बिश्वभरि शान्ति मिसनमा सैनिक पठाउने राष्ट्रहरूको वरीयतामा नेपाल दोस्रो


लेखक : लेखापढी      १५ भाद्र २०७८, मंगलवार १५:०० मा प्रकाशित     
बिश्वभरि शान्ति मिसनमा सैनिक पठाउने राष्ट्रहरूको वरीयतामा नेपाल दोस्रो

काठमाडौँ — विश्व शान्ति स्थापनाका लागि सैनिक खटाउन थालेको झन्डै ६२ वर्षपछि नेपाल धेरै सैनिक पठाउने राष्ट्रहरूको वरीयतामा दोस्रो नम्बरमा आइपुगेको छ । संयुक्त राष्ट्रसंघ (यूएन) ले सन् २००१ बाट निकाल्न थालेको वरीयतामा नेपाल दक्षिण एसियाकै बंगलादेशभन्दा पछाडि छ ।

सन् २०२१ मे ३१ मा यूएनले निकालेको वरीयताअनुसार नेपाल ५ हजार ५ सय ७१ सुरक्षा फौज खटाएर तेस्रो वरीयतामा परेको हो । फिल्डमा खटिएका सैनिकको संख्याका आधारमा यूएनले वरीयता निकाल्ने गर्छ । एक सयभन्दा बढी संयुक्त राष्ट्रसंघका सदस्य मुलुकले विश्व शान्तिका लागि विभिन्न द्वन्द्वग्रस्त क्षेत्रमा फौज पठाउँदै आएका छन् ।

पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपालले राष्ट्रसंघको बडापत्रलाई अनुमोदन गरेअनुसार विश्वमा शान्ति र मानवीय क्षेत्रमा नेपाली सेनाले सधैं जिम्मेवारी पूरा गरिरहेको बताए । ‘नेपाल भरपर्दो र विश्वासिलो शान्ति सेना दिने मुलुकमा पर्छ,’ उनले कान्तिपुरसँग भने, ‘त्यो एक्सपोजर, अनुभव र अन्तर्राष्ट्रिय वातावरणमा काम गर्न पाउनु नेपाली सेनाका लागि राम्रो कुरा हो । यसबाट धेरै कुरा सिकिन्छ । विभिन्न देशसँग काम गरिन्छ । साथमा योगदान गरेबापत सैनिकहरूलाई व्यक्तिगत रूपमा आर्थिक लाभ पनि हुन्छ ।’

शान्ति सेनामा सहभागी सैनिकले प्राप्त गरेको भत्ताको केही प्रतिशत कटाएर सेनाले १ करोड २४ लाख १ हजारबाट २०३२ सालमा सैनिक कल्याणकारी कोष स्थापना गरेको थियो । उक्त कोषमा अहिले ६० अर्ब रुपैयाँ जम्मा भइसकेको छ । नेपाल सन् १९५५ मा संयुक्त राष्ट्रसंघ को सदस्य बनेपछि नेपाली सुरक्षाकर्मी विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकका कुना–कुना पुगेर शान्ति स्थापनार्थ खटिन थालेका हुन् । नेपालले सन् १९५८ मा लेबनानमा ५ जना सैन्य पर्यवेक्षक खटाएर शान्ति स्थापनाको यात्रा थालेको थियो । त्यसपछि इजिप्टमा पहिलोपटक पुरानो गोर्खा बटालियनको टोलीलाई ‘नीलो हेलमेट’ लगाएर शान्ति सैनिकका रूपमा खटाइएको थियो ।

नेपाली सेनाका अनुसार आधा शताब्दीभन्दा बढी अवधिमा ४३ वटा मिसनमा १ लाख ३५ हजार ३ सय ९९ जना सैनिक खटिइसकेका छन् । यसबीचमा सेनाले इन्जिनियर, मेडिकल टोली र स्पेसल फोर्स टोली पनि पठाएको छ । सिरिया, लिबिया, इराक, कंगो, हाइटी, लेबनान, सुडान, दक्षिण सुडान, इजरायल, कंगो, मालीलगायत द्वन्द्वग्रस्त मुलुकमा नेपाली सेनाले काम गरेको छ ।

दोस्रो वरीयता–यात्रा

मिति वरीयता सैनिक संख्या

सन् २०११ डिसेम्बर ३१

नवौं ३५९७
सन् २०१२ डिसेम्बर ३१ सातौं ४४२९
सन् २०१४ डिसेम्बर ३१ छैटौं ५०८९
सन् २०१८ डिसेम्बर ३१ पाँचौं ६०९८
सन् २०१९ डिसेम्बर ३१ चौथो ५६९०
सन् २०२१ अप्रिल ३० तेस्रो ५६८६
सन् २०२१ मे ३१ दोस्रो ५५७१

अहिले सेनाले विश्वका विभिन्न १२ मिसनमा काम गरिरहेको छ । सेनाका अनुसार २०२१ जुलाई १९ सम्म सेनाबाट ५ हजार १ सय ७५, सशस्त्र प्रहरी बल (एपीएफ) बाट ३ सय ३० र नेपाल प्रहरीबाट १ सय १४ जनाले जिम्मेवारी सम्हालिरहेका छन् । तीमध्ये १ सय ८१ जना महिला छन् । यूएन मिसनमा जानका लागि पूर्वतयारी गर्न ‘नेपाली सेना वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र’ सन् १९८६ मा काभ्रेको पाँचखालमा स्थापना भएको थियो । आफ्नो जिम्मेवारी पूरा गर्ने सवालमा सेनाका ६८ जनाको ज्यान गरेको छ भने ६६ जना घाइते भएर अपांग भएका छन् । नेपालले अब कुल सैनिक संख्याको १० प्रतिशत शान्ति मिसनमा पठाउन पाउने भएको छ । करिब ९६ हजार सेनाको १० प्रतिशत अर्थात् ९ हजार ६ सय जना सैनिक एक वर्षमा शान्ति स्थापना मिसनमा जाने छन् ।

सन् २००१ देखि संयुक्त राष्ट्रसंघले सदस्य राष्ट्रहरूको शान्ति स्थापनार्थ सहभागी मुलुकहरूको वरीयता राख्न थालेको हो । नेपाल शान्ति सैनिक पठाउने सूचीमा २०११ को अन्त्यसम्म नवौं नम्बरमा थियो । नेपालभन्दा अगाडि बंगलादेश, पाकिस्तान, भारत, इथियोपिया, नाइजेरिया, इजिप्ट, जोर्डन र रुवान्डा थिए ।

प्रधानसेनापति पूर्णचन्द्र थापा नेपाली सेनाको संयुक्त राष्ट्रसंघको बडापत्रप्रतिको प्रतिबद्धतालाई आफूहरूले व्यावहारिक रूपमा पूरा गरेको बताए । ‘संयुक्त राष्ट्रसंघजस्तो संस्थाले नेपालले पिसकिपिङमा पुर्‍याएको योगदान छ, त्यो योगदानलाई रिकगनाइज्ड गरेको पनि हो ।’

थापाले सेनाले सन् १९५८ देखि हालसम्म तटस्थ भएर संयुक्त राष्ट्रसंघलाई आवश्यक पर्दा जतिसुकै संवेदनशील र थ्रेट हुँदा पनि काम गरेको प्रस्ट पारे । ‘नेपाली सेना संसारका १ सय ९० भन्दा बढी मुलुक रहेकामा दोस्रो नम्बरमा आउनु चुनौतीपूर्ण कार्य हो । चुनौतीपूर्ण मिसनहरूमा हामीले आफ्नो जिम्मेवारी वहन गरिरहेका छौं,’ उनले भने, ‘त्यो जिम्मेवारी वहन गर्ने क्रममा नेपाली पिसकिपरहरूले गरेको योगदानको पहिचान पनि हो ।’ उनले सेनासँगै नेपाल प्रहरी र एपीएफले पनि शान्ति मिसनमा योगदान गर्दै आइरहेको प्रस्ट पारे ।

नेपालले यूएन मिसनमा उच्च तहमा फोर्स कमान्डरका रूपमा जिम्मेवारी सम्हाल्ने मौका पाएको छ । रथी ईश्वर हमाल अहिले फोर्स कमान्डरका रूपमा काम गरिरहेका छन् । प्रधानसेनापति पूर्णचन्द्र थापासहित पूर्वजर्नेलहरू बालानन्द शर्मा, कृष्णनारायण थापा, भिक्ट्रीशमशेर राणा र पवनजंग थापाले नेपालका तर्फबाट फोर्स कमान्डरको जिम्मेवारी सम्हालिसकेका छन् ।

सुरक्षा जानकारहरूले दोस्रो वरीयतामा आउनुलाई सफलताका रूपमा हेर्न सकिने बताएका छन् । भूराजनीतिक जानकार तथा उपरथी विनोज बस्न्यातले शान्ति स्थापनार्थ नेपाल दोस्रो वरीयतामा पुग्नुले अन्तर्राष्ट्रिय रूपमा अर्थ राख्ने बताए । ‘शान्ति स्थापनार्थ नेपालले खेलेको भूमिकाले विश्वभर राम्रो सन्देश जान्छ, यसले गर्दा नेपाली सेनाले मात्र होइन, समग्र नेपालको परराष्ट्र नीतिले विश्वमा शान्ति स्थापनाका लागि खेल्ने भूमिकालाई प्रतिविम्बित गर्छ,’ उनले भने, ‘यूएनले नेपालप्रति विश्वास, इज्जत र सम्मान दिएको छ ।’
-साभार: कान्तिपुर