उचित न्यायको


उचित न्यायको

मलाई थाहा छ, मलाई राम्ररी नै थाहा छ । मेरो पनि जन्म पुरुषको आकाङ्क्षाबाट नै भएको हो । आमाको गर्भमा अङ्कुरित भएको भ्रूण छोरो हुन्छ भन्ने थियो । तर पुत्र प्राप्तिको आशालाई व्यङ्ग्य गर्दै कुनै एउटा शुभ मुहूर्तमा मेरो जन्म भएको हो ।

भूमिष्ठ भएको दिनदेखि नै प्रकृतिको रङ्ग, रूप,  गन्ध,  वर्ण उपभोग गर्दै भरपूर शरीर उज्ज्वल मन लिएर बढ्न थालेँ । मभन्दा अघि नै जन्मिएका सुन्दर सुशील तीन जना छोरा छोरीका पितृ मातृका लागि म अवाञ्छित सन्तान हुन आइपुगेँ । उहाँहरूलाई म सारै गह्रौँ भएकी थिएँ । “न त राख्न सकिन्छ न त फाल्न सकिन्छ”

समय सँगसँगै मेरा चाल-चलन, कर्महरू देख्ता बाबुलाई केही भए पनि मेरो उज्ज्वल भविष्यको गन्ध लागिसकेको रहेछ ।

परिवारमा सवैजना मलाई अवाञ्छित सदस्यको रूपमा हेर्ने गर्नुहुन्थ्यो । गाह्रो हुन्थ्यो उहाँहरूलाई मलाई लिएर हिँड्न, अरुको अगाडि मेरो परिचय दिन पनि । म बिस्तारै सबैथोक बुझ्नसक्ने भएकी थिएँ ।

जीवनको बाइसौं वसन्तपछि आफ्नो लगन र परिश्रमले विदेशमा पढ्नको लागि सरकारी अनुदान हासिल भएको थियो ।

मलाई केही फरक पर्दैन थियो । आफ्नो पढाई र कर्ममाथि भरोसा गर्दै म, अगाडि बढ्दै गएँ ।जीवनमा हरेक घात प्रतिघात सहँदै आज मैले जीवनमा ठूलो न्याय प्राप्त गरेकी छु । जीवनको बाइसौं वसन्तपछि आफ्नो लगन र परिश्रमले विदेशमा पढ्नको लागि सरकारी अनुदान हासिल भएको थियो ।

तर परिवारका सबैले मनपराउनु भएको थिएन । म दिन रात चिन्तामा थिएँ । मनको अगाध इच्छालाई पल पल डढेको देखेर छट्पटाइरहेकी थिएँ । अरुको ईर्ष्यालु हेराइ वाक्य वाणले मलाई छ्या-छ्या पारेको थियो ।

एक्कासी बाबुले हातमा फ्लाइटको टिकट दिँदै भन्नुभयो “जाऊ तिमी आफ्नो सामानहरु प्याक गर, भोलि तीन बजेको फ्लाइटमा अमेरिका जानुपर्छ”

म, हातमा टिकट लिएर हेरेको हेरै भएँ । आज पहिलो पटक जन्मदाताको उचित न्यायले हृदयको सागर छचल्कियो,  आँखाबाट न्याय पाएको खुसीले छल्किएर गंगा-यमुना दुई नेत्रले गाला भिजाउँदै तल झरे ।

सबैजना उचित न्यायको प्रतिवाद गर्न नसकेर हेरेको हेरै भएँ ।


 ✍️ श्री दुलुमणि देवी उपाध्याय
 ओदालगढी, असम, भारत

*******