म्याग्दी राखूको रुइसे दरबार: थापाहरुको राज्य र पतन


लेखक : लेखापढी      ९ भाद्र २०७८, बुधबार १९:१८ मा प्रकाशित     
म्याग्दी राखूको रुइसे दरबार: थापाहरुको राज्य र पतन

परिचय
राखूलाई ४००० पर्वत बागलुङ्ग थुम राखू भनिने गरिन्थ्यो । बाइसे चौविसे राज्यको केही समय सम्म तथा त्यो भन्दा अगाडी यसठाँउलाई राखू प्रदेश, राखूपुला अथवा पौलास्याश्रम समिपे को नामले चिनिने गरेको थियो ।

यसस राखू पनि भुरे राजाहरुको राज्य अन्तर्गत पर्दछ । पछि बाईसे चौविसे राज्य अन्तर्गत पर्वत राज्यले आफ्नो अधिनमा लिएको थियो । विभिन्न आलेखहरु केलाउँदा यो क्षेत्रमा आत्रय गोत्री बगाले थापा ले राज्य गरेका थिए । यिनका मूल पुरुष कालु थापा थिए । कालु थापाका वंशजहरु कर्णालीबाट रुकुमहुँदै ताकाम, पुला र ज्यामरुकमा पुगी राज्य स्थपाना गरेका थिए । त्यहाँबाट पूर्वतिर फैलिंदै गएपछि गोरखा, लमजुङ, तनहुँ, कास्की, पाल्पा र काठमाडौं उपत्यकामा पनि पुगेको पाईन्छ । कान्तिपुरका राजा जयप्रकाश मल्लको सेनामा रहेका काशीराम थापा र परशुराम थापालाई धौलागिरी क्षेत्रको ताकुमबाट गएकोले तकमेली र गोरखामा गई बसेको वीरभद्र थापालाई सो क्षेत्रको ज्यामरुकबाट गएकोले जुमरेली बगाले थापा भन्ने चलन छ (बानियाँ, कर्णबहादुर ) । आत्रेयी गोत्री बगाले थापा वंशज मूल कालु थापा हुन भन्नेमा इतिहास विद सहमत छन । उनी शाके सम्वत ११११ (वि.स. १२४६ ) तिर डोटीका राजा भएका थिए । योगी नरहरिनाथले आफ्नो इतिहास प्रकाश (२०१२) पुस्तकमा कालु थापाका चार भाई छोरा मध्ये जेठा पुन्याकर पुलामका राजा, माहिला तारापति ताकमका राजा, साहिँला विरु थपा र कान्छा धर्मराज थापाले ज्यामरुकको (म्याग्दी )मा राजाकाज चलाएका थिए भन्ने तर्क पेश गरेका छन ।

थापा वंशावलिमा : श्री साके : । । ११११ सम्बत् १२४६ साल देखि थापाहरुका सन्तति कुलका आदि कालु थापा हुन :। । १ । । कालु थापाका चेला ४ जेठा पुन्याकर थापा :। । माहिला तारापति थापा: । । साहिला विरु थपा :। । कान्छा धर्माराज थापा : । । पुलामका जेठा हुन : । । ताकमका माहिला हुन :। । जमरिकका कान्छा जसोधर थापा हुन : तिनले जमरिकमा राज्य पनि गर्या : ताहाँ देषि लिमि आएका हुन : । । २ । । 

राखू प्रदेशमा चौधसय सताव्दीको मध्ययम तिरबाट नै सुवेदीहरुको बसोबास भएको हो । जुम्ली राजा अभय मल्लले कुशा भट्टका सन्ततित सुवेदीहरुलाई उक्त ठाउमा विर्ता दिएर राखेका थिए । उक्त समयमा त्यस क्षेत्रमा कालु थापाका सन्ततीहरुले नै राज्य गरेका भएपनि उनीहरु पनि जुम्ली राजाहरुको अधिनमा थिए तर पनि यहाँ राजतन्त्रात्मक व्यवस्था थियो । जसरकारण नै सुवेदीहरुलाई यहाँ राखिएका हुनु पर्दछ ।

अछाम प्रदेशस्य आरुद्धाला विष्टवाडा सन्नी विष्ट क्षत्रिया पून्बसन ।। ते च गार्हस्थ्यधर्माद श्दिग्ना :मष्टो देवतायापुजनाथ ढंडार प्रदेशे आगतामा मष्टो देवताभिश्रच तेभ्य छार्काभोट त्रिपुराकोट लोभिन्ताङ्ग प्रदेशस्य राज्यदत्वा राजतिलकं विहितम् ।। तैश्रच विष्ट नृपितिभि : कुशाभट्टस्य बंश्यान राजकुलगुरुन विधाय पुल्स्तयाश्रम समीपे राखूपुलानामकं स्थान वृत्तिरुपेणा दत्वा तत्रोस्थापिताः अत्र तेषमपि बंशावलि लिख्येते ।

यो क्षेत्र पनि नागराज सन्ततिको अधिनमा थियो । वि.स. १२५० तिर डोटीमा कालु थापाले पनि राज्य गरेको प्रमाणिक आधार छ । भने उनका सन्ततिले नै निसिभुजी, अर्नाकोट, ताकुम कोट, चन्द्रकोट, ठोरलठाना, राखूकोटलाई पर्वतका राजा डिम्वले आफ्नो राज्यमा गाभेका थिए । यिनीहरु बगाले थापा थिए । आधुनिक नेपालकाको एकीकरणमा बलिदान र कुर्वानी गर्ने बगाले थापाका वशंघर राष्ट्रिय विभूतिहरु उमराव बाघ भीमसिंह थापा, बाघको डमरु बडाकाजी अमरसिंह थापा, काजी जनरल अमरसिंह थापा, मुख्तियार भीमसेन थापा, कर्णेल नयनसिंह थापा, जनरल उजिरसिंह थापा, प्रधान मन्त्री माथवरसिंह थापाहरु प्नि बगाले थापा आत्रया गोत्री नै थिए । उनीहरुको राज्य गुमे पछि शाह वंशजको सेवामा लागि नेपाल एकिकरणको योगदानमा यिनीहरुको ठुलो भुमिका थियो जो हाम्रो सामु छ । यि थापाहरुको वंशज कहि न कहि चन्द्रवंशी ÷सुर्यवंशी सँग पनि जोडेको देखिन्छ ।

इतिहासविद स्व. मोहन बहादूर मल्लको “पर्वते मल्ल बंशावलमिा”

“निमुका ४ छोरा गौसललेका काप्रिया सगुने केडारु इ ४ मा गोसलेलका गोतामे ब्रम्हान भया काप्रीयका छोरा समाल भया सगुनेका बगाले थापा भया केडारुका मारुले भया भोटका बाडसाह भयो काप्रीयाले साही पदवी चलाया “

लगभग वि.स. ११ औ शताव्दिको अन्ततिर निमु राजका चार छोरा मध्ये एक भाई गौतम ब्राम्हण भएका हुन ,एक भाई चाही काप्रीया शाही भए र उनले पदवि चलाए अर्का भाई केडारु भोटमा गए र राज्य चलाए । अर्का भाई सगुनेका बगाले थापा भए भनेर लेखिएको छ । त्यस्तगरि पर्वतको ऐतिहासिक रुपरेखामा
“जुम्लाका नृपतिका छोरितिरका थरका समाल भैगया ।। भित्र्यानितिरका त पुत्र त ताहाँ खस थर बगाल्य भया ।। (श्रेष्ठ, टेक बहादुर, २०५९) ।

जुम्लाका नृपति चाही नागराजको सन्तति हुन । उनीका छोरी तर्फबाट नै स मल (मल्ल बाराबार ) समालवंशी पनि भएका हुन । यो माथिको अशंबाट क्षेत्रिनी पट्टिबाट भएका बगाले थापाहरु त्यो राज्यमा राज्य नपाएका कारण पुर्व तिर अघि बढि साना साना राज्यमा राज्य गरेका पनि देखिन्छ । राजाको छोरा भित्रयानी भएपनि राजा नै हुन चाहन्छन त्यो स्वाभाविक हो ।

रुईसे दरवार
राखूको समाजिक इतिहासमा समालबंशी क्षत्रिय राजाले रुईसेमा राज्य गरेका थिए । उनीहरु समालवंशी थिए या थिएनन त्यो खोजको कुरा हो तर तिनीहरुले आत्रय गोत्री बगाले थापा थिए । समयाक्रमानुसार राज्यसत्तामा पुगेपछि मानिस भोगविलासमा लुप्त हुँदै गएपछि राजाहरु निरङ्कुश हुन्छन । यस्ता उदाहरण प्रशस्त छन । फलस्वरूप यहाँका राजा पनि रैतिहरुलाई अत्याचार बढाउँदै गएपछि त्यहाँँ जनतालाई असय अति नै भैसकेको थियो । अम्वाली÷उपप्रधान पंच डिल बहादुर शाहीले भन्नुहुन्छ: यस क्षेत्रमा समालवंशी क्षेत्री राजाले राज्य गरेका थिए उनीहरुले रैतिलाई अत्याचार गरेका हुँदा त्यहँका गुरु सुवेदिहरुको सल्लाहमा पर्वत राज्यमा प्रतापी राजा डिम्वबम्व वा नारायणको पालामा यो क्षेत्र पनि त्यहाँका राजालाई ह्त्या गरि त्यो राज्य पनि पर्वत राज्यमा गाभिएको थयो । यसरी अत्याचारी राजालाई हटाउन उनका जेठा छोरा साहसी प्रतापी युवराज थिए त्यही राजा दिई पठाएपछि त्यहाँको प्रशासन उनले चलाएका थिए । तिनीका वंशज नै हालका मल्लहरु हुन भन्ने सामाजिक इतिहास छ । ति क्षत्री राजालाई लखेट्दै ऐसलुपानि पुर्याई सबैमिली हत्या गरिएको थियो भन्ने सामाजिक इतिहास छ ।

यो सामाजिक इतिहासमा उनी डिम्मवम महाराज थिए, प्रतापी नारायण थिए यि दुवै धेरै बर्ष बाँचेका थिए भन्ने पर्वतको सामाजिक इतिहास छ । डिम्वले वि.स. १५४५ तिर ताकुममा आक्रमण गरेका थिए भन्नु भएको छ (मल्ल, मोहन बहादुर, २००९) त्यसको केही समय पछि अन्य राज्यहरु जित्दै अन्तत: राखू राज्य पनि पर्वतको अधिनमा डिम्ववमका सन्ततिले आफ्नो राज्यमा गाभेका थिए । यतिजेन्जल सम्म यो राखुको राज्य थापाहरुबाट नै चलेको देखिन्छ भन्ने त्यसपछि ठोरलठाना, ज्यामुरककोट, पर्वत, चन्द्रकोट अनि राखूकोटलाई पनि अधिनमा लिएको हो । त्यो भन्दा पहिला र पछि पनि राखू क्षेत्र कहिले जुम्लाको कहिले पर्वतको अधिनमा थियो भन्न सकिन्छ ।

इतिहासकार मोहनबहादुर मल्लले पनि मगरहरुको सहयोगमा विस १५४५ तिर डिम्व शाहीले ताकम राज्यमा हमला गरि थापा क्षत्रीबाट राज्य खोसेका थिए । राजा जितारी मल्लको समय वि.स. १६३१ देखी राजा जगतवम मल्लको समय विस १८४४ सम्म गलकोट राज्य स्वतन्त्र थियो – थापा , २०५०ः ७) ।

राजा जितारी मल्ले अंशस्वरुप गलकोट राज्य प्राप्त गरेपछि म्याग्दीको ढोरलथानबाट थापा, बस्न्यात, खडका, कार्की चोखाल आदि लगाएतका थरहरु गलकोट प्रवेश गरेको थिए भन्ने भनाईबाट पनि स्पष्ट हुन्छ । सातसय बगाले थापा मल्ममा रहेको पाईन्छ 

वि.स १६६७ मा तामपत्रमा जोहो सो गरि पर्र्छन दुई सय रुईसे डान्नु राजा आये भंन् ने सुन्दा ढा दुयूई तींतीं दिन ्अग्यिन नै टोसाम गर्नु तस पर्छनु उ सरना ना (मा) ।

यसले पनि राखूको रुईसे दरवारको राम्रै अस्तितव थियो भन्ने एकिन गर्न सकिन्छ । यो सम्म राजा पनि रुईसे बस्ने गर्दथे यहाँ पर्वत राज्यको यो दरवारमा हालिमुहाली थियो भनि एकिन गर्न सकिन्छ । यो वंशज डोटि भन्दा पनि यिनका सन्ततिहरु निसिभुजि हुँदै ताकुमकोट, राखुपुला र राखूमा आफ्नो क्षेत्राधिकार जमाएर बसेका थिए । त्यही क्षेत्रमा यिनीहरुको भाई भाईले नै यो क्षेत्रलाई विभाजन गरी राजा चलाएका थिए ।

थापाकोट
अबश्य पनि त्यो ठाँउमा थापाहरुको राज्य थियो भन्ने बुझिन्छ हो जहाँ आत्रय गोत्री बगाले थापाहरुको राज्य थियो किनकी बगाले थापाहरु निसीभुजी हुँदै, ताकुम, ठोरालठानामा र राखूमा पनि यिनिहरुको राज्य थियो । यस क्षेत्रमा ३५० बर्ष राज्य गरेको थिए । म्यागदी जिल्लामा थापाचौर पनि छ । ताकममा डिम्वले हमला गरेपनि थापा हरु थापा चौरमा आएका भएकाले थापाचौर भनिएको सामाजिक इतिहास छ । त्यसै गरि म्याग्दी जिल्लाको राखू मा रुइृसे दरवार छ । रुईसे दरबारको उत्तर तर्फ थापाहरुको कोट भएकोले हाल उक्त ठाँउलाई थापाकोट भन्दा भन्दै थामकोट पनि भन्न लागिएको छ ।

यसकारण यो इतिहास बोकेको थापाकोटको संरक्षण र प्रचार गर्न पर्ने आवश्यकता छ । उक्त समयमा थापाहरु प्रभावशालि राजा थिए र नै उनीहरुको थरमा कोटको पनि नामाकारण गरिएको हो ।

जुम्लामा हंसराजा नामक व्यक्तिले भुरेराजाको रुपमा आफ्नो प्रभुत्व कायम गरे । यिनको साथमा एक जना थापा जातका प्रभाविशाली व्यक्ति पनि आएका थिए (क्षेत्री, नारायण प्रसाद, २०४४) । थापा सम्वन्धमा बुढा पुरानाका अनुसार उनी हंसराजाका मन्त्रि थिए । थापा शिकारका सौखिन भएकाले शिकार जाँदा दुर्घटना भई मृत्यु भएका थिए भने कसैको भनाई अनुसार अरु मानिसद्धारा हत्या गरिएको थियो । कसैका भनाई अनुसार सिमा रक्षा गर्दा शत्रुद्धारा मारिए भन्ने कुराको बयानका साथै

थापाले थाक खोप्चेनको गौरव राखेकोले उनको नामबाट थापा खोला नाम राखिएको हो । वर्तमान जिल्ला म्याग्दी राखू गाँउका निवासी थापा खान्दान परिवारका सदस्यहरु ऋाफ्ना पुर्खा थापाको हत्या भएकोले त्यो थापाखोलाको पानि पिउँदैनन (क्षेत्री, नारायण प्रसाद, २०४४) ।
थापाका वंशजको थर थापाबाट यो शव्द अपभ्रंश रुपमा था भई खोलका जोडी थाक खोला भएको भन्ने सामाजिक इतिहास जुम्लामा पाईन्छ ।

रामकोट
पर्वतका राजा आन्म्म वम मल्ल (वि.स. १४९३ ) को समयम हो भने पर्वतो अन्तिम राजा कीर्तिवम मल्लको समय (वि.स. १८४३) सम्म पर्वत राज्य गरेका थिए त्यसपछि ठुलो संर्घष पछि यो राज्य शाह वंशजको अधिनमा गएको थियो ।

राजा जितारी मल्लको समय वि.स. १६३१ देखी राजा जगतवम मल्लको समय विस १८४४ सम्म गलकोट राज्य स्वतन्त्र थियो – थापा , २०५०ः ७) राजा जितारी मल्ले काठमाडौ खाल्डोलाई धेरै चोटी आक्रमण गरेका थिए ।

त्यतिन्जेल सम्म यो राखू क्षेत्रपनि जुम्लाको अधिनमा थियो तर । सानो राज्य भएपनि स्वत्रन्त्र राज्य थियो ।

रुईसे दरबारको महत्व सँगै त्यो बेलाका थापाहरुको राखूमा शक्तिशाली नै थिए र उनीहररुको नाममा नै रामकोट राखिएको हो । जहाँ राजा वा रैतिले कोट बनाई हतियार राखैका थिए । राम राजा थिए वा सानैमा मरेर उनको नाममा नामाकरण गरि कोटको नाम पनि उनको नाममा राखिएको थियो ।
दरवार भन्दा केही तल रौतेला गाँडेको भनि जुव्रो छ त्यहाँको जग्गा धनीले धुप बत्ति गर्ने चलन छ । त्यहाँ राजाको छोरा मरेपछि गाँडिएको हुनाले रौतेले गाँडेको भनि नामाकारण भएको हो ।

हुनसक्छ राजाको छोरा को नाममा व सम्झनामा नै यो कोटको नाम रामकोट राखिएको हो । राखूमा भएका कोटहरुमा थापाकोट, रामकोट, डडेकोट र भर्लकोट सबै हात हतियार राख्ने स्थान बनाएका थिए ।

बस्नेत तथा खड्काहरु
जुम्लाको सिंजाबाट आएर बसेको हुनाले यि जातिहरु बसेका ठाँउ भएकोले सिजाँ गाँउ बाट सिजाल गाँउ भएको हो । उक्त समयमा थापा राजा सुवेदी गुरु थिए भने काजिहरुमा वा रैतिहरुमा बस्नेत, खडकाहरु राखूमा भएको देखिन्छ । यि बस्नेतहरु, खडकाहरु रैती सँगै यो राखू राज्यमा ठुलै पद थियो । यिनै जातिहरुको धेरै नै बसोबास थियो । हाल आएर अन्य जातिको बाहुल्यता छ । यिनीहरु कहाँ गए भन्ने प्रश्न चिन्ह खडा हुन्छ । थापा वंंशजको राज्य पतन पछि त्यो ठाँउ छोडेर यिनीहरु पनि थापा, बस्नेत, खडका हरु कास्की, लमजुङ्ग हुँदै गोर्खा आएका हुन भन्ने त्यसपछिको इतिहासले पनि प्रष्ट्र पार्दछ ।
कास्कीको इतिहास र गोर्खाको इतिहासमा यिनीहरुको राम्रै भुमिका देखिन्छ । त्यसै गरि हाल भएको साझापानी भन्दा अलि पर खड्कामारे भन्ने ठाँउ छ तात्कलिन समयमा यसमा खडकलाई मारेको भएर नै खडक मारे राखिएको हुन सक्छ । यसको आधामा हेर्दा यस राखूमा ठुलै लडाँई भएको अनुमान गर्न सकिन्छ ।

ठुलै रक्तपात भएको हुनाले त्यहाँ खड्काहरुमारे भनिन्छ । उक्त समयमा खडकलाई मारेको भएर खडका मारे भनिएका हो । उक्त समयमा यहाँ क्षेत्री वंशजहरु थपा, वस्नेत तथा खडकाहरुको यस क्षेत्रमा बाक्लै रुपमा बस्ती र उपस्थित थियो ।

यसरी खड्का मारिएको ठाँउ तथा बस्नेत बसेको ढुङ्गा बसनगौडा भन्ने ठाँउहरु बस्नेत खडकाहरु सँग अन्तरसम्वन्ध छ । यो अझै खोजको विषय हो । यि सबै थापा वंशजको राज्य पतनपछि तिनीहरु पनि पूर्व तिर सर्दै कास्की, लमजुङ्ग हुँदै गोर्खा आएको हुन ।

निष्कर्ष
यस राखू प्रदेश राजतन्त्रात्मक भुमि हो, यहाँ राजा रजौटाहरुले राज्य गरेका थिए । लामो समय बगाले थापा वंशजको राज्य भएको यो प्रदेश हो । विस १९६३ को राखू गुठी स्थापना भएपछि यो क्षेत्रको महिमा फेरी चुलिएको थियो । उक्त समयमा राखूमा नेवारहरुको बस्ती पनि बस्दै गएको हो । यो राज्यको पतनपछि हाल भएका सुवेदी, भण्डारी ,कटवाल, कार्की, मल्ल, शाही, रिजाल,रुचाल शाही, चन्द, सेन, सिंह सँगै नेवार, गुरुङ्ग, दमाई , कामी , सार्की साथै हाल आएर मगरहरुहरुको पनि आफ्नो समयानुसार आ-आफ्नो भुमिका निर्वाह गरेका छन भने । विभिन्न चाँड पर्व सामाजिक परम्परा एक आपसमा मिलिजुली, सहयोगी भावना अनुरुप सौहार्दपूर्ण वाताबरणमा मिलिजुली रहेको पाईन्छ ।


सन्दर्भसामग्री
उपाध्याय, श्रीरामप्रसाद, नेपालको समीक्षात्मक इतिहास, साझा प्रकाशन, वि.स. २०५५ ।
नेपाल, ज्ञानमणि, नेपालको माध्यमिक कालका इतिहास, मकालु प्रकाशन गृह, डिल्लीबजार, काठमाडौं, वि.स.२०६२ ।
नेपाल (यात्री), पूर्णप्रकाश, सिजाको ऐतिहासिक रूपरेखा, मञ्जरी पब्लिकेशन, पुतलीसडक, वि.स. २०७५ ।
पन्त, दिनेशराज, गोरखाको इतिहास, तेस्रो भाग, दिनेशराज पन्त, वि.स. २०४५ ।
पन्थी (पाण्डेय ), किरण, लिच्छवीहरूका नालिबेली, बिएन पुस्तक संसार प्रा.लि. अद्धैतमार्ग, काठमाडौं, वि.सस २०७४ ।
बानियाँ, कर्णबहादुर, पाल्पाको इतिहास तथा संस्कृति, पुरकोट सेन सामाज, सन् २०१३ ।
बाङ्गदेल, लैनसिंह, जय वर्माको मूर्ति र नेपालको वर्मा वंश, मण्डला प्रकाशन, कान्तिपथ, काठमाडौं, वि.स. २०६२ ।
बानियाँ, कर्णबहादुर, पाल्पाको गौडा ः एक ऐतिहासिक अध्ययन, फुलचोकी पब्लिकेशन एण्ड डिस्ट्रीब्यूसन प्रा. लि. वि.स. २०६३ ।
सेन,सुर्यबहादुर सेन, पालपाी सेन (पालपादखि पुरकोट सम्म ), खड्ग सेन, वि.स २०५९ ।
सुवेदी, राजाराम, गुल्मीको ऐतिहासिक झलक, किरण पुस्तकालय, तम्घास, वि.स. २०५५ ।
सिंह, सम्मर बहादुर, ऐतिहासिक राज्य मुसीकोट र सिंह ठकुरीको सक्षिप्त बंशावली, ठकुरी कला संस्कृति प्रतिष्ठान, वि.स. २०६९ ।
सुवेदी, राजाराम, कास्की राज्यको इतिहास, विद्यार्थी पुस्तक भण्डार, भोेटाहिटी काठमाडौं, वि.स. २०६० ।
शाह तेजबहादुर, सोमवंशी समालको परिचय, समीर शाह, वि.स. २०७४ ।
श्रेष्ठ डि.वि एण्ड सिङ्ग सि.वि, प्राचीन तथा मध्यकालीन नेपालको इतिहास, सन् १९७२ ।
श्रेष्ठ, टेक बहादुर, पर्वतराज्यको ऐतिहासिक रूपरेखा, नेपाल र एशियाली अनुसन्धान केन्द्र त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर, वि.स. २०५९ ।
कैलाश ए जर्नल हिमालयन स्टिडिस, भोलम तीन, सन, १९७५ ।
राजपुत कोटेट विकिपिडिया
खस जातिको ईतिहास ( बर्ष कस्सेली पृष्ठ भुमिको विशेष परिप्रेक्ष्यमा) लेखक प्र. बालकृष्ण पोखरेल
लेखक का थप लेख  पढ्नुस : https://lekhapadhi.com/2021/08/15/opinion-by-dr-dalip-kumar-malla/
https://lekhapadhi.com/2021/07/22/rakhu-article-by-dalip-kumar-malla/
https://lekhapadhi.com/category/thoughts/page/2/


दलिपकुमार मल्ल, पिएचडि
सामाजिक मनोवैज्ञानिक, समाजशास्त्री
सामाजिक विकास तथा पुनर्वास विज्ञ

100% LikesVS
0% Dislikes
Spread Your Love !!!