खेर गएको दशधारा


लेखक : लेखापढी      १८ श्रावण २०७८, सोमबार १६:३७ मा प्रकाशित     
खेर गएको दशधारा

निराश चेहरा, हतास अनि गह्रुङ्गो मन अनि हातमा हँसिया, कमरमा डोरी बाँधेर धेरै समयदेखि खुटकिलामा टोल्हाइरहेकी थिइन् धनसरा बज्यै ।

तल्लोमल्लो घरका सबै यताउति कामधन्दा लागिसकेका थिए । गोठमा गाईबाख्रा भोकै थिए । चुल्होमा आगो नबलेको पनि दुई छाक भैसकेको थियो ।

घर आउँछन भनेका बुढा पनि कोरोनाका लाग्दा उतै अडकिएका छन् बेकाम भएर ।

“ओ ! काकी, सञ्चै हुनुहुन्छ ।” आवाज सुनेर झसङ्ग पर्दै उठ्छिन बज्यै ।

पाउ लागि ढोक्दै मानमतीले काकीका लागि ल्याएको कोसेली दिँदै सोध्छिन् –“सञ्चो छैन कि ? काकी ।”

–के भनौं, ठिकै छौ , कहिले आयौ, बालबच्चा ठिक छन् त ?

सोद्धा भक्कानिएर रूँदै मानमतीलाई अँगालो कसेर– “के भनौं, मेरा दशधारा दुध खेर गयो ।”

“ठिकै छन् ।” मानमती काकीको अवस्था फरक पाउँछिन् । नजिकै बसेर सञ्चो बिसञ्चो, केही नराम्रो भयेको पो छ कि ?” सोद्धा भक्कानिएर रूँदै मानमतीलाई अँगालो कसेर– “के भनौं, मेरा दशधारा दुध खेर गयो ।” त्यतिबेलै घाँसको भारी र महीको ठेकी बोकेर रघुवीर पनि त्यहाँ आउँछन् । उता मानमतीको अँगालोमै धनसरा बज्यै बेहोस भैसकेकी छिन् ।

रघुवीर र मानमती दुबैले बज्यैलाई आँगनमा सुताउँछन् । मुखमा पानी छर्किन्छन् । एकघडी पछि होसमा आउञ्जेल मानमतीले आमाबाट बदमाशले मन्दिरमा केटीलाई केके पो गरि मारेको कुरा थाहा पाउँछिन् ।

रघुवीर हत्केलामा आफ्नै टाउको टेकाउँदै सोच्छन्–“चिन्ता किन गर्नुहुन्छ भन्छु , के गर्ने, बदमाशलाई अघिल्लो सालमै जेल कोचेको भए यति बिघ्न के गर्दो हो छोरीबेटीलाई हात हाल्ने, पुलिस पनि उस्तै मिलाउँ मिलाउँ भन्ने । यस पटक त सर्वनाशै पार्यो । यी हुल्याहाको कुनै भर छैन ।”

मलाई पनि तपाईँले पाल्नुभएको हो । मैले खाएका दशधारा खेर जान दिने छैन ।

आमावुवाले जसोतसो भविष्यका सहारा छोराछोरी हुर्काउँछन् । त्यसै पनि दुर्गम गाउँको जीवन, विदेशको चौकिदारी, ढुङ्गामाटोसँग लड्नु । सन्तान कपुत भएपछि कति मन रुँदो हो ।
“नानी ! त्यसको अनुहार हेर्नु नपरोस् । उतै छिटै मर्नु परोस् भनेर सोच्छु ।” बज्यैले मानमतीलाई केही भन्न चाहेकी थिइन् । उनले बिचैमा रोकिन् “भयो काकी । अब त्यसको बारेमा सोच्दै नसोच्नु । हामी छँदै छौं । काका र भाइ पनि आउँछन् । कान्छा वुवा पनि यहीँ त छन् । दाइ बिदेशिँदा घरको अभिभावकत्वमा कम्ति त रघुवीरले गरेका थिएनन् । सानो छँदाको त ठिकै थियो बदमाश । पल्ला गाउँमा स्कूल जान थालेपछि चालढाल त अलि फरक देखिँदै गयो । बेलाबेलामा सोद्धा राम्रै कुरा गथ्र्र्र्याे । ढाँटला भन्ने लागेकै थिएन् । अल्लारेहरूको भर हुने रहेनछ ।

“ओ भाउजु ! तपार्ईँ चुप लाग्नुहोस्, मलाई पनि तपाईँले पाल्नुभएको हो । मैले खाएका दशधारा खेर जान दिने छैन । हिजो खाना खाउँ भन्दा ठग्नु भयो, लौ उठ्नुहोस् । आज त मेरो सामुन्ने खाना खानुहोस् ।”

मान्छे भेटन आउने क्रमसँगै बज्यै बेहोस हुन्छिन् । आफैले जन्माएर हुर्काएको सन्तानका कर्तुतप्रतिको धारणाहरूले मथिङ्गल नाचेर आउँछ । आफूले सानै ठानेको भएपनि बदमाश त महाबदमाश भैसकेको कुरा पत्याउन गाह्रो लागिरहेको कुरा एकातिर छ, अर्को कुरा देशदुनियाँले केके कुरा गर्लान ? कस्ताको सन्तान रहेछ भन्लान् । उसको लागि बुवाले विदेशमा हाड घोटेको कहाँ गयो ? उता बुढाले घटना थाहा पाए के हाल हुने होला ? कान्छो नभएको भये त अपुताली नै पारिसकेको ।

“बदमाश ! यसभन्दा त भीरबाट लडेको भए, बाघले खाएर मरेको भए हुन्थ्यो ।” यी यस्तै कल्पनासँगै बज्यै फेरि “दशधारा दुध खेर गयो । के मा चित्त बुझाऊँ ।” भन्दै रुन्छिन् । तर पनि के गरून्, होलाखाला भनेको त अब कुकर्मको फल भोग्छ । तैपनि आफैले जन्माएको हो, पालनपोषण गर्यो, आफूले नखाएर, नलगाएर उसैको आवश्यकता पुरा गर्यो तैपनि चित्त बुझ्दैन ।

सर्जमिन मुचुल्का गर्न आएका इन्सपेक्टरलाई सोध्छिन् “हजूर ! अब त्यसको के हुन्छ ?”

“आमा ! तपाइँको छोराले सत्यानाश गर्र्यो । बालिका बलात्कार अनि हत्यामा आजिवन जेल सजायको माग गरेर अदालत मुद्दा जान्छ ।”

इन्सपेक्टरले यति भन्दा सुइय् सुस्केरा हाल्दै “जान दिनुहोस् । त्यो खेर गयो । त्यसलाई जेलमा किरा परोस् ।”

“ सियो चोरले फाली चोर्छ भन्ने बुढापाकाले । हो रहेछ । ठाउँको ठाउँ सानो ठूलो गल्ती नभनेर अपराध अनुसार सजाय नपाउँदा झन ठुलो अपराध सिर्जना हुन्छ ।”

टोलछिमेकमा गाइँगुई चल्छ, “ सियो चोरले फाली चोर्छ भन्ने बुढापाकाले । हो रहेछ । ठाउँको ठाउँ सानो ठूलो गल्ती नभनेर अपराध अनुसार सजाय नपाउँदा झन ठुलो अपराध सिर्जना हुन्छ ।”
हो, रैछ आमा झल्झली विगतको तस्विर सम्झिन्छिन् । छोरो टाठाबाठाहरूका साथमा लागेको छ, सुध्रँदै छ भन्ने सोचेकी थिइन् तर उल्टो बाटो पो लागेको बल्ल पो थाहा पाइन् ।

मानमतीले साथीसंगीको साउतीमा थाहा पाइछिन् । बदमाश त पोहर साल मामाघर जानुपर्ने रहेछ । पल्लो गाउँकी पहिले आफैसँग पढने साथीलाई छेडछाड गरेर बबन्डर मच्चाएको रे । ठाना पुलिस हुदाँदेखि गाउँकै सदस्य, मुख्या, काजी मिलेर केही होइन्, मिलाएर आउँछौं भनेर तमसुक गरेर खसी खाएर उम्काएछन् । ठुलाठालुकै सन्तान मुछिएका रहेछन् । त्यै मेलोमा बदमाश पनि सामेल रहेछ । पीडितलाई एक तोला सुन दिउँला भनेर माफी मागेछन् अनि थानेदार साबलाई खुसुक्क मेसेज पठाएर मिलापत्र गराउने र आइन्दा गडबड नगर्ने भन्न लगाएको रे ।

यो कुरा सुन्दा बज्यै तीनछक पर्छिन् । छोराप्रतिको मातृमोह घृणामा बदलिँदै थियो । सोझी आमाप्रति बदमाशले गरेको मातृघात यो भन्दा बढी के हुन सक्थ्यो ।

“शत्रुलाई पालेकी रहेछु । जबरजस्ती गर्ने अपराधीहरूलाई मिलापत्र गराउने प्रशासन र तमसुक बनाएर अपराधी उम्काउने समाजका नेताहरूप्रति पनि बज्यै र मानमतीको भरोसा रहेन् ।”

“काकी ! ती पनि अपराधी हुन्, त्यस्ता नेता हामी जस्ता सोझासाझालाई बेचेर खाने गर्दछन् ।” मानमतीले ढाढस दिँदै भनिन् ।

प्रहरी चौकीमा भोलिपल्ट चहलपहल बढेको थियो । गाउँमा गाईँगुईँ चलेको थियो । कोही कसैसित धेरै कुरा गरिरहेका थिएनन् ।

“फेरि के अनिष्ट आइपर्यो ? के रहेछ बुझिहालाँै” भनेर रघुवीर चौकीतिर जान्छन् ।

बाटोमा उनलाई नै बोलाउन आउँदै गरेका प्रहरीसँग भेट हुन्छ ।

त्यति मात्रै कहाँ हो र ! बिचौलिया भएकी पल्ला गाउँकी सुन्तली, तल्लागाउँकी सुर्मा समेत जेल पर्ने रहेछन् । कुरा उही तमसुक र मिलापत्रको रहेछ।

“जिल्लाको टोली आएको छ, केही बुझ्न भनेर बोलाउन पठाएका रहेछन्् । कुरा बुझ्दै जाँदा त सदस्य, मुख्या, काजी सापहरू बुवाछोरालाई जिल्लामा मुद्दा परेको रहेछ । त्यति मात्रै कहाँ हो र ! बिचौलिया भएकी पल्ला गाउँकी सुन्तली, तल्लागाउँकी सुर्मा समेत जेल पर्ने रहेछन् । कुरा उही तमसुक र मिलापत्रको रहेछ। इञ्चार्ज पनि जिल्ला तानिएका नयाँ इञ्चार्ज आएका रहेछन।
मुद्दा हेर्ने डिएसपी सापसितको चिनजानपछि रघुवीरसँग सोधपुछ सुरू भयो । गत वर्षको छेडछाड घटनामा पीडामा परेकोले क्षतपूर्ति नपाएको र अपराधी र तिनका मतियारमाथि कानून अनुसार कारवाही गरि पाउँ भनि उजुरी परेको रहेछ । कबुल गरेको कुरा पुरा गर्न भन्दा उल्टै धम्की दिँदा रहेछन् । गतवर्षको घटनाबारे सोद्धा रघुवीरले धेरै पछि मात्र प्रहरीबाट थाहा पाएका रहेछन–“तपाईंको भतिजाले त…..यस्तो गरेको रहेछ, ख्याल गर्नुहोला, सम्झाउनु होला ।”

मिलापत्र बारेमा रघुवीर र उनकी भाउजूलाई थाहा नदिइएको रहेछ । उता भतिजाले काकासँग उठबस गर्न छोडेको लामो समय भइसकेको रहेछ । गाउँकै ठुलाठालुकै सामुन्ने रघुवीरले बयानमा भने–“डिएसपी साब ! यी झन ठूला अपराधी हुन्, विकास गर्लान भनेर चुनेका मानिसको धन्दा त गजबको देखियो । गाउँगाउँमा रक्सीको लाइसेन्स दिन पहल गर्ने, आफ्नै मानिसलाई बाटोकुलाका ठेकेदार बनाउने, यी हुनेखानेका छोराछोरीले अरूका छोराछोरी पनि गँजेडी, रक्सीबाज, बलात्कारी हुन सिकाए । अपराध लुकाउन, यिनै गाउँका अगुवाले तमसुक बनाए, मिलापत्र गराए, हामीलाई एक शब्द पनि सोधेनन्, बदनामीका डरले खुसख्यास्स मिलाउँछन् । यस्ता त कतिकति मिलाए होलान ? आफ्नो झोला बोक्न गरिबका छोरा प्रयोग गरे । कानूनका रक्षा गर्ने नै जघन्य अपराध मिलापत्रमा मिलाउँछन् भने धेरै के भनौँ….कानूनमा जे छ, सोही अनुसार कारवाही होस ।”

उता गाउँमा पक्राउका विरूद्ध नाराबाजी गर्ने एक हुलको गोप्य छलफल चलिरहँदा मानवाधिकारको छानबिन टोली पनि आइपुग्छ । पत्रकार पनि ओइरिन्छन, ठूला नेताका सुराकी पनि कानमा मोबाइल झुण्ड्याएकै भेटिन्छन् । कहिल्यै अखबार नदेखेका गाउँले ठूल्ठूला अक्षरमा गाउँले प्रमुखहरूका कर्तुत छापिएका खबर पढन पाउँछन् तर आमाको दशधारा दुध खड (खेर) हाल्ने त धेरै रहेछन्, आमा चित्त बुझाउँछिन ।


जगदीश ओझा
भीनपा–५ वनखेत, महेन्द्रनगर


(जगदिश ओझा महेन्द्रनगर, कञ्चनपुरका बासिन्दा हुनुहुन्छ । उहाँ शिक्षण, साहित्य लेखनका साथै सामाजिक कार्यमा समेत सक्रिय हुनुहुन्छ ।)

100% LikesVS
0% Dislikes
Spread Your Love !!!