अफगानिस्तानमा गृहयुद्ध, दशौँ हजार नागरिक विस्थापित


अफगानिस्तानमा गृहयुद्ध, दशौँ हजार नागरिक विस्थापित

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघले पछिल्ला केही हप्तायता अफगानिस्तानमा जारी रहेको हिंसाका कारण यहाँबाट दशौँ हजार नागरिक भागेको जनाएको छ ।

संयुक्त राष्ट्रसंघले हालै प्रकाशन गरेको एक प्रतिवेदनमा पछिल्ला केही हप्तामा अफगानिस्तानमा त्यहाँका तालिबानीले हिंसा सुरु गरेको जनाएको छ ।

अफगानिस्तानबाट अमेरिकी र नेटो सेना फर्किने समाचारहरू आएसँगै तालिबानीले यहाँका विभिन्न सहरमा कब्जा जमाउन थालेको भन्ने समाचार बाहिर आइरहेका छन् । जसका कारण यहाँ दिन प्रतिदिन हिंसा जारी छ । यहाँका नागरिक अफगान र तालिबान सेनाको चेपुवामा परेकोले उनीहरु भाग्न बाध्य भएका छन् ।

यो वर्ष मात्र हिंसामा परेर करिब चार लाख नागरिक विस्थापित भई उनीहरु देशभित्रै आन्तरिक शरणार्थी रूपमा बस्न बाध्य भएका छन् । अहिले यहाँका विस्थापित नागरिकहरू आफ्ना बालबालिकासहित राजधानी काबुलमा शरण लिन थालेका छन् ।

यहाँ कतिपय सहायता एजेन्सीले उनीहरूलाई आवश्यक खाने र बस्ने प्रबन्ध मिलाइरहेको समाचार आएसँगै दिनहुँ ठूलो संख्यामा विस्थापित भएर विभिन्न सहरमा पुगेको हुँदा व्यवस्थापन गर्न पनि गाह्रो भइरहेको बताइएको छ ।

हाल अफगानिस्तानबाट अमेरिकी र नेटो सेना फर्किन थालेपछि यहाँको सरकारी सेना र तालिबानबीचमा भीषण संघर्ष जारी रहेको बताइएको छ । जसका कारण सयौँ नागरिकको ज्यान पनि गएको छ भने कैयौँ घाइते भएका छन् । रासस/सिन्ह्वा