अमेरिकाले चीनलाई जवाफ दिन सक्छ ?


अमेरिकाले चीनलाई जवाफ दिन सक्छ ?

यदि अमेरिका चीनसँग सम्बन्ध सुधार गर्न चाहन्छ भने ऊसँग भएको अति गलत बुझाइ र खतरा नीतिलाई परिवर्तन गर्नुपर्छ । चीन अमेरिका सम्बन्ध निकै कठिन अवस्थामा पुगेको छ । दुई ठूला अर्थतन्त्र र ठूला मुलुकले आफ्नो जिम्मेवारीलाई राम्ररी बहन गर्नुपर्छ । यो चीन र अमेरिकाको हितमा मात्र नभई समस्त विश्वको हितमा पनि छ ।

उल्लिखित अंश कुनै प्रोफेसर अथवा विश्लेषकले भनेको नभई चिनियाँ उपपरराष्ट्रमन्त्री स्ये फङले अमेरिकी समकक्षी वेन्डी रुथ शेर्मानसँगको वार्तामा भनेका हुन् । चीन र अमेरिकाबीचमा बढ्दो तनाव र द्वन्द्वलाई कम गर्नका लागि अमेरिका सच्चिनुपर्ने माग चीनले राख्दै आएको छ । यो चिनियाँ परराष्ट्र मन्त्रालयको महत्वपूर्ण र आधारभूत निर्देशिका जस्तै बनेको छ ।

जुलाइ २६ (साउन ११ गते) सोमबार बिहान चीनका उप-परराष्ट्रमन्त्री स्ये फङले बेइजिङ नजिकै थिआननचिन नगरमा अमेरिकी उपविदेशमन्त्री वेन्डी रुथ शेर्मानसँग वार्ता गरेका छन् । पछिल्लो समय बाइडेन सरकारले चीनको आन्तरिक मामिलामा हस्क्षेप गर्ने गरी विभिन्न नीतिहरु अगाडि सार्दै आएको परिप्रेक्ष्यमा यो भेटलाई विश्व कुटनीतिमा निकै महत्वका साथ हेरिएको छ ।

सन् १९४९ मा जन्मिएको वेन्डी शेर्मान अमेरिकाकी गिनेचुनेकी कुटनीतिज्ञ हुन् । उनलाई अमेरिकी राज्यको डेपुटी सेक्रेटरी भनिन्छ जुन उपविदेशमन्त्री पनि हो । उनी बिल क्लिन्टनको समयमा अमेरिकी सहायक विदेशमन्त्री थिइन् । उनले अमेरिकाको उत्तर कोरिया हेर्ने विभागको नेतृत्व गर्दै आएकी छन् । उत्तर कोरियाको आवणिक हतियार सम्बन्धमा अमेरिकी वार्ता टोलीमा बसेर काम गरिसकेकी शेर्मानले इरानको आवणिक वार्ताको पनि नेतृत्व गरिसकेकी छन् । जो बाइडेनले अप्रिल १४ तारिखमा शेर्मानलाई उपविदेश मन्त्रीमा नियुक्त गरेका हुन् ।

पत्रकार सम्मेलनमा चिनियाँ तथा विदेशी पत्रकारहरुले सोधेका प्रश्नको उत्तर दिँदै चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता चाउ ली च्येनले भेटको अन्तर्यको व्याख्या गरेका हुन् ।

अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि चीन र अमेरिकाबीचमा द्वन्द्व बढ्न थालेको हो । दुई ठूला मुलुक र ठूला अर्थतन्त्रबीचको द्वन्द्वले अन्य मुलुकलाई पनि प्रत्यक्ष तथा परोक्ष रुपमा प्रभाव पारेकै छ । डोनाल्ड ट्रम्पपछि जो बाइडेन अमेरिकाको राष्ट्रपति भएपछि दुई देशबीचको सम्बन्धमा सुधार आउने अपेक्षा गरिएको थियो । तर जो बाइडेन राष्ट्रपति भएको आधा वर्ष बित्न लाग्दा पनि उल्लेख्य सुधार भएको देखिँदैन । पछिल्लो समयमा अमेरिकाले हङकङमा कार्यरत केही चिनियाँ अधिकारीमाथि प्रतिबन्ध लगाएको छ भने जवाफस्वरुप चीनले पनि केही अमेरिकीमाथि प्रतिबन्ध लगाएको छ ।

द्वन्द्व बढिरहेको समयमा दुई देशका उपविदेशमन्त्रीबीचको वार्तामा केकस्ता कुराहरु भए भनेर सोमबार नै चिनियाँ परराष्ट्र मन्त्रालयले बेइजिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा व्याख्या गरेको छ । पत्रकार सम्मेलनमा चिनियाँ तथा विदेशी पत्रकारहरुले सोधेका प्रश्नको उत्तर दिँदै चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता चाउ ली च्येनले भेटको अन्तर्यको व्याख्या गरेका हुन् । प्रवक्ता चाउले दुई देशबीचमा भ्रमण आदानप्रदान जारी रहेको र चीन-अमेरिका सम्बन्धमा चीनको मनोवृत्ति र धारणा प्रकट गर्नुका साथै दुई पक्षीय हित र साझा रूचिका विषयबारे गहन बैचारिक आदान-प्रदान भएको जानकारी दिए ।

जलवायु परिवर्तन, इरान आणविक र उत्तर कोरिया आणविक समस्यालगायत विषयबारे अमेरिकाले चीनसँग सहयोग र समर्थनको अपेक्षा गरेको भन्दै अमेरिकी उपविदेशमन्त्री शेर्मानले समकक्षी स्येसँग याचना गरेकी प्रवक्ता चाउले बताए ।

अमेरिकाले चालेका विदेश नीति तथा कार्यक्रममा आफ्नो गठबन्धन इतरका राष्ट्रसँग हम्मेसी समर्थन खोज्दैन । त्यसमाथि विविध नीतिबाट चीनलाई समेत आंशिक नाकाबन्दी लगाउँदै आएको अमेरिकाले चीनसँगै सहयोगको आशा गरेर प्रस्ताव गर्नुलाई अन्तर्राष्ट्रिय समाजले निकै महत्वका साथ हेरेको छ । शेर्मान इरान र उत्तर कोरिया आणविक मामला वार्तामा अमेरिकाको नेतृत्व गर्दै आएकी व्यक्ति हुन् । यी दुई विषयमा चीनको भूमिकालाई अमेरिकाले नजर अन्दाज गर्न सक्दैन ।

अमेरिकाले पछिल्लो समय कोभिड-१९ भाइरस स्रोत, ताइवान, सिन्च्याङ, हङकङ, दक्षिण चीन सागरलगायत विषयमा चीनको बदनाम गर्दै आएको    छ ।

सो वार्तामा चीनले दुई देशबीचको सम्बन्धबारे आफ्नो अडान प्रस्तुत गर्दै चीनमाथिका अमेरिकी गलत बुझाइ र नीति रोक्न ताकिता गरेको कुरा प्रवक्ता चाउले पत्रकार सम्मेलनमा जानकारी दिए । अमेरिकाले पछिल्लो समय कोभिड-१९ भाइरस स्रोत, ताइवान, सिन्च्याङ, हङकङ, दक्षिण चीन सागरलगायत विषयमा चीनको बदनाम गर्दै आएको छ । यी विषयमा आफ्नो लगत भनाइ र कार्य रोकेर चीनको आन्तरिक मामिलामा हस्तक्षेप तत्काल रोक्न चीनले अमेरिकालाई आग्रह गरेको छ ।

वार्ताका क्रममा चिनियाँ उपपरराष्ट्र मन्त्री स्येले चिनियाँ संस्कृतिमा एकाधिकारको जीन नभएको र कुनै पनि मुलुकलाई जबरजस्ती नगरेको स्पष्ट पारे । जबरजस्ती कुटनीतिको आविष्कार, प्याटेन्ट अधिकार र त्यसको बौद्धिक सम्पत्ति अधिकार अमेरिकाको भएको भनेर उनले समकक्षी अमेरिकी शेर्मानलाई चोटिलो व्यङ्ग्य प्रहार गरेका छन् । एकपक्षीय प्रतिबन्ध लगाउने र आन्तरिक मामिलामा हस्तक्षेप गर्ने काम अमेरिकाको नीति रहेकाले यस्ता कार्य अमेरिकाले सच्याउनुपर्ने अडान पनि उनले राखे । शान्तिप्रिय चिनियाँ जनताले पारस्परिक सम्मान, निष्पक्षता, न्यायिक र सहयोगात्मक तथा साझा विजयका नयाँ ढाँचाको अन्तर्राष्ट्रिय सम्बन्धलाई सक्रियताका साथ अगाडि बढाएको भन्दै यस्ता कुरामा अमेरिकी धारणा के छ भनेर प्रश्न सोधेका थिए । के अमेरिका चीनसँगै एउटै दिशातर्फ हिँड्न, पारस्परलाई सम्मान गर्न, निष्पक्ष रुपमा प्रतिस्पर्धा गर्न र शान्तिपूर्ण सहअस्तित्वमा रहन सक्छ? चिनियाँ प्रश्नमा अमेरिकी कुटनीतिज्ञ शेर्मानले ठोस जवाफ दिन सकिनन् ।

एक स्वस्थ र स्थिर चीन नै चीनअमेरिका सम्बन्धमा दुई पक्षीय हितसित अनुकूल हुनुका साथै अन्तर्राष्ट्रिय समाजको साझा अपेक्षा रहेको चीनले बताउँदै आएको छ ।

वर्तमानमा पनि अमेरिकाले महामारीविरुद्ध चालेका नकारात्मक कदमले ६ लाख २० हजार अमेरिकीको मृत्यु भइसकेको छ ।

सो वार्तामा पनि अमेरिकालाई चीनले मानव अधिकार र प्रजातन्त्रको जवाफ पनि दिएको छ । स्येले भने ‘सबैभन्दा पहिले अमेरिकाले आफ्नो मानव अधिकार समस्याको समाधान गर्नुपर्छ ।’ उनले भने ‘इतिहासमा अमेरिकाले आदिवासीहरुको नरसंहार गरेको थियो । वर्तमानमा पनि अमेरिकाले महामारीविरुद्ध चालेका नकारात्मक कदमले ६ लाख २० हजार अमेरिकीको मृत्यु भइसकेको छ । अमेरिकाले विश्वमा झुटो लडाइँ चलाएर गम्भीर प्रकोप सिर्जना गरेको छ । यस्तो अवस्थामा पनि अमेरिकाले आफूलाई विश्वको प्रजातन्त्र र मानव अधिकारको प्रवक्ता भन्न अमेरिकासँग के योग्यता छ?’ प्रजातन्त्र र मानव अधिकारबारे चीनसँग छलफल गर्न अमेरिका योग्य नभएको पनि उनले औँल्याइदिए । पश्चिमा जनमत सर्वेक्षण उल्लेख गर्दै चीन सरकारप्रति चिनियाँ नागरिकको सन्तुष्टि ९० प्रतिशतभन्दा बढी रहेको पनि स्मरण गराए । केही समय अगाडि अमेरिकी हार्भड विश्वविद्यालयले गरेको सर्वेक्षणमा चीन सरकार र चिनियाँ कम्युनिष्ट पार्टीप्रति ९५ प्रतिशत चिनियाँ जनता सन्तुष्ट गरेको प्रतिवेदन सार्वजनिक भएको थियो ।

गत मार्च १९ तारिख सम्पन्न भएको चीन अमेरिका उच्चस्तरीय रणनीतिक वार्तामा पनि चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको वैदेशिक मामिला कार्यालयका प्रमुख याङ चेछले अमेरिकाको यसैगरी झाँको झारेका थिए । अमेरिकी समकक्षीलाई हाकाहाकी चुनौति दिएको भिडियो अहिले पनि युट्युबमा देख्न सकिन्छ । चिनियाँ नेता याङले वार्तामा बसेका अमेरिकी समकक्षी आन्टोनी ब्लिङकेनतिर औँला ठड्याउँदै भनेका थिए ‘अमेरिकासँग चीनका अगाडि बोल्ने कुनै योग्यता छैन । अहिले मात्र होइन २० अथवा ३० वर्ष अगाडि पनि अमेरिकासँग यस्तो योग्यता थिएन । यदि अमेरिका चीनसँग वार्ता गर्न चाहन्छ भने अमेरिकाले आवश्यक प्रोटोकल र अन्तर्राष्ट्रिय मान्यताहरुलाई अनुसरण गर्नुपर्छ ।’ सोही वार्तामा सहभागी पत्रकारलाई अमेरिकाले बस्न नदिएपछि चिनियाँ नेता याङले भनेका थिए ‘पत्रकार बस्ता के बिग्रन्छ । तपाईंहरु त मानव अधिकार र सूचनाको खेती गर्ने पक्ष होइन र? फेरि पत्रकारसँग अमेरिका किन डराउँछ ?’

थिआनचिनमा भएको चीन अमेरिकी उपविदेशमन्त्री भेट-वार्तामा अमेरिकाले संरक्षण गरिरहेको कथित नियममा आधारित अन्तर्राष्ट्रिय परिपाटी आफू र केही पश्चिमा मुलुक बीचको संगाति नियमहरूलाई अन्तर्राष्ट्रिय मापदण्डको रूपमा लान र अन्य मुलुकमाथि दबाव दिन प्रयोग गरिने भएको पनि चिनियाँ नेता स्येले बताए । अहिले अमेरिका सर्वत्र आलोचित र अलोकप्रिय बन्दै आएको छ । यस्तो अवस्थामा उसले आफ्नो गुमेको प्रभाव र स्वार्थका लागि कथित नियम र मापदण्डको भारी बोकाइ रहेको भन्दै स्येले अमेरिकी नीतिको कडा आलोचना गरेका छन् ।

द्वन्द्व अमेरिकाले चीनमाथि लागू गरिरहेको नीतिको वास्तविकता हो भन्दै सहयोगका नाममा वर्तमान समस्याको समाधान तरिका रहेको र प्रतिस्पर्धा शब्दजाल भएको उनले व्याख्या गरे ।

चीनमाथि अमेरिकाले केकस्तो नीति लिएको छ भन्ने कुरा पनि स्येले अमेरिकी समकक्षी शेर्मानलाई बुझाइदिएका छन् । अमेरिकाले प्रतिस्पर्धा, सहयोग र द्वन्द्व तीनवटा उपाय प्रयोग गर्दै चीनमाथि दबाव दिइरहेको प्रकाश पारिदिए । द्वन्द्व अमेरिकाले चीनमाथि लागू गरिरहेको नीतिको वास्तविकता हो भन्दै सहयोगका नाममा वर्तमान समस्याको समाधान तरिका रहेको र प्रतिस्पर्धा शब्दजाल भएको उनले व्याख्या गरे । अमेरिकाले चीनसँग आवश्यक पर्दा सहयोग माग्छ तर आफू माथि परेपछि आपूर्तिलाई बन्द गरी नाकाबन्दी लगाउने गर्छ । चीनलाई रोक्न अमेरिकाले द्वन्द्व उठाउँछ आफ्नो हितमा मात्र अमेरिका केन्द्रित भन्दै उनले अमेरिकी नीतिको जोडदार विरोध गरे । चीन-अमेरिका सम्बन्धमा अवरोध आउनुको मुख्य कारण केही अमेरिकीहरूले चीनलाई काल्पनिक शत्रु मानिरहेकोले हो भन्दै यस्तो भ्रम अमेरिकाले तुरुन्तै फाल्नु पर्ने आग्रह पनि गरे । अमेरिकाले चीनलाई काल्पनिक शत्रु बनाएर राष्ट्रिय उद्देश्य पुनर्स्थापन गर्दै आन्तरिक राजनीति, अर्थतन्त्र र समाजप्रति अमेरिकीहरूको असन्तोषलाई अन्यत्र मोड्न खोजिरहेको छ । यसको गहिरो लक्ष्य के हो भने अमेरिकामा विद्यमान अन्तर्विरोधका समस्यालाई चीनमाथि फ्याकिदिएर अमेरिकी राजनीतिज्ञहरु पानीमाथि ओभानो बन्न खोजिरहेका छन् ।

स्ये र शेर्मानबीचको वार्तामा चीनले उठाएका प्रश्नको जवाफ दिन अमेरिकालाई सजिलो छैन । अमेरिका दिनप्रतिदिन समस्यामा जेलिँदै आएको छ र ती समस्याबाट बच्नका लागि एकपछि अर्को झुटको सहारा लिँदै आएको छ । अब चीनले मात्र होइन अन्तर्राष्ट्रिय समाजले समेत अमेरिकामाथि औँला ठड्याउन थालेका छन् ।


चेतनाथ आचार्य
विश्लेषक, अनुसन्धाता, लेखक