बीपी कोइराला सानो देशको ठूलो मान्छे : प्रधानमन्त्री देउवा


लेखक : लेखापढी      ६ श्रावण २०७८, बुधबार १४:२९ मा प्रकाशित     
बीपी कोइराला सानो देशको ठूलो मान्छे : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांंग्रेसका संस्थापक बीपी कोइरालालाई ‘सानो देशको ठूलो मान्छे’को उपमा दिएका छन् ।

बीपी कोइरालाको १०७औँ जन्मजयन्तीका सन्दर्भमा कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले गरेको अन्तक्रियामा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । 

“बीपी कोइरालालाई मैले सानो देशको ठूलो मान्छे भन्ने गरेको छु । त्यसैले हामीले बीपीका सामान्यभन्दा सामान्य कुराहरुसमेत ग्रासरुटका कार्यकर्तालाई पठाउन र बुझाउन सुरु गरेका छौँ,” कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले भने, “यही विचारबाट हाम्रो पार्टी अझ सशक्त र बलियो बन्नेछ भन्ने विश्वास गरेको छु ।”

उनले कथाकार, उपन्यासकार मात्र नभएर प्रजातन्त्रका लागि जीवन अर्पण गर्ने व्यक्तिका रुपमा बीपीको नाम अमर रहने बताए । “प्रजातन्त्रका लागि जीवन नै अर्पण गरेका व्यक्तिका प्रेरणाले नेपालको राजनीति सधैँ अघि बढिरहेको छ,” प्रधानमन्त्री देउवाले भने ।

देउवाले बीपीका भाषण मात्रै सुन्दा समेत धेरै पाठ सिक्न सकिन बताए । “उहाँले बोलेका भाषण मात्रै सुन्यौँ भने पनि हामीले धेरै पाठ सिक्न सक्छौँ र आफ्नो बाटो पत्ता लगाउन सक्छौँ,” देउवाले भने, “बीपी त्यस्तो व्यक्तित्व हो, जसको सम्झनाले मात्र पनि हाम्रो पार्टीले प्रेरणा प्राप्त गर्दछ ।”

उनले बीपी बहुआयामिक व्यक्तित्व भएको भन्दै उनको व्यक्तित्वको चर्चा मात्र गर्न पनि कठिन भएको बताए । “बीपीका विषयमा व्याख्या गर्नसमेत अप्ठेरो छ, सहित्यमा त्यस्तै छ, राजनीतिमा त्यस्तै छ । बीपी कोइरालाजस्तो अलराउन्डर व्यक्ति, नेपालको राजनीतिमा अर्को छैन । त्यसैले उहाँ नम्बर वान हुनुहुन्छ,” देउवाले भने, “समाजवादलाई व्याख्या गर्नेदेखि समाजवादी साहित्य लेख्नेसम्मका काम उहाँबाट भएका छन् ।”

100% LikesVS
0% Dislikes
Spread the love !