गैराको मिठो काफल: नियात्रा


लेखक : लेखापढी      १७ श्रावण २०७८, आईतवार १२:३० मा प्रकाशित     
गैराको मिठो काफल: नियात्रा

“काफल खाने हो ?”

रमेश भाइले काफल बेचिरहेका महिला र केटाकेटी देखाए ।

“गैराको काफल खानुहोस् । सम्झना बनाएर जानुहोस् ।”

ड्राइभर अजबसिँह बोहराले गजबको काव्यात्मक वाक्य बोले । अब काफल नखाने कुरै    भएन । समयको फल मात्रै भएन् काफल । त्यो त सम्झना हुने भयो कोसेलीजस्तै भएर गैरा गाउँको ।

डालाहरूमा भरिएका काफल किनेर प्लास्टिक र पत्रिकामा पोको पार्यौ । नुन, खुर्सानी छर्किएका काफल । मुखबाट पानी झरिसकेछ लोचन के.सी., पार्वती के.सी., मणि दाहाल, सागर नेपाल, प्रजापति आचार्यहरूको ।

“आहा ! कति मिठो ।” राजेन्द्र मैनाली पनि खुसी भए काफल निल्दै ।

रामजी गिरीले पसरभरिको काफल एकै गाँसमा रित्याए ।

आजको यात्रामा उनी भएकी भए सायद सबैभन्दा खुसी हुने थिइन् उनी र सबैलै भन्दा बढि खान्थिन् होला ।

साह्रै रमाएर खायौँ काफल । मैले पवित्राको सम्झना गरेँ यसबखत । काफल भनेपछि हुरुक्कै उनी । जहाँ भेटे पनि अघाउन्जेल खानुपर्ने उनलाई काफल । आजको यात्रामा उनी भएकी भए सायद सबैभन्दा खुसी हुने थिइन् उनी र सबैलै भन्दा बढि खान्थिन् होला । के गर्नु र, उनका लागि अहिले किनेर लगिदिन पनि नसकिने । लगातार काफल निल्दै गर्दा केवल सम्झना गरेँ मैले उनको ।

काफल खाइसकियो । गाडी पनि रोकियो । यो ठाउँ गाडी रोकिने गरेको एउटा सम्झनायोग्य ठाउँ रहेछ, साउखर्क । साउखर्कको अर्को नाम ‘खिर खाने डाँडो ।’

खिर चाहिँ थोरै मात्र पाइयो । केहीलाई मात्र पुग्यो । गाडी दगुरिहाल्यो ।

‘“बाटो त डरलाग्दो रहेछ ।”

आज साह्रै कम बोलिरहेका पत्रकार सीताराम बराल बल्लतल्ल बोले । आज बिहानदेखि नै उनी ज्यादै कम बोलिरहेका थिए । प्रायः झ्यालबाट बाहिर हेरिरहन्थे । बेलाबेला डायरीमा के के लेखिरहन्थे ।

बाटो साँच्चै नै सीतारामले भने जस्तै डरलाग्दै रहेछ । छोटाछोटा घुम्ती नै घुम्ती । अलिकति मात्रै गडबड भयो कि गयो भिरपहरातिर । मुटु नै चिउँचिउँ हुने ।

भातकाँडा आइपुगेको जानकारी पाइयो रमेश भाइबाट । भातकाँडा भन्नेबित्तिकै भात खान पाइएला जस्तो लाग्यो तर पाइएन । भोक पो बढ्न थाल्यो ।

“खिर डाँडामा खिर पाइएन, भातकाँडामा भात ।

भात नपाको झोँकमा अब गरौँ मिठो बात ।” थोमस पीडितका प्रत्येक वाक्यले हँसाउँथ्यो । अहिले पनि हाँस्यौँ हामी थोमसको रमाइलो गीतमा ।

गीत गाउन थालिहाले उनी भोकप्यास मेटिने गरी । सघाए सबैले थोमसलाई । गीतले गुञ्जायमान भयो वातावरण ।

“ड्राइभर दाइ खलासी भाइ
हाम्रो धेरै माया तिमीलाई
हाम्रो धेरै आदर तिमीलाई ।
कहिले लान्छौ उकालीमा कहिले ओरालीमा
कहिले लान्छौ घुम्ती घुम्ती कहिले देउरालीमा ……….”

मञ्जुल दाइले झ्यामझ्याम गितार बजाएपछि गुञ्जिएको उहाँ, जनगायक रामेश दाइ र रायन दाइको स्वर मेरो मानसपट र ह्दयका अन्तरकुन्तरसम्म गुञ्जायमान भयो । आँखै अगाडि उभिनु भयो दाइहरू ।

“थमनप्रसाद बाँस्तोला याने थोमस पीडित । थोमस पीडित हाम्रो यात्राको तागतको ट्याब्लेट हुन् । शक्तिबद्र्धक च्यवनप्रास हुन् ।”

“थमनप्रसाद बाँस्तोला याने थोमस पीडित । थोमस पीडित हाम्रो यात्राको तागतको ट्याब्लेट हुन् । शक्तिबद्र्धक च्यवनप्रास हुन् ।” योगेशजीको थोमसप्रतिको विचार अनुमोदित भयो तालीको गड्गडाहटले । थोमस अझै उत्प्रेरित भए योगेशजीका कुराले ।

दह ब्यारेकको ढाँटमा रोकियो हाम्रो गाडी । उत्रिएर हेरूँहेरूँ लाग्यो टाढाटाढासम्म । तल डोटी जाने बाटो पूर्वतर्फ तन्किरहेको थियो । आँखा सार्न नपाउँदै गाडी दगुरिहाल्यो । दुनदुनेबाट हेर्दा सल्लाघारीहरूमा जताततै आगलागी भइरहेको देखिन्थ्यो ।

साउखर्कबाट हाम्रै गाडीमा चढेका डडेल्धुरा जिविसका सहायक प्राविधिक लक्ष्मीनाथ जोशीलाई सोधेँ मैलै, “किन लागेको यसरी जताततै आगो ? कसरी लागेको धेरै ठाउँ एकैचोटि ?”

“कतैकतै ढुङ्गा लड्दा ठोक्किएर पनि आगो सल्कन सक्छ । कहिलेकाहीँ चुरोट, बिँडीका ठुटाले पनि सर्वनाश गर्न सक्छ । अन्जानवश कहिलेकाहीँ गाईवस्तु चराउने केटाकेटीले पनि लगाइदिन सक्छन् र कहिलेकाहीँ चाहिँ खराब मान्छेले जानीजानी पनि जङ्गलमा आगो सल्काइदिन सक्छन् ।”

थुप्रै थुप्रै जनावरहरू आफ्ना बच्चाहरू खोज्दै दौड्दै होलान् आगोका ज्वालाहरू नाघ्दै र ढलेर डढ्दै होलान् डढेलोका भरभराउँदा कोइलाहरू   माथि ।

लक्ष्मीनाथ जोशीको उत्तर पर्खिरहन निक्कै कठिन भयो मेरो मनलाई । ऊ दौडिहाल्यो ती आगलागी भएका ठाउँतिर । चराहरू उड्दाउड्दै झर्दै होलान् आगोमै फ्यात्तफ्यात्त रापले मुटु कलेजो पाकेर । मृग र हरिणका पाठाहरू म्याँम्याँ गर्दै छोड्दै होलान् प्राणपखेरु आगोका लप्काहरूसँगै डढेर । सालक र दुम्सीहरू दुलोभित्रै फेरि नब्युँझने गरी मुर्छित भइरहेका होलान् । थुप्रै थुप्रै जनावरहरू आफ्ना बच्चाहरू खोज्दै दौड्दै होलान् आगोका ज्वालाहरू नाघ्दै र ढलेर डढ्दै होलान् डढेलोका भरभराउँदा कोइलाहरूमाथि । च्याँच्याँ र म्याँम्याँ गर्दागर्दै निस्सासिएर सकिँदै होला बिचरा बच्चा बचेराहरूको जिन्दगी । वनफूलका कोपिलाहरू फक्रन नपाउँदै डढेर खरानी भए होलान् ती ज्लालामुखी समान आगोका लप्काहरूमा ।

स्याउलेबाट डोटी जाने बाटो हेर्दा इलामको हर्कटेको सम्झना आयो । चियाका बुट्टाले ढाकेको हर्कटे । यहाँ चाहिँ चिया हैन, अरू नै बोटबिरुवा र पोथ्राहरू । हर्कटेमा गर्मी हुँदैन कहिल्यै तर यहाँ निक्कै गर्मी रहेछ ।

यी कसका खुट्टा हुन् तीन सिट भ्याउने ? जिस्क्याउने पारामा ठाकुर गैरेले बोल्ने बित्तिकै अगाडिको सिटको पनि अगाडिसम्म पुगेका मोहन चापागाइँका खुट्टा खुम्चिए हत्तपत्त ।

बाटैमा भेटिए कर्ण बोहोरा । हामीलाई लिन आएका रहेछन् खलङ्गाबाट वरसम्म । गाडीबाट उत्रिएर हामी पनि कर्णसँगै हिँड्दै गयौँ खलङ्गा बजारसम्म ।

जिल्ला विकास समितिका सभापति गजेन्द्र शाही, योगेश भट्टराई र रूपनारायण श्रेष्ठका कुराहरू सुने उपस्थित मानिसहरू सन्देश सभामा ।

सदरमुकाम खलङ्गा पुग्दा त सयौँको सङ्ख्यामा मानिसहरू जम्मा भइसकेका । सभाको तयारी भइरहेकाे, जोडजोडले हावा चलिरहेको, धुलो उडिरहेको । जिल्ला विकास समितिका सभापति गजेन्द्र शाही, योगेश भट्टराई र रूपनारायण श्रेष्ठका कुराहरू सुने उपस्थित मानिसहरू सन्देश सभामा । “लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भएका थुप्रै प्रमाणहरू छन् । राज्य र जनस्तरबाट ती सबै खोज्नुपर्छ । यो विषयलाई देशव्यापी बनाउँदै प्रत्येक नेपालीको ढुकढुकीसम्म पुर्याउनुपर्छ ।” गजेन्द्र शाहीले कति राम्रो कुरा गरे सभालाई सम्बोधन गर्दै ।


नन्दु उप्रेती


(नन्दु उप्रेती मूलत: कवि हुनुहुन्छ । उहाँको “कालापानी यात्रा” नामक नियात्रा कृति पश्चिम नेपालको भ्रमणसँग सम्बन्धित छ । वि.स. २०५५ मा भएको ऐतिहासिक कालापानी मार्चलाई यस लेखले सम्झाइरहन्छ ।)

100% LikesVS
0% Dislikes
Spread Your Love !!!