योजनामा जुटेको लास
वर्षाको पानी
समेट्दै वरिपरिको फोहर
बगिरहेको बाग्मती किनारमा
जल्दै छ
भरपूर्ण जीवन
संघर्षमा जुधेको मान्छेको
काममा रमाएको व्यक्तिको
इमानदारी, अनुशासन र
समाजमा व्याप्त विभेदप्रति
आँखा चिम्लेर
सम्झौता नगर्ने व्यक्तिको ।
*** *** ***
मिलाएर राखिएको
काठको खाट चितामा
तयार छ ऊ
महापञ्चभूतमा परिणत हुन
कुन तरिकाले
भौतिक परिवर्तन
छिटो वा ढिलो पूर्ण रूपमा हुन्छ
ऊ राजी छ खप्न
बनस्पती घिउका पोकाको ज्वाला
लास ढाक्ने परालको गुमसाहट
बाँसको खोप्टाको घोचाइ सहन
छैन कुनै सिकायत उसमा
भस्म हुन नसकेका
मांसरज्जु, कण्डरा
गोल, कोइला र खरानी
हुन नभ्याएका हड्डी
मिल्काएपनि बाग्मतीमा
ती पाउनेछन् आफ्नो स्थान
कहीँ कतै किनार वा पींधमा
ती हुनेछन् कसैका निम्ति
चाहनाका उपलब्धता
फरक के पर्यो ?
*** *** ***
भ्याएसम्म सबै फोहर
बगाउने जिम्मा पाएकी बागमती
हिचकिचाउने छैनिन्
निस्केका ती खरानी परिणत शरीर
सुसाउन प्रयत्नरत बाग्मतीमा
पहिले नभ्याइएका
जल यात्रा
नदी, समुन्द्र, महासागर हुँदै
जल संसार विश्व परिचय
हुनेछ नयाँ महान यात्रा
जल, थल, आकाश,
वायु, प्रकाश, अग्नी,
सबै मान्य हुनेछन्
छैन् मान्य खाली यात्रा !
विभेद र बेमानीपूर्ण
कर्म अभाव र शिक्षा प्रतिबन्ध ।
*** *** ***
अन्तिम व्यवस्थापक प्रकृति नै हो,
आफ्नो जायजात
चिन्ता किन ? !
विवेकी न्यायकी सृष्टि माता
जीवन शक्ति
लेऊ आफ्नो सम्पत्ति
आफ्नै खरखाँचो
अनुरूप आवश्यकता
गर व्यवस्थापन
महान यात्रा !!!
प्रा. डा. अर्जुनदेव भट्ट
(प्रा डा. अर्जुनदेव भट्ट नेपालका प्रसिद्ध मूत्ररोग विशेषज्ञ एवम् कवि हुनुहुन्छ । उहाँले यो कविता यही २००७८ भाद्र १४ गते दिवंगत हुनुभएका आफ्ना दाजु आनन्ददेव भट्टको सम्झनामा तयार पार्नुभएको हो । आनन्ददेव भट्ट नेपालका प्रख्यात साहित्यकार एवम् राजनीतिज्ञ हुनुहुन्थ्यो ।)