बा !!


लेखक : लेखापढी      १६ भाद्र २०७८, बुधबार १५:०६ मा प्रकाशित     
बा !!

बा अभावका पहाडहरू बोकेर
मुगलानतिर भासिनु भो
दशनङ्ग्रा खियाएर
सन्ततिका भविष्यहरू गोडमेल गर्दै
सुस्केरामा मिठो भाका भर्दै
सारङ्गीका तारहरू झैं रेटिनु भो ।

बा पौरखी हातहरू बोकेर
बहादुर छाती फुलाएर
फौजीमा भर्ति हुनु भो ,
सन्ततिको भविष्य सुनिश्चित गर्न
अरूकै शत्रुहरूसँग लड्दै
बहादुर बन्नु भो ।

बा एकहल गोरुहरू नारेर
पाटेबारीमा दिनभरि
गोरुसँगै नाचिरहनु भो,
सन्ततिहरू कै सपनाहरू बुन्दै
खेतका गराहरूमा
कोदालीसँग परेड खेलिरहनु भो ।

दिनभरि बाउसे गरेर थाक्नु भएको
बाको निधारमा कहिल्यै थकान देखिन मैले
काँधमा जिम्मेवारी र कर्तव्यहरू बोकेर
सन्ततिका सपनाहरूलाई बुन्दै
अभावहरू सँग हाँस्दै जुधिरहनु भो।

खै पीडाहरू पनि कता लुकाउनु हुन्छ बा ?
कहिल्यै बाँड्ने कोसिस गर्नुभएन ।
खुजमुज्ज  परेका पन्नाजस्तै
चाउरी परेका अनुहारहरूमा
पीडाका बक्र रेखाहरु सल्बलाउँछन् ।
खोपिल्टा परेका गालाहरू
दुःखका गहिरो सागर जस्तै लाग्छ ।

तर खै किन लेखिएनन्
बाका अनगिन्ती दन्त्यकथाहरू
खै किन बनेनन्
बाका पीडाका पिरामिडहरू

ती स्वाभिमानी पौरखीहातहरु,
ती बहादुर छातीहरू
आदर्श र संघर्षको प्रतीक बनेर
पहाड झैँ अटल भएर उभिएको छ
मेरो मानसपटलमा
मेरो स्मृतिमा !


किशन पौडेल
हेटौँडा
(कुशे औंसी, बाबुको मुख हेर्ने दिन । सम्पूर्ण बाहरुप्रति समर्पित कविता)

100% LikesVS
0% Dislikes
Spread Your Love !!!