हावाले पक्की पुल उडायो, सांसदहरु आश्चर्य


लेखक : लेखापढी      १७ श्रावण २०७८, आईतवार १४:५० मा प्रकाशित     
हावाले पक्की पुल उडायो, सांसदहरु आश्चर्य

काठमाडौँ- सडक विभागले पृथ्वी राजमार्ग जोड्ने पुल हावाले उडाएको जानकारी गराएका थिए । आइतबार संसद्को विकास तथा प्रविधि समितिमा वर्षाले क्षति पुर्‍याएको सडक पुल र कमला नदीको पुलमा भएको क्षतिबारे भएको छलफलमा सडक विभागको कुरा सुनेपछि  उनीहरूले आश्चर्य व्यक्त गरेका हुन् । सडक विभागका पदाधिकारीहरूले बन्दा बन्दैको पक्की पुल हावाले उडाएको बताएपछि सांसदहरूले आश्चर्य व्यक्त गरेका  छन् । 

छलफलमा सडक विभाग पदाधिकारीले क्षतिग्रस्त पुल तथा सडकको बारेमा जानकारी गराएका थिए । उनीहरूले पृथ्वी राजमार्ग जोड्ने पुल हावाले उडाएको जानकारी गराएका थिए । सांसदहरू कमला रोका र मिनाक्षी झाले पक्की पुल कसरी हावाले उडाउँछ भन्दै प्रश्न गरे । सांसद कमला रोकाले असारे विकासका रूपमा कमसल काम गरेका कारण सडक पूर्वाधारमा क्षति हुने गरेको उल्लेख गरिन् । उनले हावाले पुल उडाएको त्यो कस्तो खालको पुल हो भन्दै आश्चर्य व्यक्त गरिन् । उनले कमला नदीमा भत्किएको पुलको कारण पत्ता लगाएर दोषीमाथि कारबाही गर्न माग गरिन् । यस्तै सांसद मिनाक्षी झाले पनि हावाले पुल कसरी उडायो भन्दै आश्चर्य व्यक्त गरिन् । 

निर्माण व्यवसायी समेत रहेका अर्का सांसद बहादुरसिंह लामाले भने हावाले पुल उडाउने कुरा सुनेर आश्चर्य नमान्न आग्रह गरे । उनी अगाडि बोलेका सांसदले सडक विभागका कर्मचारीलाई प्रश्न गरे पछि सांसद लामाले नै त्यसको जवाफ दिएका थिए । उनले निर्माणाधीन पुलमा नट बोल्ट पूर्ण रूपमा कसिएको नहुने तथा बेरिङ बलियो नहुने लगायत प्राविधिक कारणले बन्दाबन्दैको पक्की पुल सानो बल प्रयोग हुँदा भत्किने जवाफ दिए । 

सडक विभागका अनुसार यो वर्ष मनसुनी वर्षाका कारण २ अर्ब १६ करोड हाराहारी सडक पुल पूर्वाधारमा क्षति भएको छ । यस्तै यो वर्ष २४ पक्की पुल बाढी पहिरोबाट क्षति  भएको र ९ वटा पुल नदीले बगाएको विभागले समितिलाई जानकारी गराएको छ । मेलम्चीमा मात्रै ५ वटा पुल बगाएको छ ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!