कांग्रेसमा वडादेखि केन्द्रसम्म सक्षम नेतृत्व छानौँ : नेता सिंह


कांग्रेसमा वडादेखि केन्द्रसम्म सक्षम नेतृत्व छानौँ : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीले १४औँ महाधिवेशनमा वडादेखि केन्द्रसम्म सक्षम नेतृत्व छान्नुपर्ने बताएका छन् ।

कांग्रेस चन्द्रागिरि नगर समितिद्वारा शनिबार आयोजित एकदिने कार्यशाला गोष्ठीमा उनले कांग्रेसलाई भरपर्दो र बलियो पार्टी बनाउन वडा तहदेखि केन्द्रसम्म सक्षम नेतृत्व छान्नुपर्ने बताए ।

“विभिन्न पार्टीबाट कांग्रेस प्रवेश गरेका व्यक्तिलाई संस्थागत रूपमा नभई व्यक्ति विशेषले क्रियाशील सदस्यता सिफारिस गर्दा पार्टी लथालिंग अवस्थामा पुग्यो,” उनले भने । महाधिवेशन नजिकिँदै गर्दा पार्टी क्रियाशील सदस्यता टुंग्याउन नसक्नु दुःखद भएको उनको भनाइ थियो ।

पूर्वमहामन्त्री सिंहले विधि र नियमभन्दा पार्टी बेग्लै अवस्थामा अगाडि बढ्दा अप्ठ्यारो अवस्थामा पुगेको बताए । विधि र नियम पुर्‍याएकालाई क्रियाशील सदस्यता दिनुपर्ने नेता सिंहको भनाइ थियो ।

उनले सिंह परिवार त्याग गर्नका लागि मात्र नजन्मिएको भन्दै पार्टीभित्र गरेको स्ंघर्ष र योगदानका आधारमा आगामी महाधिवेशनमा आफू पार्टी सभापति लड्ने स्पष्ट पारे । पार्टी १४औँ महाधिवेशनमा पार्टीलाई संस्थागत ढंगले अगाडि बढाउन सकिएन भने कांग्रेस प्रजापरिषद् बन्ने उनको भनाइ थियो ।

कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँले कांग्रेसलाई बलियो बनाउनका लागि गाउँदेखि नै संगठनलाई बलियो बनाएर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए ।

कांग्रेसका नेता एवं चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरिले कांग्रेसलाई बलियो बनाउनका लागि पार्टीभित्रको गुट–उपगुटको अन्त्य हुनुपर्नेमा जोड दिए । –रासस