जुडोको ‘टिम म्यानेजर’ बनेर टोकियो ओलम्पिकमा बामदेब गौतम पत्नी तुलसा थापा


जुडोको ‘टिम म्यानेजर’ बनेर  टोकियो ओलम्पिकमा बामदेब गौतम पत्नी तुलसा थापा

काठमाडौँ- टोकियो ओलम्पिकमा नेपालले चार खेलमा पाँच खेलाडी उतार्दै छ । शुक्रबारदेखि सुरु हुने खेलमा नेपालबाट चार प्रशिक्षक पनि छन् । तर, व्यवस्थापकका नाममा १५ खेल पदाधिकारी टोकियो जाँदै छन् । त्यसरी जानेमा एमाले नेता वामदेव गौतमकी पत्नी तुलसा थापा पनि छिन् । सांसदसमेत रहेकी उनले जुडोको ‘टिम म्यानेजर’ बनेर टोकियो सयर गर्नेछिन् । 

नेपालले जुडोसँगै सुटिङ, पौडी र आर्चरीमा प्रतिस्पर्धा गर्दै छ । तर, टोकियो जानेमा युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र एनओसीका पदाधिकारी धेरै छन् । एनओसीबाट आठ, परिषद्बाट तीन र मन्त्रालयबाट सचिव केदार न्यौपाने टोकियो जाँदै छन् । उनी एनओसीको अट्याचीका रूपमा सहभागी हुनेछन् । 

तुलसा थापा नेपाल कबड्डी संघकी अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटी (एनओसी)की सचिव पनि हुन् । उनीसँगै जुडोको ‘टिम म्यानेजर’का रूपमा नेपाल तेक्वान्दो संघका अध्यक्ष तथा एनओसीका सदस्य प्रकाशशमशेर राणा पनि टोकियो जाँदै छन् । जब कि तेक्वान्दोमा नेपाल सहभागी नै छैन ।  राष्ट्रिय खेलकुद परिषद्का पूर्वउपाध्यक्ष तथा एमाले कार्यकर्ता पीताम्बर तिम्सिना एथलेटिक्सको टिम म्यानेजरका रूपमा टोकियो पुगेका छन् । एनओसीका सहमहासचिवसमेत रहेका उनी लामो समयदेखि अमेरिकामा बस्दै आएका थिए । त्यतैबाट उनी टोकियो पुग्नेछन् ।

ओलम्पिकमा सहभागी खेलाडी :
कल्पना परियार (सुटिङ), सोनिय भट्ट  (जुडो), सरस्वती चौधरी (एथलेटिक्स),  गौरिका सिंह (पौडी), एलेक्जान्डर गडिगाड शाह (पौडी)

प्रशिक्षक : असिम यादव (सुटिङ), सूर्यनारायण चौधरी (जुडो), इन्द्राकुमारी  मल्ल (एथलेटिक्स), शंकर कार्की (पौडी)

परिषद् स्रोतका अनुसार ओलम्पिक कमिटीले नै नेपाली टोलीका सेभ द मिसनसहित अन्य १४ जना पदाधिकारीको भ्रमण भत्ता निकासा गर्न निवेदन पेस गरेको छ । प्रत्येक पदाधिकारीको खर्च कम्तीमा सातदेखि नौ लाखसम्म हुने स्रोतको भनाइ छ । 

राष्ट्रिय खेलकुद कर्मचारी संघका अध्यक्ष रञ्जन थापाले राज्यको कोष दुरुपयोग गर्दै खेल पदाधिकारी टोकियो गइरहेको बताए । उनले १ साउनमा विज्ञप्ति जारी गर्दै पदाधिकारीका नाममा घुमफिरमा राज्यकोषको दोहन गर्ने कार्य गलत भएको बताएका छन् । ‘सम्बन्धित खेलका व्यक्ति चयन हुनुपर्ने र असम्बन्धित संघका पदाधिकारीलाई टिम म्यानेजरका रूपमा जापान पठाउनु निन्दनीय र घृणित कार्य हो,’ उनले भनेका छन् ।