निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जसपाको मान्यता


लेखक : लेखापढी      ११ श्रावण २०७८, सोमबार २०:५५ मा प्रकाशित     
निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जसपाको मान्यता

काठमाडौँ- निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा), नेपालको आधिकारिकता उपेन्द्र यादव नेतृत्वको खेमालाई दिने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताएका छन्।

निर्णयबारे उनले भने, “उपेन्द्र यादव पक्षमा बहुमत सदस्यहरू देखिएकाले उक्त समूहलाई दलको मान्यता दिइएको छ।”

पार्टी विवाद टुङ्ग्याउनका लागि आयोगले दुई दल एकीकरण भएको बेलाको ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिलाई सोमवार स्वयम् उपस्थित भई सनाखत गर्न भनेको थियो।

जसक्रममा ३४ सदस्यहरूले यादव पक्षमा र १६ जनाले महन्थ ठाकुरको पक्षमा आयोगमा उपस्थित भएर हस्ताक्षर गरेको र एकजना कुनै पनि पक्षमा नउभिएको प्रवक्ता श्रेष्ठले बताए।

“अर्को पक्षलाई छुट्टै राजनीतिक दल गठन गर्नका लागि आएमा दर्ता गरिदिने भन्ने छ।”

टीकापुर घटनामा दोषी ठहर भएर जन्मकैदको सजाय भोगिरहेका कैलाली जिल्लाको क्षेत्र नम्बर १ बाट निर्वाचित जसपाका सांसद रेशम चौधरी समेत सनाखत प्रक्रियाका लागि आयोग पुर्याइएको थियो। 

ठाकुर पक्षले के भन्यो?

सनाखत गर्ने क्रममा आयोग पुगेका ठाकुरपक्षीय नेता राजेन्द्र महतोले निर्णय अगावै ‘प्राविधिक विभाजनबाट आफूहरू बिचलित नहुने’ बताए पनि पछिल्लो घटनाक्रम ‘दुर्भाग्यपूर्ण अवस्था भएको’ प्रतिक्रिया दिएका छन्।

ठाकुर नेतृत्वको खेमाका नेताहरू समेत यादव पक्षमा गएको भन्दै पत्रकारहरूले प्रश्न गर्दा महतोले ‘पदरक्षा जस्ता बाध्यता’ भएको हुनसक्ने बताए।

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी, नेपाल २०७७ को वैशाखमै एक हुने निर्णय गरेर जसपा-नेपाल हुँदा उक्त दलमा महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्ष बनेका थिए।

यादवको आधिकारिकताको मागमा आयोगले सनाखत प्रक्रिया सार्वजनिक गरेपछि महन्थ ठाकुरले त्यो ‘सुनुवाईयोग्य नरहेको’ भन्दै सर्वोच्च अदालतबाट अन्तरिम आदेश माग गरेका थिए।

तर आइतवार सर्वोच्चले एक आदेशमार्फत् ‘साउन १५ मा दुवै पक्षका कुरा सुनेर मात्र अन्तरिम आदेश गर्ने/नगर्ने निर्णय गर्ने’ जनाएको थियो।

यस्तो छ विवादको शृङ्खला

निवर्तमान प्रधानमन्त्री केपी ओलीले गरेको संसद् विघटनको विषयदेखि उनको सरकारमा सहभागिता हुने क्रममा जसपा, नेपाल खुला रूपमै दुई खेमामा विभाजित भएको थियो।

ओलीले संसद्‌मा विश्वासको मत गुमाएको संसदीय मतदानमा जसपा, नेपालको महन्थ ठाकुरपक्ष तटस्थ रहेको थियो।

तर पछि संविधानको ७६ (५) अन्तर्गत प्रधानमन्त्री चयन गर्न राष्ट्रपतिद्वारा आह्वान हुँदा महन्थ ठाकुरले आफ्नो दलको समर्थन ओलीलाई रहेको पत्र बुझाएका थिए।

जसपा,नेपालकै अर्का अध्यक्ष उपेन्द्र यादवको खेमाका १२ सदस्यले भने शेरबहादुर देउवाका लागि समर्थन रहेको हस्ताक्षर पेस गरेका थिए।

उक्त दलको ठाकुर खेमा पछि ओली सरकारमा सहभागी भए पनि सर्वोच्चकै एक आदेशका कारण एक महिना पनि काम गर्न नपाईकन सत्ताबाट बाहिरिएको थियो।

पछिल्लो पटक शेरबहादुर देउवाले विश्वासको मत लिने क्रममा भने जसपा, नेपालका दुवै खेमाले उनको पक्षमा मतदान गरेका थिए।
-बिबिसी 

100% LikesVS
0% Dislikes
Spread Your Love !!!