सभामुखविरुद्ध संसदमै एमालेको नाराबाजी; अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित


सभामुखविरुद्ध संसदमै एमालेको नाराबाजी; अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

प्रमुख विपक्षी नेकपा एमालेले सभामुखमाथि प्रश्न उठाउँदै प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ ।अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

आफूले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसदलाई समयमै पदमुक्त नगरेर दल विभाजनमा सहयोगी भूमिका खेलेको एमालेको आरोप छ । प्रतिनिधिसभाको अधिवेशनको पहिलो दिनको बैठक सुरु हुनासाथ एमाले सांसदहरुले उठेर विरोध गरेका थिए ।

बुधबार नयाँ बानेश्वरमा बैठक सुरु हुनासाथ एमालेका सांसद्हरुले सभामुखको भूमिकाप्रति असन्तुष्टि जनाउँदै उठेर विरोध जनाएका थिए ।

सभामुखले समय दिएपछि प्रमुख सचेतक विशाल भट्टराई बोले । उनले एमालेले कारबाही गरेका सांसदहरुलाई पदमुक्त नगरेको भन्दै सभामुखमाथि नै प्रश्न उठाए । पार्टी फुटिसकेपछि केही गर्नु नपर्ने भनेर निर्णय गरेको भन्दै उनले सोधे, ‘तपाईले नेकपा एमालेले कारबाही गरेका सांसदहरुलाई बचाउन र नेकपा एमाले टुक्र्याउन किन सारथिको भूमिका निभाउनु भयो ?’

जवाफमा सभामुख सापकोटाले प्रचलित कानुनको आधारमा आफूले निर्णय लिएको बताए ।

उनले संविधानको धारा १०५ ले अदालतमा विचाराधीन मुद्दाका सवालमा संघीय संसदको कुनै सदनमा छलफल गर्न वञ्चित गरेको पनि प्रस्ट पारे ।

यसका बाबजुद नेकपा एमालेका सांसदहरुले प्रतिनिधिसभाको बैठक अवरुद्ध तुल्याएका छन् ।