प्रहरीलाई मोटोपन घटाउन जिल्ला झिकाएर दैनिक व्यायाम


प्रहरीलाई मोटोपन घटाउन जिल्ला झिकाएर दैनिक व्यायाम

जिल्ला प्रहरी कार्यालय दाङले शारीरिक रूपमा मोटा देखिने प्रहरी जवानदेखि सबैलाई दैनिक दौडाउन सुरू गरेको छ।

नयाँ प्रहरी प्रमुख एसपी सुरेश काफ्ले जिल्लामा आएको दोस्रो दिनदेखि नै त्यस्तो अभियान सुरू भएको हो।

‘म दाङ आएको भोलिपल्टदेखि नै बिहान दैनिक रूपमा सबैलाई दौडाउन थालेको छु,’ एसपी काफ्लेले भने, ‘बिहान म पनि सधैँ दौडिन्छु र मोटा प्रहरी सबैलाई अनिवार्य दौडाउन लैजान्छु।’

जिल्लाका बिभिन्न स्थानमा कार्यरत मोटा प्रहरीलाई जिल्ला झिकाएर दैनिक दौडाएर फिट भएपछि पुनः सम्बन्धित कार्य क्षेत्रमै खटाइने एसपी काफ्लेले बताए।

‘हाम्रोमा जागिर खाने कोही त यति मोटाएका छन् कि राम्रोसँग हिँड्न पनि सक्दैनन्,’ एसपी काफ्लेले भने, ‘जो आफैँ राम्रोसँग हिँड्न सक्दैनन्, उनीहरुलाई दौडाएर, पिटी खेलाएर फिट पार्ने मेरो योजना हो।’

दाङ सरूवा भएर आएको दोस्रो दिनदेखि एसपी दौडिन थालेपछि डिएसपीलगायत सबै शारीरिक रूपमा ‘अनफिट’ प्रहरीहरू दौडिन र व्यायाम गर्न थालेका छन्।

डिएसपी मुकुन्दप्रसाद रिजालले डिउटीमा रहेका प्रहरी बाहेक अरू सबै एक घन्टा दौडिन सुरू गरेको बताए ।

‘शारीरिक रुपमा फिट हुन सबै दौडिने भन्ने छ,’ रिजालले भने ‘केही दिन केही गाह्रो भए पनि हिजोआज एक/आधा घन्टा दौडिएर पिटी गर्दा आनन्द आउँछ।’-setopati बाट