प्रियतम् म आउँछु


लेखक : लेखापढी      १३ श्रावण २०७८, बुधबार १५:३८ मा प्रकाशित     
प्रियतम् म आउँछु

तिमीले लगाएका पर्खालमा
ईटा थप्न म आउँछु
तिमीले बनाएका मन्दिरहरूमा
गजुर हाल्न म आउँछु
लामो लामोे बाटोको दुरी पार गर्दै
तिम्रो अँगालोमा बेरिन म आउँछु
तिमीले किनीदिएका सुन्दरसुन्दर
गुन्युचोलीले सजिई म आउँछु ।

तिम्रो मनमोहक सुन्दर गाँउ हेर्न
म आउँछु

भूकम्पले क्षतविक्षत भएको तिम्रो घरको
निर्माणमा सघाउन म आउँछु
सिकर्मी र डकर्मीलाई भनिदिनु
होट्सेमा हैसे गर्न म आउँछु
सन्ध्यामा तिमी नटोलाउनु
म उषाको मिर्मिरेमा
कोइलीको मीठोमीठो भाका सुन्दै
म आउँछु ।
वनजंगलको बाटोमा बाघभालुसँग
भयभित नभई म आउँछु ।

असार साउनको झरी बादल नभनी
तिम्रो आँशु पुछिदिन म आउँछु
बाउसे र रोपारलाई भनिदिनु
भाका हालेर असारे गीत
गाउन म आउँछु
तिम्रो बाजो खेतमा रोपाई
गर्न म आउँछु

अषाढ पन्ध्रमा दही चिउरा खाई
तिमी र म रमाउँला
चिन्ता नगर तिमी
मुटुभरी माया बोकी तिमीलाई सघाउन
म आउँला
प्रचण्ड गर्मीमा तिमी
लामोलामो सुस्केरा हाली
खेतबारीमा काम गरिरहेको हौला
पर्ख तिमीलाई पसिना पुछिदिन
म आउँला

ग्रीष्ममा म वरपीपल बनी
शीतलता छाइदिन म आउँला
तिम्रो उजाडिएको बगैचामा
ढकमग्न फूलहरू फुलाउन म आउँला ।
तिम्रो सानो झुप्रोमा तिम्री आमाले
पकाएको गुन्द्रुक र ढिँडोमा रमाउन
म आउँला

तिम्रो बुढी आमालाई
स्याहारसुसार गर्न म आउँछु
तिम्रो आमा दिदी बहिनीलाई
भनिदिनू यस पालिको मंसिरमा
दुलही भै भित्रिन म आउँछु
रतेउली घन्काई घन्काई
नाचगान गर्न सबैलाई भनिदेऊ है
यसपालि मंसिरमा गृहलक्ष्मी
बनेर म आउँछु
म रमाईरमाई
तिम्रो अर्धाङ्गिनी बन्न आउँछु ।

पर्ख तिमी
म तिमीलाई दुलाहा भनी
अगाँल्न म आउँछु प्रियतम्
जुनी जुनीभर साथ दिन म आउँछु
मुटुभरी छ तिम्रो माया
त्यही माया छताछुल्ल पोख्न म आउँछु ।


सरिता वाग्ले पोखरेल


(सरिता वाग्ले पोखरेल काठमाडौंमा बसोबास गर्दै कविता लेखनमा सक्रिय हुनुहुन्छ ।)

 

100% LikesVS
0% Dislikes
Spread Your Love !!!