तालिबान नेता नयाँ सरकार गठनबारे छलफलका लागि काबुलमा


तालिबान नेता नयाँ सरकार गठनबारे छलफलका लागि काबुलमा

काबुल । तालिबानका संस्थापकमध्येका एक नेता मुल्लाह अब्दुल गनी बरादर नयाँ सरकार गठनको छलफलका लागि राजधानी काबुल पुगेका अफगान अधिकारीलाई उद्धृत गरी शनिबार स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

तालिबानका प्रभावशाली नेताका रूपमा चिनिने गनी बरादरले अफगानिस्तानबाट अमेरिका फर्किने प्रारूप तयार गरेको अमेरिकासँगको सम्झौतामा हस्ताक्षर गरेका थिए ।

तालिबानले अफगानिस्तानमा समावेशी सरकार गठन गर्ने वाचा गरेको भए पनि यसबारे धेरैमा आशंका व्यक्त भएका छन् ।

तालिबानले संकट व्यवस्थापनका लागि अशरफ गनीको पूर्ववर्ती सरकारसँग काम गरेका विज्ञहरूलाई ल्याइने जनाएको छ ।

बरादरबाहेक कट्टरवादी धारका हक्कानी नेटवर्कका नेता खलिल हक्कानी पनि यति बेला काबुलमा छन् । उनको नाम अमेरिका र संयुक्त राष्ट्रसंघको फरार आतंकवादीको सूचीमा रहेको छ ।

अफगानिस्तानमा तालिबानको नियन्त्रण कायम भएपछि उक्त समूहको उच्च नेतृत्वमा रहेका नेताहरू कतारबाट स्वदेश फर्किन थालेका हुन् । स्वदेश फर्किनेमध्ये कतिपय नेतारूले कतारमा निर्वासित जीवन बिताइरहेका थिए ।

तालिबानका चार संस्थापक नेतामध्ये एक बरादर स्वदेश फर्कने क्रममा सुरुमा कान्दहार विमानस्थल हुँदै अफगानिस्तान ओर्लिएका थिए । कान्दहार तालिबानकै शब्दमा उनीहरूको ‘पवित्र उद्गमस्थल’ हो । बीस वर्षअघि अमेरिकी फौजले तालिबानलाई हटाउनुअघिसम्म कान्दहार उनीहरूको महत्वपूर्ण आधारक्षेत्र थियो । रासस/सिन्ह्वा