खुल्लामञ्चबाट हटाइएको बसपार्क सल्लाघारी सार्ने तयारी


लेखक : लेखापढी      ३१ श्रावण २०७८, आईतवार १४:३६ मा प्रकाशित     
खुल्लामञ्चबाट हटाइएको बसपार्क सल्लाघारी सार्ने तयारी

काठमाडौँ-  बैशाखदेखि खुल्लामञ्चबाट हटाइएको पुरानो बसपार्कलाई सल्लाघारी सार्ने तयारी भएको छ । काठमाडौँ महानगरपालिकाद्वारा गठित यातायात सञ्चालनसम्बन्धी अध्ययन कार्यदलले लामो दूरीका ठूला सार्वजनिक सवारी साधन मनोहरा खोला करिडोर अथवा सल्लाघारीबाट सञ्चालनमा ल्याउन सुझाव दिएको हो ।

कामपाको उपप्रमुख हरिप्रभा खड्गीको संयोजकत्वमा गठित ‘कामपा भएर गुड्ने लामो दूरीका सार्वजनिक सवारी साधन व्यवस्थापन अध्ययन समिति’ले प्रमुख शाक्यलाई शुक्रबार तीनबुँदे अध्ययन प्रतिवेदन हस्तान्तरण गर्दै उक्त सुझाव दिएको हो ।

कार्यदलमार्फत तयार गरिएको प्रतिवेदनमा तत्काल सार्वजनिक यात्रुवाहक ठूला सवारी साधनको व्यवस्थापन जडीबुटी पुल पूर्वको मनोहरा खोला करिडोर सर्मत–सम्भार गरी वा सल्लाघारी तीनकुने सडक किनाराबाट धुलिखेल पूर्वतर्फका सार्वजनिक सवारी सञ्चालन गर्न सकिने भनेको छ ।

सङ्घीय सरकार, प्रदेश सरकार, उपत्यकाभित्रका पालिका र सवारी साधन व्यवसायीको समन्वय, सहकार्य र लागत सहभागितामा सवारी साधनको कार्य प्रकृति तथा सञ्चालन हुने दूरीका आधारमा लामो दूरी र सहरी यातायातका छुट्टाछुट्टै सवारी साधन टर्मिनलको विकास गर्न आवश्यक रहेको पनि बताइएको छ ।

खुल्लामञ्चबाट बसपार्क हटाइएपछि पूर्व तर्फ आउने यात्रु अलमलमा पर्ने गरेका छन । हाल बसपार्क नुहँदा कहाँबाट चढ्ने र कहाँबाट बस छुट्ने भन्ने बिषय अन्योल छ । खुल्लामञ्चबाट हटाइएको बसपार्कबाट दोलखा, रामेछाप, ओखल्ढुङ्गा, सिन्धुपाल्चोक, काभ्रे पलान्चोक लगायतका जिल्लामा बस छुट्ने गरेको थियो ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!