जुम्ला सिंजा र राखू सिजां गाऊँको अन्तरसम्बन्ध


[ss_social_share]
लेखक : लेखापढी      ७ श्रावण २०७८, बिहीबार १७:२६ मा प्रकाशित     
जुम्ला सिंजा र राखू सिजां गाऊँको अन्तरसम्बन्ध

आज हाम्रो देशको समय परिस्थिती अनुसार अब हामी हाम्रा गाँउ ठाँउमा भएका ऐतिहासिक, पुरातात्विक धार्मीक स्थल हरुलाई संरक्षण गर्नु पर्दछ । यसको संरक्षणले हाम्रा इतिहासविद, पुरातत्वबिद समाजशास्त्री, मानवशास्त्रीहरुलाई पनि यसको अध्ययन गर्नका साथै हाम्रा भावी पुस्ताहरुलाई भोली यो ऐतिहासीक ठाँउको रुपमा परिचय गराउन पनि यो खोज तथा एक अध्ययनको विषय बनेको छ । हाम्रा यहाँ भएका यि ऐतिहासिक, पुरातात्विक धार्मीक एवं पर्यटकिय स्थलले यो एक ऐतिहासिक बोकेको ठाँउ हो भन्नेमा कुनै दुबिधा छैन । ब्रिटिश प्रोफेशर ट्वाइन वि. ले भनेका छनः सामाजिक इतिहास र साहित्य भनेका जुम्ल्याह दिदि बहिनी हून भनेर जसकारण पनि हाम्रो राखूमा धेरै सामाजिक इतिहास हरु छन । यही समाजिक इतिहासलाई केलाउँदा राखू जसको नाम “राखू” कसरी रहन गयो भन्ने विषयमा लोक कथा किंवदन्ती ,अनुश्रुतीहरु छन जस मध्ये यो जनश्रुतीे स्पष्ट्याइएको छ ।

पौराणिक कालका ऐतिहासिक राजा रघुगण (श्री रामका हजुरवुवा तथा अयोध्याका राजा दशरथका बाजे) आत्मज्ञान लिन पौल्सय ऋषिको आश्रम (रामायणका खलनायक रावणको बाजे) पुलामा जाँदा राजालाई बोकेको डोले मध्ये एक विरामी भई उक्त डोला बोक्न तपस्वी जडभरतले डोला बोक्नमा सहयोग गर्दा राजा रघुलाई आफ्नो डोला बोकाईमा केही अन्तर पाइ प्रश्न सोध्दा जडभरतले जमिनमा हिडेका किरा फट्याङ्गा मर्ने संभावना भएकाले ति किरा, फट्याङ्गालाई जोगाएर हिड्दा यस्तो असहज परिस्थिती आएको सरकार भन्दा राजा रघुलाई यस्तो महाज्ञानी सिद्ध पुरुष यही मेरा साथमा हुँदा हूदै म किन अन्यत्र ठाँउमा शिक्षा लिन जाने भनि डोला त्यही राख भनि उक्त डोला राखेको ठाँउ   “राख” बाट राखू बन्न गएको हो भन्ने जनमानसमा सदियौ देखी जनश्रुती आएको छ ।

राखू बाइसे चौविसे राज्य अगावै राखूमा भुरे टाकुरे राजा रजौटाले राज्य गरेको हो भन्ने हाल भएको विभिन्न भग्नावशेष बाट प्रमाणित हुन्छ ।

यो ठाँउमा राजा रघुले हिमालय पर्वत यी ठाँउमा राज्य गरेको हुँदा धौलागिरी हिमालबाट बग्ने अविरल नदि रंघुगंगा रघु राजाको नामबाट राखिएको हो । यो राखू पनि राजा रघुको राज्य अन्र्तगत पर्दथ्यो भन्ने जनश्रुती पाईन्छ ।

त्यस्तै हजारौ बर्ष पहिलोदेखी राखूमा राजाहरुले राज गरेको हुँदा “रा” को अर्थ (राजा) र “कु” विभक्ति (को) अर्थ देश भनिने भएकोले राकु बाट राखू भएको हुन सक्छ । राखू बाइसे चौविसे राज्य अगावै राखूमा भुरे टाकुरे राजा रजौटाले राज्य गरेको हो भन्ने हाल भएको विभिन्न भग्नावशेष बाट प्रमाणित हुन्छ ।

हल रहेको राखू भगवतिको मन्दिर बोक्ने भरियाले त्यो मन्दिर कहाँ राख्ने भन्दा यही ठाँउमा राख भनिएको कारण पनि मन्दिर राख भनिएको आधारमा राखू नामाकरण भएको हो भन्ने भनाई पनि छ ।

बिष्णु पुराण अनुसार: राजा भरत भगवानप्रति आशक्त भएपछि शालिग्राम क्षेत्रमा बसे । एकदिन उनी नदिमा स्नान गर्न जाँदा हरिण आफ्नो आक्रमणबाट बच्ने क्रममा खोला उर्फदा आफ्नो गर्भको बच्चा मृगलाई पाले पछि त्यो मृगको मायामा आशक्त भए । घर परिवार त्याग गरेका राजा भरत मृगको मायामा आशक्त भएपछि उनी फेरी जिम्बुमार्ग कालंजरपर्वतमा बनमा मृग भएर नै उनको अर्को जन्म भयो । उक्त मृग आफ्नो पुर्वजन्मको स्मरण गर्न लाग्यो । त्यही शालिग्राम क्षेत्रमा चरण गर्न लाग्यो । त्यही चरण गर्दा गर्दै त्यही उसको शरिर छोडेर सदाचर योगियोको पवित्र कुलमा त्यही क्षेत्रमा ब्राम्हणको रुपमा जन्म भयो । तिनै ब्रम्हाण सर्वविज्ञान सम्पन्न तथा सम्पुर्ण शास्त्रको ज्ञान भएका सर्वज्ञानी जडभरत थिए । जसको आश्राम म्याग्दी गलेश्वरमा छ भन्ने सामाजिक इतिहास छ ।

एक दिन सौवीरराजन कपिलमुनीको आश्रममा जाने विचार गरे त्यही जाने क्रममाका उनको पालकी बोक्ने मानिसमा एक जडभरत पनि थिए । उनको त्यो वेद ज्ञान महाज्ञानी सँग वार्तालाप गरेको पाईन्छ । ( विष्णुपुराण अध्याय १३।। १४)।

चन्द्र प्रकाश बानियाले नयाँ विकल्पमा लेख्नु भएको छ: श्रीमदभागवतमा “रहुगण राजा” को कथाप्रसंग उल्लेख भएको छ । कुनै पण्डित वा जोगी महात्माले रघुगंगा र राखु दुबैलाई रहुगण राजाको प्रसंगसँग जोडिदिएका होलान् । श्रीमदभागवत गंगाको मैदानतिर (भारतमा) कतै कथिएको गाथा हो । राजा रहुगणको कथालाई इतिहासले चिन्दैन ।

दग्नाम, दर्मिजा, चिम्खोला र बेगजस्ता मगरबस्तीहरुले तीनतिरबाट घेरिएको राखु एउटा “खसबस्ती” को रुपमा रहेको छ ।

उहाँले जोड दिनु भएको छ अब राखुको नाम कसरी जुर्यो होला त भन्ने स्वाभाविक जिज्ञासा उत्पन्न हुन्छ । दग्नाम, दर्मिजा, चिम्खोला र बेगजस्ता मगरबस्तीहरुले तीनतिरबाट घेरिएको राखु एउटा “खसबस्ती” को रुपमा रहेको छ । खसहरु यो ठाउँमा कहिले आए भन्ने कुराको यकिन तिथिमिति फेला पर्दैन । जुनबेला वेग, दग्नाम, दर्मिजा, चिम्खोलामा मगरबस्ती बसिसकेको थियो त्यतिबेलासम्म पनि राखु भने उजाड रहेको हुनुपर्छ । नयाँ जमिन (भर्खर पहिरो थामिएको) ठाउँ भएको हुनाले ठूलो जंगल पनि भरिएको थिएन होला । खरघाँस, उनिउपाती र ससाना पोथ्रा विरुवाहरुले ढाकिएको हुनाले फडानी गर्न पनि सजिलो भयो   होला । लेकदेखि बेँसीसम्म सिंगै पाटोमा आगो लगाएर एकैसाथ पोलिएको अर्थात “राख” पारिएको ठाउँले कालान्तरमा “राख” हुँदै “राखु” नाम पाएको हुनुपर्छ । “राखुका कटवालहरु जुम्लाबाट आई हालको “डाँडाबारी” भन्ने ठाउँमा बस्न थालेका हुन् भन्ने पुरानो कथन रहेको छ” भन्ने कथन पनि । यो कथा राखूको सामाजिक इतिहासमा यो लेखकले सुनेको छैन । कटुवालको वंशज हेर्दा पनि वि.स. १७०० शताव्दिको तिर हुन आँउछ । यो इतिहासले माथिको राख शव्द सँग सम्वन्ध राखेको देखिदैन । यो सामाजिक इतिहास त्यहाँ कतै पनि भेटिएको छैन ।

यो भन्दा अझ पहिलेको इतिहास छ जसले राखु प्रेदश भन्ने प्रख्यात नै भएको देखिन्छ । जुन राखूको नामाकरण तलको ताम्रपत्र नक्कलबाट पनि स्पष्ट हुन्छ ।

वि.स.१५२५ को एक पत्रमा राखू प्रदेशबाट कास्की जिल्लामा राजाको गूरु बनाउन दण्डपानी उपाध्यलाई ल्याइएको थियो ।
अछाम प्रदेशस्य आरुद्धाला विष्टवाडा स्नि विष्ट क्षत्रिया पून्बसन ।। ते च गार्हस्थ्यधर्माद शदिग्नाः मष्टो देवताया पुजनाथ ढंडार प्रदेशे आगतामा मष्टो देवताभिश्रच तेभ्य छार्काभोट त्रिपुराकोट लोभिन्ताङ्ग प्रदेशस्य राज्यदत्वा राजतिलकं विहितम् ।।
तैश्रच विष्ट नृपितिभि: कुशाभट्टस्य बंश्यान राजकुलगुरुन विधाय पुल्स्तयाश्रम समीपे राखूपुलानामकं स्थान वृत्तिरुपेणा दत्वा तत्रोस्थापिताः अत्र तेषमपि बंशावलि लिख्येते १. कुशाभट्ट भट्टचार्य …………..२९ श्री मद्कर्णाखरोपाध्याय भट्टचार्य

३५ श्री पध्मपाणीउपाध्ययो भट्टाचार्य ।। तथपञ्चत्रिशत्तभ पध्मपाणि: कास्की काश्यपकुटे प्रदेशस्य राज्ञो जगतिखानवर्म महाजस्य राज्यकाले राखू क्षेत्रात्र कास्की प्रदेशमागतः पध्मपाणो भ्र्राता इन्द्रमणिः सेन राजानां गुरुर्भुत्वा राखूप्रदेशत : गुल्मीप्रदेशस्य चन्द्रकोटस्थानेवृत्तिसप्राप्य तत्र निवास चकारे (सुवेदी राजाराम, २०६०)

वि.स. १४३४ मा कुशाभट्टका १९ पुस्ताका सन्तान कुन्दनभट्ट थिए । उनका भाई पर्वतका राजगुरु कर्णाखरभट्ट भए । तिनको पाचौ पुस्ताका सन्तान हेमन्तराज भट्टका जेठा छोरा पद्मपाणी जसलाई कुलमण्डन शाहको राजगुरु बनेका थिए । राखू प्रदेशमा वि.स. १४ सय शताव्दिको पुर्वाद्धमा शुवेदीहरु राखूमा बसोबास गरेका थिए । नेपालमा धेरै ठाँउमा छरिएर रहेका सुवेदीहरुको उद्गम स्थल राखू प्रदेश नै हो भनि सुवेदी वंशावलिमा लेखिएको छ ।

सिंजा र सिजाल गाँउको अन्तरसम्बन्ध

राखूको सिजालगाऊँ र जुम्ला सिंजाको धेरै नजिकको साइनो छ । सिंजा राजा जितारी मल्लले नेपाल मण्डलमा दुईचोटी आक्रमण गरेका थिए । उनले वि.स. १३४४, १३४५, १३४६ मा बर्सेनी नेपाल खाल्डोमा आक्रमण गरि उत्पात मच्चाएको र उनका छोरा आदित्य मल्लले वि.स १३८४ मा पनि नेपाल खाल्डामा हमला गर्दा पहिले नुवाकोट हमला गरेको हुनाले नुवाकोट भन्दा पछिको सबै भेग सबै सिंजाको अधीनस्त थियो भन्ने देखिन्छ । वि.स. १३७८ मा आदित्य मल्लले गोर्खाको अठार सय खोलाका साम्दुको ताघवाई गुम्बामा बस्ने लामाहरुको रक्षा र मान गर्न तथा वि.स. १३९४ को आदित्य मल्लले ताघवाई गुम्वा र त्यहाँँ बस्नेहरुको सुरक्षाको लागि आफ्ना भारदारहरुलाई आदेशपत्र लेखेबाट पनि यो थाहा हुन्छकी यो क्षेत्र सिंजा राज्यकोे अधिनमा थियो । जसकारण म्याग्दी राखू पनि सिंजा राज्यको अधिनमा थियो ।सिंजा राज्यको विशाल सेना क्रमश: जुम्ला, ठोरपाटन, सञ्जेल गाँउ, म्याग्दी, अठारसयखोला, गोरखा र नुवाकोट हुँदै काठमाडौं आएका थिए (सुवेदी राजाराम, २०५५) । यी क्षेत्र हुँदै आएका थिए भन्ने एकिन गर्न सकिन्छ ।

कर्णाली प्रदेशका अन्तिम मल्ल राजा अभय मल्लको शक्ति वि.स १४४८ सम्म म्याग्दीको सञ्जेलगाउँमा प्राप्त ताम्रपत्रबाट प्रमाणित हुन्छ ।

कर्णाली प्रदेशका अन्तिम मल्ल राजा अभय मल्लको शक्ति वि.स १४४८ सम्म म्याग्दीको सञ्जेलगाउँमा प्राप्त ताम्रपत्रबाट प्रमाणित हुन्छ । यसको ताम्रपत्र राजाराम सुवेदीले गुल्मीको ऐतिहासिक रुपमा नराखेता पनि यो गाऊँको इतिहास सँग यो समय मिल्न जान्छ । यस्तो सभ्यता बोकेको त्यो सिंजा गाँउ हाल आएर सिजाल गाँउ, सञ्जेल गाउँ र अहिले आएर स्याल गाँउ भनि नामाकारण भएको छ । मानिस अहिले स्यालहरु धेरै पाईने भएर स्याल गाउँ त भनिएको होइन भनि नजर अन्दाज पनि गर्ने गरेका छन । तर यहाँ एकिनका साथ भन्न सकिन्छ कि जुम्लाको सिँजा उपत्यकाबाट आएर बसेको बस्तीलाई वा गाउँलार्य सामाजिक चलन अनुसार सिंजाली हरु बसेको गाँउ सिँजा गाँउ, सिञ्जाली गाँउ भन्दा भन्दै सिजाल गाँउ भन्दा भन्दै हाल आएर स्याल गाँउ भनिएको हो ।

राखू सिजाल गाँउमा फेलापरेका बसनढुङ्गा धुपिचौर स्थित ठुलो ढुङ्गा अर्थात शिलालेखको द्रोस्रो हरफमा यस प्रकारको कवितात्मक वा गितात्मक शैली लेखिएको छ ।
पूर्व पर्यो घार पश्चिम पूल
दक्षिन मल्लाज राखूदेस मुल
ये के गते यो हो जेठ महिना
बिक्रम साल सात सये
वा क्षेत्री, कामी दमाई बसे  (पोखरेल बालकृष्ण, आर्य सनातन मस्ट )।

यो बालकृष्ण पोखरेलले आर्य सनातन मस्ट भन्ने प्रत्रिकाबाट साभार गरिएको हो । यसलाई विश्लेष्ण गर्दा त्यो कविताको हरफ सात सय सालमा भन्दा पनि सत्रसय साल भन्दा ठिक हुन्छ । यहाँको हाल भएका यि बंशावलीहरु तथा सबै जात जातिको अध्ययन अनुसार बिक्रम साल सात सय नभएर सत्र सय चाँही मिल्न जान्छ । तर यो जातजाति भन्दा त्यहाँ पहिले अन्य थर जाति भएको अनुमान गर्न सकिन्छ । तर अन्य जाति वि.स. १४०० भन्दा अघिपनि राखूमा बसोबास गरेको पनि हुन सक्दछ, यसको खोज अनुसन्धान हुन जरुरी छ ।

निष्कर्ष:
हाल आएर विभिन्न जात जातिहरुले बसोबास गरेको राखू प्रदेशमा ब्राम्हण, जैशी, मल्ल, शाही, रुचाल शाही, चन्द, सेन, सिंह, भण्डारी ,कटवाल, कार्की, नेवार, गुरुङ्ग, दमाई , कामी , सार्की साथै हाल आएर मगरहरु पनि यस ठाँउमा मिलिजुली, एक आपसमा सहयोगी भावना राखी बसेको पाईन्छ । आ—आफ्नो धर्म , सामाजिक रितिरिवाज अनुसार, मेलमिलापमा रहि सामाजिक, आर्थिक तथा सांस्कृतिकरुपमा मिलिजुली संचालन गरेको पाइन्छ । विस १९६३ को राखू महारानी गुठी, वोगटी पौवा स्थापना भएपछि धार्मिक, सामाजिक रुपमा राम्रो योगदान गरेको देखिन्छ । यसरी यो माथिको बिश्लेषणबाट के स्पष्ट हुन्छ भने राखूको नाम एक ऐतिहासिक आधारमा नामाकरण भएको हो भने वि.स. १४०० शताव्दि पछि जुम्ला सिंजा गाँउबाट आएको सभ्यता पनि जोडिएको छ ।


दलिपकुमार मल्ल, पिएचडि
सामाजिक मनोवैज्ञानिक, समाजशास्त्री
सामाजिक विकास तथा पुनर्वास विज्ञ
(dk_malla@yahoo.com)


सन्दर्भसाम्रागी सुची :
-नेपाल (यात्री), पूर्णप्रकाश, सिजाको ऐतिहासिक रूपरेखा, मञ्जरी पब्लिकेशन, पुतलीसडक, वि.स. २०७५ ।
-पन्त, दिनेशराज, गोरखाको इतिहास, तेस्रो भाग, दिनेशराज पन्त, वि.स. २०४५ ।
-पन्थी (पाण्डेय ), किरण, लिच्छवीहरूका नालिबेली, बिएन पुस्तक संसार प्रा.लि. अद्धैतमार्ग, काठमाडौं, वि.स. २०७४ ।
-सुवेदी, राजाराम, गुल्मीको ऐतिहासिक झलक, किरण पुस्तकालय, तम्घास, वि.स. २०५५ ।
-सिंह, सम्मर बहादुर, ऐतिहासिक राज्य मुसीकोट र सिंह ठकुरीको सक्षिप्त बंशावली, ठकुरी कला संस्कृति प्रतिष्ठान, वि.स. २०६९ ।
-सुवेदी, राजाराम, कास्की राज्यको इतिहास, विद्यार्थी पुस्तक भण्डार, भोेटाहिटी काठमाडौं, वि.स. २०६० ।
-श्रेष्ठ, टेक बहादुर, पर्वतराज्यको ऐतिहासिक रूपरेखा, नेपाल र एशियाली अनुसन्धान केन्द्र त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर, वि.स. २०५९ ।
-कैलाश ए जर्नल हिमालयन स्टिडिस, भोलम तीन, सन, १९७५ ।
-खस जातिको ईतिहास ( बर्ष कस्सेली पृष्ठ भुमिको विशेष परिप्रेक्ष्यमा) लेखक प्र. बालकृष्ण पोखरेल


100% LikesVS
0% Dislikes
Spread the love !
  • 466
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    466
    Shares