प्रतिबन्धित रेडबुल बरामद


प्रतिबन्धित रेडबुल बरामद

काठमाडौँ- क्याफिनयुक्त शक्तिवर्द्धक पेय पदार्थको बिक्री-वितरण तथा कारोबार रोक लगाइएकोमा खुलेआम बिक्री भइरहेको पाइएपछि प्रहरीले बजारबाट रेडबुल बरामद गरेको हो।

२०७६ असार २ मा प्रकाशित राजपत्रमा क्याफिनयुक्त शक्तिवर्द्धक पेय पदार्थ बिक्री-वितरणमा रोक लगाइएको छ। अत्यधिक क्याफिनको मात्राले स्वास्थ्यमा गम्भीर असर गर्ने भएकोले नेपालमा रेडबुल प्रतिबन्ध लगाइएको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंको टोलीले मंगलबार न्युरोड, सिनामंगल, पुरानो बानेश्वर, कपन, गोठाटार लगायत क्षेत्रबाट २०२ कार्टुन रेडबुल बरामद गरेको हो।

अपराध अनुसन्धान कार्यालयका अनुसार कारोबारमा संलग्न चार जना व्यक्तिहरू पक्राउ परेका छन्।

पक्राउ पर्नेमा प्रणव स्टोर न्युरोडका सञ्चालक रविनराज श्रेष्ठ, बाँके कोहलपुर घर भई गोंगबु बस्ने राजु पौडेल, शक्तिमाता स्टोर कपनका सञ्चालक धनबहादुर श्रेष्ठ र सर्लाही हरिपुर नगरपालिका-१ घर भई हाल गोठाटार बसिरहेका वीरेन्द्र चौधरी छन्।

प्रारम्भिक अनुसन्धान अनुसार उक्त रेडबुल भारतबाट ल्याइने गरेको पाइएको छ। तराईका विभिन्न जिल्लाबाट भन्सार छलेर नेपाल भित्र्याउने र भ्यान तथा रात्रि बसबाट काठमाडौंसम्म ल्याउने गरेको पाइएको प्रवक्ता कोइरालाले बताए।