डा.गणेशकुमार पौडेलका दुई लघुकथा


लेखक : लेखापढी      ४ श्रावण २०७८, सोमबार १३:४५ मा प्रकाशित     
डा.गणेशकुमार पौडेलका दुई लघुकथा

आन्दोलन

हर्र्के, रामे र मदन तीन जना अति नै मिल्ने साथी थिए । जब जनआन्दोलन शुरु भयो, ती तिनै जना आन्दोलनमा लागे । हर्के र मदनभन्दा रामेले बढी बठयाइँ जानेको थियो र आन्दोलनको अगुवाई पनि उसैले गरेको थियो ।

आन्दोलनमा प्रहरीको गोली लागेर मदनको मृत्यु भयो । हर्केको हातखुट्टा भाँचिएर अपाङ्ग हुनुपर्यो र रामे भने भाग्न सफल भयो ।

मन्त्रीजीले हर्केलाई चिनेनन् किनभने हर्र्केजस्ता अपाङ्ग व्यक्ति अन्त पनि उनले देखेका थिए ।

सहिद पार्कमा बिहानैदेखि चहलपहल छ । मन्त्रीजीबाट सहिदको प्रतिमा माल्यार्र्पण गरी अबिरको टिका लगाई फूलको गुच्छा चढाउने कार्यक्रम भएकोले मान्छेको भीड लाग्नु स्वभाविकै हो । मन्त्रीजीले हर्केलाई चिनेनन् किनभने हर्र्केजस्ता अपाङ्ग व्यक्ति अन्त पनि उनले देखेका थिए । हर्के भने निराश भएर त्यहाँ उसले कविता सुनायो ।

आन्दोलनमा जो मर्छ
त्यो सहिद बन्दो रहेछ
आन्दोलनमा
जसको हातखुट्टा भाँचिन्छ
ऊ जिन्दगीभर
अपाङ्ग भई बस्नुपर्दो रहेछ
आन्दोलनमा जो भाग्छ
ऊचाहिँ नेता बन्दो रहेछ ।
किनभने त्यहाँ प्रतिमा मदनको थियो, मन्त्री रामे नै थिए ।

स्वच्छ छवि

नयाँ प्रमुख जिल्ला अधिकारी सरुवा भएर आएकै दिनमा सबै कार्यालय प्रमुखहरू जिल्ला प्रशासन कार्र्यालयमा गई स्वागत गरे ।

आफ्नो स्वागत मन्तव्यमा प्रमुख जिल्ला अधिकारीले भने, “म स्वच्छ छवि भएको मान्छे हुँ । मैले आफ्नो तलबभत्ता भन्दा अरु केही पनि आजसम्म लिएको छैन र भविष्यमा पनि लिने छैन । यदि कसैले लिएको थाहा पाएमा मैले त्यसको जागीर खाइदिन्छु ।”

प्रहरी प्रमुखले स्यालुट ठोकेर एउटा खाम दिएर भने–“यो हजुरको हिस्सा ।”

भोलिपल्ट बिहानै बिना हेलमेट निषेधित बाटोबाट एक मोटरसाइकल हिँडेको देखेर ट्राफिकले रोकी रुं पाँच सय लियो ।

प्रमुख जिल्ला अधिकारीलाई प्रहरी प्रमुखले स्यालुट ठोकेर एउटा खाम दिएर भने–“यो हजुरको हिस्सा ।”

खामभित्र रु. एक सय मात्र देखेर प्रमुख जिल्ला अधिकारीले भने, “पाँच सय तिर्ने म नै हुँ । मलाई किन यति मात्रै ।”

प्रहरी प्रमुखले भने, “हिसाब गर्नुस्, हजुरको भाग दुई सय एक मात्र हो ।”


डा. गणेशकुमार पौडेल
हेटौंडा, मकवानपुर


(डा. गणेशकुमार पौडेल हेटौंडा, मकवानपुर निवासी साहित्यकार हुनुहुन्छ । उहाँले आफ्नो जीवनको लामो समय स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सरकारी नोकरीमा व्यतित गर्नुभएको पाइन्छ । उहाँका स्वास्थ्य क्षेत्र र साहित्यसँग सम्बन्धित थुप्रै पुस्तक प्रकाशित छन् । यी लघुकथामा उहाँले नेपालको राजनीति एवम् प्रशासन क्षेत्रका विकृतिप्रति आलोचनात्मक चेतना प्रस्तुत गर्नुभएको छ ।)


यहाँहरुका लेख-रचनाहरु हामीलाई पठाउन सक्नुहुनेछ ! 
ईमेल- lekhapadhimedia@gmail.com

100% LikesVS
0% Dislikes