सानीकी आमा


सानीकी आमा

सानीले मिनिस्कर्ट लगाएर
चिटिक्क परेर हिडेको देखेर
चिन्तित छिन्
सानीकी आमा !

उनले सानीलाई
सम्झाउदै भनिन् –
सानी,
अब त तँ ठूली भइस्
पुरुषको गिद्दे नजरमा ताल्चा लगाउँदै
सभ्य भएर हिड्न जान्नुपर्छ।

‘हामी भन्दा सर्वश्रेष्ठ मानिने
ति पुरुषका नजरमा ताल्चा लगाएर
कसरी हिँड्ने आमा ?’
सानीले प्रश्न गरी।

‘यी यसरी हिँड्नुपर्छ’
भन्दै
आमाले आफ्नो पुरै शरीरलाई लुगाले ढाकिन्
र हिँडेरै देखाइन् ।

तर,
सानीलाई हिँड्न सिकाउने
आमा पनि असभ्य तरिकाले नै हिडीछिन्,
उनको हस्तको वस्त्र सानो भएर
होला
बाहिरी संसारलाई
पाखुरा प्रस्टै देखाइछिन् ।

सायद संसारभरि नै
यस्तै हुन्छ होला
भएको शरीरलाई प्रस्टै लुकाएर
हिड्न सकिदैन होला ।

सानीकी आमा,
सानीलाई मिनिस्कर्ट लगाउनु हुन्न
भनेर सिकाउनु भन्दा पनि
सानेलाई नारीमाथी गिद्दे नजर लगाउनु हुन्न है भनेर
सिकाउनु राम्रो होला नि,
कि कसो ??

सानीकी आमा,
सानीलाई
तिमी छोरी भएकै कारण
स्वतन्त्र भएर डुल्नु हुन्न
भनेर सिकाउनु भन्दा पनि
सानेलाई डुल्दै गर्दा बाटोमा
कोहि मिनिस्कर्ट नै
लगाएको नारी देखिस् भने पनि
सम्मान गर्नुपर्छ है
भनेर सिकाउनु उचित होला नि,
कि कसो??

सानीकी आमा,
सानीलाई स्वतन्त्रताको फुलबारीमा रम्न नदिएर
बिरालो बनाउने
अनि
सानेलाई चाहिँ स्वतन्त्रताको फुलबारीमा बढि रम्न दिएर,
सिंह बनाइदिने
यस्तो कुहर्कतले
न त हाम्री सानी कहिल्यै सुरक्षित नै हुन्छन्,
न त सानेको व्यवहार मा परिवर्तन नै ल्याउन सकिन्छ।

त्यसैले,
सानिकी आमा,
राम्रो शिक्षा दीक्षा दिएर
साने र सानी दुवैलाई बाघ बनाउनु नै
थुप्रै सानीहरु सुरक्षीत भएर
बाच्न सक्ने सुत्र

राष्ट्रको समृद्धि तिरको गन्तव्य हो ।


✍️आयुष बडाल
धुलिखेल,काभ्रे
अध्ययन:काठमाडौ युनिभर्सिटी।