वरिष्ठ साहित्यकार आनन्ददेव भट्टको निधन


लेखक : लेखापढी      १४ भाद्र २०७८, सोमबार २२:१९ मा प्रकाशित     
वरिष्ठ साहित्यकार आनन्ददेव भट्टको निधन

काठमाडौं । भाद्र १४
वरिष्ठ साहित्यकार आनन्ददेव भट्टको यही भाद्र १३ गते राति ३ बजे आफ्नै निवास कालिकास्थान, काठमाडौंमा निधन भएको छ ।

आनन्ददेव भट्टले त्रिभुवन विश्वविद्यालयमा लामो समय प्राध्यापन गर्नाका साथै पाठ्यक्रम विकास केन्द्रको सहनिर्देशक भएर कार्य गर्नुभएको थियो । उहाँले नेपालको राजनीति, सामाजिक–सांस्कृतिक आन्दोलनका साथै साहित्यिक क्षेत्रमा ठुलो योगदान दिनुभएको छ ।

वि.सं १९९३ मा जुम्ला जिल्लामा जन्मनुभएका भट्टको पुर्ख्यौली घर सुदूरपश्चिमको बैतडी जिल्ला हो । उहाँले आफ्नो छ दशक लामो साहित्यिक यात्रामा दुई दर्र्जनभन्दा बढी कृति प्रकाशित गराउनु भएको छ । उहाँका नेपाली साहित्यका कविता, खण्डकाव्य, निबन्ध,समालोचना, दर्शनका कृति प्रकाशित छन् । उहाँले राजनीतिक क्षेत्रमा आफ्नो सक्रियता देखाउनुका साथै निरंकुशताविरोधी आन्दोलनमा समेत अग्रपंत्तिमा रहेर नेतृृत्व प्रदान गर्नुभएको थियो ।

उहाँले प्रगतिशील लेखक संघ, प्रगतिशील प्राध्यापक संगठनका अध्यक्षका रुपमा कार्य गर्नुभएको थियो भने नेपाल बुद्धिजीवी परिषदका उपाध्यक्षका रुपमा समेत जिम्मेवारी निर्वाह गर्नुभएको थियो । उहाँको परिवारमा एक श्रीमती र दुई छोरा रहेका छन् ।

नेपालको बौद्धिक क्षेत्रका प्रखर चिन्तक, राजनीतिकर्मी, सांस्कृतिक क्षेत्रका अगुवा आनन्ददेव भट्टप्रति लेखापढी परिवार हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!