बुढानिलकण्ठ सरर: यात्रा संस्मरण


लेखक : लेखापढी      १८ श्रावण २०७८, सोमबार १३:२१ मा प्रकाशित     
बुढानिलकण्ठ सरर: यात्रा संस्मरण

मनिसको यात्रा कहाँबाट प्रारम्भ हुन्छ अनि कहाँ गएर टुङगिन्छ ? यो त कसैलाइ थाहा छैन । जीवन बाँच्ने क्रममा मानिस अनेक उपक्रम गरिरहन्छ । जीवन सहज बनाउन अनेक स्थान पुगिरहन्छ । मानिसको दौड निरन्तर चलिरहन्छ । स्वार्थ, महत्वाकांक्षा अनि अरुलाई उछिन्ने दौडमा मानिस कतिपटक पछारिन्छ, त्यो थाहा नै हुँदैन् । जन्मपछि हिँडन खोज्छ मानिस । हिँडन थालेपछि दौड प्रारम्भ हुन्छ । पढाइलेखाइ, रोजगार, कामले दौडाइरहन्छ । कतिसम्म दौडिनु ? दौडिन्छ, थाक्छ अनि दौडिन्छ ।

अहिलेको समयको मानिस कामको बोझले थिचिएको छ । बाँच्ने क्रममा धेरै थोक थुपार्दाथुपार्दा सब थोक जम्मा हुन्छ तर जम्मा हुँदैन मानसिक शान्ति । शरीर स्वस्थ्य भएपनि मन स्वस्थ नभए के होला ? मन स्वस्थ नभए कार्यक्षेत्रमा कुशलता कसरी आउला ? हामी सब सोचमग्न छौ ।

नयाँ ठाउँ पुग्नु, भूगोलको स्पर्श मात्र होइन, जनजीवनसँगको साक्षात्कार पनि हो, नयाँ ज्ञानसँगको साक्षात्कार पनि हो, आफ्ना अज्ञानरुपी पर्दालाई हटाएर जीवनको नयाँ सत्यलाई आत्मसात गर्नु पनि हो ।

बैतडीबाट प्रारम्भ भएको मेरो यात्रा कैलाली अनि काठमाडौं हुँदै देश अनि विदेशका विभिन्न क्षेत्रमा विस्तारित भएको छ । नयाँ ठाउँ पुग्नु, भूगोलको स्पर्श मात्र होइन, जनजीवनसँगको साक्षात्कार पनि हो, नयाँ ज्ञानसँगको साक्षात्कार पनि हो, आफ्ना अज्ञानरुपी पर्दालाई हटाएर जीवनको नयाँ सत्यलाई आत्मसात गर्नु पनि हो । यसर्थ मौका मिल्दासम्म, समयले भ्याउँदा सम्म मैले यात्रालाई आफूसँग जोडेको छु ।

कोरोना महामारी काल अत्यन्त पीडाका अनुभूति दिएर गयो । चारैतिर पीडाको साम्राज्य छ । आँसुको सैलाब बगिरहेको छ । आँसु सुकिसकेको छ । आत्मीयजन गुमाउनुको पीडाले मन छियाछिया भएको छ । यसै क्रममा ८ महिना धनगढी घरमा बसेपछि म २०७७ फागुनको दोस्रो साता धनगढीबाट काठमाडौं पुगेँ । काठमाडौं पुगेपछि खोज अनलाइनमा साहित्यिक भेटका क्रममा खोज अनलाइनका प्रमुख रत्नप्रसाद अनामणि श्रेष्ठ, संसाक मासिकका प्रधान सम्पादक उमेश पाण्डेय अनि आधुनिक नेपाली लघुकथामा हामीसँगै एडमिनको भूमिकामा रहनुभएकी तारा केसीसँग भेट भयो । यो भेटमा साहित्यिक चिन्तनका कुरा भए, भविष्यका योजना बने अनि सहकार्य गरेर अघि बढने कुरा भए । यसै क्रममा संसाक मानिसका प्रधान सम्पादक उमेश पाण्डेयले भन्नुभयो, “संसाक मासिकको तर्फबाट साहित्यिक दौडको आयोजना गरिरहेका छौं, सर पनि समावेश हुनुपर्ला ।” यो मेरा लागि नयाँ अवसर थिए, एक भिन्न प्रकृतिको कार्यक्रममा समावेश हुने । जीवनमा अनेकन यात्रा गरियो तर यस प्रकारको दौडमा समावेश हुनु नयाँ अनुभव हुने भएकोले मैले भनेँ, “म अवश्य आउँछु ।”

दौड हुने दिन बिहानैदेखि पेटले दुःख दिइरहेको थियो । शायद कार्यक्रममा समावेश हुन सकिन्न कि भन्ने लागेको थियो तर पनि आँट गरेँ । औषधि अनि पानी पिएर म निस्किएँ कोठाबाट । कीर्तिपुर पाँगा बसपार्कमा बसले मानिस जम्मा गर्दागर्दा आधा घण्टा लगायो । रत्नपार्कमा बसले १५ मिनट कुरायो । मैले पुग्नुपर्ने समय दिइएको थियो बिहानको ७.३० । म त ढिला हुन्छु, छुटछु की भनेर मन अशान्त भइरहेको थियो । जम्मा हुन भनेर तोकिएको स्थान गंगालाल हृदयरोग केन्दमा पुग्दा ठिक ७.३२ मिनट भएको थियो । यताउता हुर्छु, कोही छैन । तारा केसीज्यूलाई फोन लगाएँ । उहाँले आफूहरू आउँदै गरेको र अस्पताल अघि बसिराख्न भन्नुभयो । अस्पताल अघि एक जना वृद्ध उभिरहनु भएको थियो । म पनि त्यहीँ उभिएको थिएँ । उहाँले सोध्नुभयो, “दौड यतैबाट शुरु हुने हो ?”

मैले भनेँ “हजुर, यतैबाट हो ।”

त्यसबेलाको छाप्रैछाप्राले भरिएको धनगढीको कुरा गर्नुभयो, मैले अहिले कंक्रिटले घेरिएको धनगढीको कुरा गरेँ ।

परिचय भयो । उहाँ हुनुहुँदो रहेछ, नेपाली सेनाका अवकाशप्राप्त सेनानी इन्दप्रसाद खत्री । मूलघर काभ्रेपलाञ्चोक भएर हाल महाराजगञ्ज निवासी । परिचयकै क्रममा मैले पनि नामथर अनि वतन बताएँ । वि.स. २०२७ सालमा धनगढीमा कार्यरत उहाँले बोराडाँडी ब्यारेक बनाउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको रहेछ । उहाँले त्यसबेलाको छाप्रैछाप्राले भरिएको धनगढीको कुरा गर्नुभयो, मैले अहिले कंक्रिटले घेरिएको धनगढीको कुरा गरेँ । मेरो जीवनका महत्वपूर्ण पल बितेको धनगढीका कुरा बाँसबारीमा भए । खत्री सरले कोरोनाको प्रकोपपछि सबै परिवार यतै महाराजगञ्ज बसाइ सरेको कुरा गर्नुभयो । हाम्रो वार्तालाप चलिरहेकै थियो, जीउमा ट्रेकसुट लगाएका, टाउकोमा हेलमेट सहित फोनमा कार्यक्रमका लागि भेला हुने स्थानको बारेमा जानकारी दिइरहनु भएका संसाक मासिकका सम्पादक दौड कार्यक्रमका आयोजक उमेश पाण्डेय । आयोजक देखेपछि खुसी नहुने कुरै भएन । उहाँसँग अभिवादन चल्यो । उहाँले एक रजिष्टर निकालेर भन्नुभयो, “यसमा नाम लेखेर हस्ताक्षर गर्नुहोस् ।” हामीले उहाँले भने अनुसार गर्यौं । उहाँले हामीलाई हाम्रो साइज हेरेर टिसर्ट दिनुभयो । टिसर्टमा लेखिएको थियो–साक थोन २०७७ । हामीले टिसर्ट लगायौं र दौडमा सहभागी हुने आधिकारिक लाइसेन्स पायौं । एकै छिनमा नेपाल प्रज्ञा-प्रतिष्ठानको गाडीमा आउनुभयो प्राज्ञ दिनेशराज पन्त । उहाँसँग नमस्कार चल्यो । उहाँले उमेश पाण्डेय सरलाई भन्नुभयो, “मेरो अन्त पनि कार्यक्रम छ, म छिट्टै निस्कनुपर्ला ।” मैले दिनेशराज पन्तलाई एक सरल व्यक्तित्वको रुपमा पाएको छ । आफ्नै निरन्तर मेहनत र संघर्षले उहाँले जुन ज्ञान र अनुभव प्राप्त गर्नुभएको छ, त्यो सामान्य मानिसको वशको कुरा हैन् ।

समय अघि बढ्दै गयो । हामी समयसँग पछि पर्दै गयौं । समयसँग दौड कार्यक्रममा सहभागी हुनेको संख्या थपिँदै गयो । शिवपुरी सन्देशका प्रधान सम्पादक वियोगी बुढाथोकी आउनुभयो, त्यसै क्रममा देखिनुभयो प्रा.डा. शैलेन्द्रप्रकाश नेपाल, तारा केसी, शशि पण्डित, चन्द्रा न्यौपाने, सुमिना खनाल ‘पृथा’, राधा कार्की, प्रा.डा. गार्गी शर्मा, सीता बिष्ट कार्की, शारदा घिमिरे भैल । थुप्रै परिचित अपरिचित अनुहारहरू । केही समय वियोगी दाइसँग कुरा । कोरोना, शिवपुरी सन्देश अनि लेखनका विषयमा । त्यसै क्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायको आगमन भयो । हामीले लख काटयौं, “आजको कार्यक्रमको प्रमुख अतिथि उहाँ नै हुनुपर्छ ।” हाम्रो अनुमान सत्य भयो ।

संसाक मासिक, साहित्यकार खेलकुद समाजको आयोजना अनि बुढानिलकण्ठ नगरपालिकाको सहकार्यमा यो कार्यक्रम आयोजना भएको थियो ।

केही समय फोटोसेसन अनि भलाकुसारी चल्यो । दौड कार्यक्रमको व्यानर एक किनारमा टाँसियो अनि प्रारम्भ भयो कार्यक्रमको औपचारिक शुरुवात । उमेश पाण्डेय सरको उदघोषण, संसाकका सल्लाहकार रत्नप्रसाद अनामणिको अध्यक्षतासँगै डा. शैलेन्द्रुप्रकाश नेपालको मन्तव्यसँगै प्रारम्भ भयो । साक थोक २०७७ । संसाक मासिक, साहित्यकार खेलकुद समाजको आयोजना अनि बुढानिलकण्ठ नगरपालिकाको सहकार्यमा यो कार्यक्रम आयोजना भएको थियो । एक हुल दौडयो ब्यानर लिएर । केही मानिस व्यानरसँगको टोलीमा । केही अघि, केही पछि । कोही दौडिदै छन्, कोही बात मार्दै हिँडिरहेका छन् । म सँग हुनुहुन्छ–सबैभन्दा पहिला भेटिनुभएका सेनानी इन्द्रप्रसाद खत्री । उमेरले छहत्तर भएपनि आँट र हिम्मतले युवा जोश भरिएको छ उहाँमा । “आजको पहिलो भेट पनि तपाईँसँगै भयो । साथसाथै जाउँ ।” उहाँले भन्नुभयो । मैले सहमति जनाएँ ।

टोली अघि पुगिसकेको रहेछ । हामी अलिक पछि रहेछौं । हामी भन्दा पछि पनि एक टोली भएजस्तो लाग्छ । बिहानको समय छ, बिस्तारै पसल खुल्दै छ । मानिसको चहलपहल बढ्दो छ । हामी हिँडदै दौडदै गइरहेका छौं आफ्नो गन्तव्यतिर । जीवनमा यस्ता कति गन्तव्य पछ्याइयो होला । यात्रामा कति ठक्कर लागे होलान् तर हाम्रो यात्रा निरन्तर चलिरहेको छ । महिलाहरुको अलग टोली छ । हिँडदै बात मार्दै अनि फोटो खिच्दै । हामी दुई पनि हिँडिरहेका छौं सडकको किनारैकिनार । सुस्तसुस्त । एकैछिनमा सेनानी खत्रीले भन्नुभयो, “हामी अलिक पछि पर्यौं । व्यानर भएको छेउसम्म अलिअलि दौडेर पुगौं ।” बिस्तारै हिँडिरहेका हाम्रा पाइलामा गति थपियो । बिस्तारै दौडिँदा पुग्यौं व्यानर नजिक । त्यहाँ हुनुहुन्थ्यो नेप्रप्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्याय, बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्दव खरेल अनि प्रा.डा. शैलेन्द्रुप्रकाश नेपाल । कुराकानीकै क्रममा एकाएक उपाध्यायले मेयर साबलाई भन्नुभयो, “मैले त तपाईँहरूलाई यहाँको रैथाने ठानेको, तपाईँहरु त बाहिरबाट पो आउनु भएको रहेछ ।”

मेयर खरेल पनि के कम, उहाँले पनि आफ्ना कुरा राख्नुभयो, “हामी यहाँका रैथाने नै हौं । नुवाकोटबाट यता आएको पाँच पुस्ता पुगिसकेको छ ।”

एकैछिन वियोगी बुढाथोकीले आफ््नो घर देखाउँदै भन्नुभयो, “ऊ त्यही हो मेरो घर । म एकछिन पुगेर आउँछु है ।”

“राम्रो हुन्छ । तयार गर्नुहोस् । हामी छापौंला ।” उहाँले भन्नुभयो । यही कुरा नै आजको यस यात्रासंस्मरणको प्रेरक तत्व ।

यति भनेर उहाँले एक किताबको पोको लिएर आउनुभयो । हामी अघि बढदै गयौं । प्रा. उपाध्यायले आफ्नो टोलीमा केही जेष्ठ नागरिकलाई प्रज्ञा प्रतिष्ठानको गाडीमा राख्नुभयो । सेनानाी खत्री पनि त्यही गाडीमा जानुभयो । यात्रामा कसको कतिबेला सम्म साथ हुने हो, थाहा हुँदैन । यसै क्रममा म संसाकका सल्लाहकार, साहित्यकार रत्नप्रसाद अनामणिसँग यात्रारत रहेँ । उहाँले यस क्षेत्रको भूगोल र यससँग जोडिएका अनेक प्रसंग सुनाउनु भयो । अचानक मैले उहाँलाई सोधेँ “अहिलेको यात्रालाई लिएर एक यात्रासंस्मरण तयार गर्दा कसो होला ?”

“राम्रो हुन्छ । तयार गर्नुहोस् । हामी छापौंला ।” उहाँले भन्नुभयो । यही कुरा नै आजको यस यात्रासंस्मरणको प्रेरक तत्व ।

हिँडदै जाँदा नारी साहित्यकारको टोलीसँग मिसियो । केही कुरा भए व्यक्तिगत अनि केही साहित्यिक । कुरैकुरामा राधा कार्कीले भन्नुभयो, “सर त निकै दुब्लाउनु भएको छ ।”

मैले कोरोनाकालमा भएका पारिवारिक दुःखद घटना बताएँ । शशि थापा पण्डितले भन्नुभयो, “पीर गर्नुहुँदैन । जीवनमा दुःखसुख आइरहन्छ ।”

“पीर गर्नुहुन्न भन्ने थाहा पाएर पनि पीडाका बेला मन थाम्न नसकिने रहेछ ।” मैले आफ्ना कुरा राखेँ । हामी कार्यक्रम स्थल नजिक पुग्न केही समय पनि थियो ।

केही समयमा देखिनुभयो तारा केसी । उहाँसँग हामीले फेसबुकमा चलाउने पेज आधुनिक नेपाली लघुकथा कसरी चलाउने ? साहित्य लेखनमा अब कसरी अघि बढ््ने ? लघुकथा कृति प्रकाशनका लागि कसरी अघि बढने ? बारेमा कुरा हुँदै थियो, बुढानिलकण्ठ आइपुगेछ । हामी बुढानिलकण्ठ मन्दिरको बाहिरको खाली ठाउँमा पुग्यौं । मानिस जम्मा भइसकेका छन्, केही आउँदै थियो । एकछिन फोटोसेसन चल्यो । भाग लियौं फोटोसेसनमा । त्यही फोटोसेसनकै क्रममा परिचय भयो साहित्यकार चन्द्रा न्यौपानेसँग । शरीरले साथ नदिए पनि उत्साहका साथ भाग लिनुभयो ‘साक थोक २०७७’ मा । फोटोको क्रम चल्दै थियो, तारा केसीले परिचय गराउनु भयो साहित्यकार सीता बिष्ट कार्कीसँग । गोंगबु साहित्य समाजमा आबद्ध भएर लघुकथा लेखनमा पनि सक्रिय देखिनुहुन्छ उहाँ । सामाजिक सञ्जालबाट परिचित हुनु भएकी चन्द्रा न्यौपाने अनि सीता बिष्ट कार्कीसँग प्रत्यक्ष भेट भयो ।

साहित्य लेखनका साथै स्रष्टाको शरीर र मन स्वस्थ्य हुनुपर्ने

फोटोको क्रमपछि प्रारम्भ भयो समापन समारोहको । समापनको उद्घोषक हुनुहुन्थ्यो संसाकका प्रधान सम्पादक उमेश पाण्डेय । उहाँले अघिल्लो साल पनि यसै गरेर दौड कार्यक्रम गरिएको र यो कार्यक्रम दोस्रो पटक भएको बताउनु भयो । कार्यक्रमका अध्यक्ष हुनुहुन्थ्यो संसाकका सल्लाहकार रत्न सर अर्थात रत्नप्रसाद अनामणि । कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभयो प्रा.डा. शैलेन्द्रुप्रकाश नेपालले । उहाँले साहित्य लेखनका साथै स्रष्टाको शरीर र मन स्वस्थ्य हुनुपर्ने कुरा राख्नुभयो । यस अघिका कार्यक्रमसँग जोडेर अहिलेको कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभयो । त्यसपछिको मन्तव्यको पालो आयो प्रमुख अतिथिज्यूको । उहाँले समाजलाई स्वस्थ चेतना दिनमा लेखक कलाकारको महत्वपूर्ण भूमिका रहेको विचार राख्नुभयो । स्रष्टा स्वस्थ भए उसले समाजलाई असल चेतना दिने भएकोले स्रष्टाको स्वास्थ्यलाई सबल बनाउने हिसाबले संसाक मासिक एवम् साहित्यकार खेलकुद समाजले विभिन्न समयमा खेलकुद कार्यक्रमका साथै दौड कार्यक्रमको आयोजन ागर्ने गरेकोमा यस किमिकका कार्र्य भइरहनु पर्ने दृष्टिकोण्ण अघि सार्नुभयो । संक्षिप्त कार्यक्रम सँगै खाजा वितरण भयो । केही समय फोटोसेसन पछि कार्यक्रमको समापन भयो । कार्यक्रम अवधिभर साहित्यकार सरस्वती र्गातमले भिडियो बनाइरहनु भएको थियो । पछि त्यसलाई युटयुबमा पनि हेर्न पाइयो ।

कार्यक्रम सकेर चौरमा उभिएको थिएँ, शिवपुरी सन्देशका प्रधान सम्पादक वियोगी बुढाथोकीले शिवपुरी सन्देशका दुई अंक प्रदान गर्नुभयो । बुढानिलकण्ठ क्षेत्रका साहित्यकारको परिचय र रचना समेटिएको विशेष अंक धेरै जानकारीमूलक थियो । “महत्वपूर्ण सूचना भएको विशेष अंक पाइयो । यस क्षेत्रका स्रष्टाको बारेमा लेख्नुपर्दा काम लाग्नेरहेछ ।” मैले आफ्ना कुरा राखेँ ।

एकैछिनमा भेटिनुभयो साहित्यकार घन थापा, प्रहरी पत्रिकाका सम्पादक । उहाँसँग पूर्व परिचय भएको कुरा मैले भुलेको रहेछु । उहाँले सम्झाएपछि मेरो स्मृतिमा पुराना कुरा आयो । साहित्यकार/पत्रकार मित्र टपेन्द्र कार्कीले नेपाल प्रज्ञा प्रतिष्ठानमा उहाँसँग गराउनु भएको थियो । केही कुराकानीपछि उहाँसँग छुट्टिएँ ।

फर्किने बेलामा कार्यक्रमको सामग्री लिएको जीपमा रत्नप्रसाद अनामणि, शैलेन्दुप्रकाश नेपाल, चन्द्रा न्यौपानेसँगै गइयो । क्रमशः बासस्थान जाने क्रम जारी रह््यो । गाडीको गन्तव्य गोगँबुसम्म थियो । रत्न सरले भन्नुभयो, “एकपटक मकहाँ चिया पिएर जाउँ ?” हामी उहाँको पसलमा केही समय बसेर आफ््नो गन्तव्यतिर गयौं ।

आठ महिनाको घर बसाइ, शोकपूर्ण वातावरण अनि पारिवारिक पीडाका क्षण भूलेर परिचित मित्रजनसँगको यात्राले जीवनमा केही सिक्ने अनि जान्ने अवसर दिन्छ ।

जीवनमा नयाँ नयाँ ठाउँ पुग्ने रहर हुँदाहुँदै पनि कतिपय कामको व्यस्तता एवम् खुम्चिएको हुन्छौं हामी । यस किसिमका कार्यक्रमले उर्जा थप्ने गर्छ । मलाई पनि यस दौड कार्यक्रमले एकखाले नयाँ अनुभूति दिएर गयो । आठ महिनाको घर बसाइ, शोकपूर्ण वातावरण अनि पारिवारिक पीडाका क्षण भूलेर परिचित मित्रजनसँगको यात्राले जीवनमा केही सिक्ने अनि जान्ने अवसर दिन्छ । काठमाडौंको उत्तरी भेगको यो यात्राले नयाँ भूगोलका बारेमा थाहा त भयो नै, त्यसबाहेक यात्रासँग जोडिएका सम्झनाहरू पनि मनमस्तिष्कमा तरोताजा भएर रहने छ । यात्राका अनुभूतिलाई शब्दमा उतार्दा यसले जीवन्तता पाउँछ । यही जीवन्तता साँचेर संसाक मासिक अनि साहित्यकार खेलकुद समाज, बुढानिलकण्ठ परिवारसँगै यसका आयोजनकर्ता सबैलाई मनमुटुमा साँचेर बसिरहेको छु ।


डा.पुष्करराज भट्ट
प्रधान सम्पादक,
लेखापढी डटकम, हेरिटेज मिडिया नेटवर्क प्रा.लि.