विनय कसजूका दुई लघुकथा


लेखक : लेखापढी      १७ श्रावण २०७८, आईतवार १३:०५ मा प्रकाशित     
विनय कसजूका दुई लघुकथा

एक किलो अखबार

काठमाडौँमा जन्मेको एक युवक पहिलोपटक पुर्ख्यौली पहाडघरमा जाँदै थिए । गाउँमा उसका मामामाइजु बस्थे । मामामाइजुलाई कुनै कुराको कमी थिएन । गोठभरि दुहुना भैँसी थिए । भकारीभरि अन्न, बारीमा ताजा तरकारी । घरको छेउमै पानीको कलकलाउँदो मूल ।

पहिलो पटक भान्जा आउने भनेपछि मामामाइजु खुशी भए । भान्जालाई के खुवाउने भनेर दुई जनाबीच सल्लाह भयो । माइजुले भनिन्, “म सेल पकाउँछु । दूध घोटेर कुराउनी बनाउँछु । मार्सी धान कुटेर ठिक्क पार्छु । कालो मासको दाल भइहाल्छ । तरकारीको लागि बारीमा तरुल र गाभा छँदैछ । अलिकति मस्यौरा र गुन्द्रुकको अचार बनाउँछु ।”

“हाम्रा भान्जाले त्यस्ता कुरा खान्छन् र ! पोहोरसाल दिदीकहाँ बस्दा उनीहरूले केके खान्छन् भन्ने मैले थाहा पाएकोछु । बरु म बजार गएर भान्जालाई मनपर्ने कुराहरू लिएर आउँछु,” मामाले हाँस्दै भने । मामा एक वर्ष अघि सहरमा दिदी भिनाजुको घरमा केही दिन बसेका थिए । दिदी भिनाजु र भान्जाभान्जीले के खान्छन् भन्ने मामालाई थाहा थियो । भान्जा आउने दिन बिहान मामाले बजार गएर भान्जाको लागि चाहिने कुरा किनेर ल्याए ।

साँझपख भान्जा सहरबाट आइपुगे । मामामाइजुले मन फुकाएर भान्जाको स्वागत सत्कार गरे । भोलिपल्ट भान्जा झ्यालबाट बाहिर हेरिरहेका थिए । चारैतिर हरिया रुखपात, बनजंगल, चराचुरुंगीको स्वर, स्वच्छ हावा, शान्त गाउँ देखेर मुग्ध हुँदै मनमनै कविता कोर्दै थिए ।

“भान्जा ! ब्रेकफास्ट खान आऊ,” मामाको स्वर सुनेर उनी झल्याँस्स भए । मनमनै भने, ‘गाउँमा पनि ब्रेकफास्ट !’

“हस मामा !” भन्दै उनी तल झरे ।

दुधदही, ध्यु, कुराउनी, ताजा तरकारी खान पाइन्छ भनेर आमाले भन्नुहुन्थ्यो । तपाईँहरू त हामीले सहरमा खाने जस्तै खानेकुरा खानुहुँदो रहेछ !”

मझेरीमा टेबुल कुर्सी राखिएको थियो । टेबुलमाथि फूलदानमा ताजा फूल । एउटा प्लेटमा काँटा चम्चा । ठूलो प्लेटमा पाउरोटी । सँगै सुन्तलाको जाम र नौनी (बटर) । कपमा चिया ।

खानेकुराको बन्दोबस्त देखेर भान्जा एकमनले खुशी भए भने अर्को मनले आश्चर्य मान्दै मामालाई भने, “मामा ! तपाईँकहाँ दुहुना भैँसीहरू छन् । दूधदही, ध्यु, कुराउनी, ताजा तरकारी खान पाइन्छ भनेर आमाले भन्नुहुन्थ्यो । तपाईँहरू त हामीले सहरमा खाने जस्तै खानेकुरा खानुहुँदो रहेछ !”

“पहिलो पटक गाउँमा आएको भान्जालाई किन रुखोसुखो खुवाउनु भनेर यो सबै किनेर ल्याएको हो । हामीले गाउँमा यस्ता कुरा कहाँ खान्छौँ र ? म पोहोर तिमीकहाँ बस्दा यी सबै कुरा मलाई थाहा छ ।”

अनि उनले केही सम्झेँझैँ गरी भने, “मैले अखबार पनि किनेर ल्याएको छु । ब्रेकफास्ट खाँदा अखबार पढ्ने तिमीहरूको बानी मलाई थाहा छ ।”

यति भन्दै मामा माथि कोठामा गए र एकैछिनमा एक मुठा अखबार लिएर आए ।

उनले अखबारको मुठाबाट एउटा अखबार भान्जालाई दिँदै भने । “तिम्रो लागि भनेर मैले बजारबाट एक किलो अखबार किनेर ल्याएको थिएँ, नपुगे अरू पनि ल्याउँछु ।”

आधुनिक सिद्धिनरसिँह मल्लहरू

प्राचीन ललितपुरका राजा सिद्धिनरसिँह मल्लको दरबारमा अहिले पनि उनलाई तमाखु भरेर राखिदिने चलन छ । उनको ओछ्यान पनि दिनदिनै सफा गरेर ओछ्याइदिनु पर्छ । उनको सालिकको टाउकोमा बसेको चराको मूर्ति उडेर नगएसम्म उनलाई ज्युँदै ठान्नू भन्ने उनको आदेश छ रे !

यो रमाइलो ऐतिहासिक आख्यान पढ्न नभ्याउँदै एउटा कार्यालया जानुपर्ने काम सम्झेँ । हाकिमले दुई बजे अफिसमा भेट्न बोलाएका थिए, तर म त्यहाँ पुग्दा हाकिमको कुर्सी खाली थियो । हाकिम नभए पनि कोठा शीतल थियो । एयर कन्डिसनर मात्रै होइन, पंखा पनि चलिरहेको थियो ।

खै, आज आइस्या छैन । मन्त्रालयमा मिटिङ छ रे भनेर फोन गरिस्याथ्यो । आज आइसिन्छ कि आइसिन्न, थाहा छैन ।

“हाकिम साहेब कहिले आउनृुहुन्छ ?” पालेसँग सोधेँ ।

“खै, आज आइस्या छैन । मन्त्रालयमा मिटिङ छ रे भनेर फोन गरिस्याथ्यो । आज आइसिन्छ कि आइसिन्न, थाहा छैन ।”

पालेको उत्तर सुनेर म अलमल्ल परेँ । “कोठा यति चिसो छ । पंखा पनि चलेकै छ । हाकिम साहेब चाँडै आउनुहुन्छ होला ।” मैले आशावादी हुँदै भनेँ ।

“यस्तै हो । कोठा त छुट्टीको दिनमा बाहेक सँधै चिसै पारेर राखिन्छ । गर्मीयाममा चिसो र जाडो याममा तातो राख्नैपर्छ । हाकिम साहेबको सवारी भए पनि नभए पनि आफ्नो ड्युटी गर्नैपर्छ । कुन बेला हाकिम साहेब सवारी हुन्छ, के थाहा !” पालेले आफ्नो कर्तव्यपरायणता दर्शाउँदै भन्यो ।


विनय कसजू


(विनय कसजू नेपाली लघुकथा क्षेत्रका विशिष्ट प्रतिभाका रुपमा परिचय स्थापना गरिसकेका स्रष्टा हुन् । पाल्पामा जन्मनुभएका कसजू पछिल्ला समयमा राजधानीमा बसोबास गर्नुहुन्थ्यो । उहाँ हाल दिवंगत भइसक्नुभएको छ ।)

100% LikesVS
0% Dislikes
Spread Your Love !!!