पराजित


[ss_social_share]
लेखक : लेखापढी      ३ श्रावण २०७८, आईतवार १३:३७ मा प्रकाशित     
पराजित

सेती अञ्चल अस्पतालको पहिलो ग्यालरीबाट भित्र पस्दा सोझै देखिने कुनाको सानो कोठा बेड नं. ११ म बिर्सन सक्दिनँ । यो कुरालाई मस्तिष्कबाट मेटाउने प्रयासहरू सबै विफल हुने गर्छन् । रेडियो सुन्छु । टी.भी.हेर्छु । घरको काममा व्यस्त हुन खोज्छु । कसै गरे पनि बिर्सन नसकी सोच्न विवश हुन्छु । जिन्दगीको दौडमा जीत–हार त भैरहन्छ । कहिले अनुकूल र कहिले प्रतिकूल समय आउँछन्, जान्छन् तर पुष्पाको बारेमा यथार्थ कुराहरू थाहा पाउँदा उनीचाहिँ जिन्दगीको दौडमा पराजित नै भएकी हुन् ।

अचानक उनी भएभरिको बल लगाएर बोलिन् “सुधा ! जिन्दगीको दौडमा म पराजित भएँ । तिमी किन अस्पताल आयौ ?

ओहो ! किन यी पुरुषहरू नारी सुन्दरतालाई भोग्यवस्तुको रूपमा मात्र हेर्छन् ? संसारमा जन्मेर जीवनको खेल शुरू भैसकेपछि उसैको नियममा चल्नुपर्ने हुन्छ तर आज म भावनाको गहिराइमा डुब्न चाहन्छु । एकान्तताले मानिसमा नकारात्मक प्रभाव पार्ने गर्छ भन्ने थाहा हुँदाहुँदै पनि एकान्तमा बस्न मन लाग्छ । अनि सम्झन्छु त्यो कहालीलाग्दो घटना ।

त्यस दिन कान दुखेकोले अस्पताल गएँ । चिनेकै डाक्टर र सानै समस्या भएकोले सरासर डाक्टरकोमा जान लाग्दा अनायास वेड न.११ को बिरामीमा दृष्टि पर्न गयो । एकछिन स्तब्ध भावले उभिएर हेरिरहेँ । आहा… उनै गाजल नलाएरै गाजल लाएझैँ देखिने ठूला–ठूला आँखामा ती लामा–लामा परेली, उस्तै मिलेका आँखीभौँ । सबै उस्तै थियो आज पनि । निर्मिमेष हेरिरहेँ । उनले आँखा चिम्लेकी हुँदा उठाउन सकिनँ । त्यतिबेला मेरो कान दुखाइको कुनै दुःख थिएन । म सरासर घर आएर आराम गर्न चाहन्थेँ । ढोकातिर फर्किनै लाग्दा उनले आँखा खोलेर हेरिन् र हेरेको हेर्यै भइन् । मेरो स्थिति पनि उनको भन्दा फरक थिएन । अचानक उनी भएभरिको बल लगाएर बोलिन् “सुधा ! जिन्दगीको दौडमा म पराजित भएँ । तिमी किन अस्पताल आयौ ? के छ खबर ? परिवारमा को–को छन् ? कहाँ–कहाँ छन् ? कति वर्षपछि भेट भयो हगि ?” जस्ता थुपै्र प्रश्न एकसाथ उत्तरै नपर्खेर गरिन् । बोल्दाबोल्दै उनको आवाज केही शिथिल भयो । उनी थाकेझँै भईन् । सास बढेर आयो ।

त्यसपछि मैले भनेँ—“पुष्पा तिमी यतिका वर्षसम्म कहाँ थियौ ? यो अवस्थामा यहाँ कसरी आइपुग्यौ ? मलाई पनि तिम्रो बारेमा धेरै कुरा थाहा पाउन मन छ र आफ्नो बारेमा पनि भन्न बाँकी छ । आज तिम्रो अवस्था राम्रो छैन । अलि सञ्चो लाग्नदेऊ । यहाँबाट डिस्चार्ज भएपछि मेरो घर जाउँला अनि कुरो गराैंला हुन्न ?” भन्दा उनको ओठमा अनौठो मुस्कान देखेर एकछिन त तर्सेँ पनि । त्यत्तिकैमा नर्स आएर “औषधि खायौ कि खाएनौ ?” भनी सोधी, रुखो र झर्किने पारामा । नर्सको यस्तो रुखो व्यवहार मलाई अत्यन्तै नमिठो लागिरहेको थियो ।

बाहिर निस्किँदा नर्सले मलाई पनि अर्कै तरिकाले हेरेझैँ लागेको थियो ।

‘पुष्पा म भोलि आउँला है !’ भन्दै म नर्स भएतिर गएँ र सोधेँ ‘तपाई किन बिरामीसँग झर्किनु भयो हँ ? बिरामीसँग त्यस्तो रुखो व्यवहार गर्नुपर्छ त ?’ मेरा यस्ता कुराले नर्सले मेरो नजिकै आएर सुस्तरी भनी ‘हजुरको आफ्नो मान्छे भएपनि अलि टाढैबाट वास्ता गर्नुहोला भन्ने सल्लाह दिन्छु’ अनि ऊ छिटोछिटो त्यहॉबाट हि‘डी । बोझिल र अशान्त मनस्थिति लिएर घर फर्कें । त्यो दिनभरि नै मन बेचैन भइरह्यो ।

आज उनको स्वास्थ्यमा केही सुधार भएको देखेर मैले भने,—“पुष्पा ! मेराे बारेमा मैले सबै कुरा भनिसकेँ तर तिमी त्यतिका वर्ष कहाँ वेपत्ता भयौ ?

श्रावणको महिना वर्षे विदा भएकोले विद्यालय जानु पर्दैनथ्यो । दिउँसोको समय फुर्सदमै बित्थ्यो तर त्यस दिनदेखि वेड नं. ११ को बिरामीलाई खाना लग्ने, भेट्ने दिनचर्या नै भैसकेको थियो । अरु दिनको भन्दा त्यस दिन उनको चेहरा केही उज्यालो देखेँ । सधैँ ढोकातिर एकोहोरो हेरेर पर्खिरहन्थेँ ती सुन्दर आँखाले मलाई । सधैँझैँ म भित्र पस्नासाथ आज पनि मुस्कुराएर उनले मलाई स्वागत गरिन् । आज उनको स्वास्थ्यमा केही सुधार भएको देखेर मैले भने,—“पुष्पा ! मेराे बारेमा मैले सबै कुरा भनिसकेँ तर तिमी त्यतिका वर्ष कहाँ वेपत्ता भयौ ? तिम्रो बारेमा अनेकथरि कुराहरू फैलिए, गाउँमा । तिम्रो पीरले छवि काकालाई फोक्सोको रोगले समातेर बित्नुभो । किरिया बसेकै बेला काकी पनि विषालु सर्पको टोकाइले बित्नुभो । आखिर तिम्रो जीवनमा के भयो यस्तो ? बोल्नसक्ने भए भन है !”

“सुधा ! तिमी पढ्न बाहिर गएपछि म तिम्रो घरमा गइरहन्थे । बुवा–आमाले पनि म तिम्रो साथी भएकोले धेरै माया गर्नुहुन्थ्यो । मचाहिँ अति इष्र्यालु स्वभावकी थिएँ भन्ने कुरा पछि थाहा पाएँ ।” भन्दै उनले लामो सुस्केरा हालिन् र अगाडि भनिन्,–“तिमीले कपडामा प्रेस लाएको देखेपछि मैले पनि भात पकाउने कसौडीमा आगो हालेर पुराना कपडामा प्रेस लाउनु पथ्र्याे । तिमीले जे गथ्र्यौ त्यस्तै मलाई पनि गर्नुपथ्र्यो । तिमीले दिएका पुराना कपडा लाएर पनि म तिमीभन्दा सयौँ गुना राम्री देखिन्छु जस्तो लाग्थ्यो । यो ईश्वरको म प्रतिको अन्याय हो सोचेर मनमनै कुडिइरहन्थेँ । त्यो एक दिन जसले मेरो जीवनमा अन्धकार ल्यायो र मलाई यहाँसम्म पुर्यायो । सुन ! झमझम पानी परिरहेको थियो । म र मेरा ४–५ जना साथीहरू जिब्रेको साग खोज्न जङ्गल गयौँ । साग टिप्दाटिप्दै हामीहरू जङ्गलभित्र छुट्टियौँ । घना जङ्गलभित्र ठूलो झरी र साथीसमेत छुट्टिँदा म आत्तिएर चिच्याएँ र बोलाएँ तर साथीहरूले सुनेनन् ।

मेरो सुन्दरताको बयान गर्दै सुखी जीवनको आशा दिलाउँदै उसले म सामु काठमाडाँै जाने प्रस्ताव राख्यो । मैले सहर्ष स्वीकार गरेँ ।

त्यत्तिकैमा काँधमा बन्दुक भिरेको ठिटो म भएतिर आयो र सोध्यो—“तिमी यत्रो घनघोर जङ्गलभित्र यस्तो खराब मौसममा के गर्दैछ्यौ ? डर पनि लाग्दैन ?” मैले आफ्ना साथीहरू छुटेको कुरो बताएपछि सहानुभूति देखाउँदै मेरो नजिक आयो । उसले रेनकोट लगाएको हुँदा लुगा ओभानो थियो । म भने पुरै भिजेको थिएँ । दुपट्टामा साग पोको पारेकी थिएँ । निथ्रुक्कै भिजेको शरीर र कसैको सामीप्यताले भित्रैसम्म हल्लाएको अनुभूति पहिलो पटक हुँदै थियो । त्यत्तिकैमा ऊ मेरो यति नजिक आइदियो कि उसको तातो–तातो सासले ममा एक प्रकारको नशा छाउँदै गयो । मेरो भिजेको शरीरबाट पानी पुछेको हल्का सम्झना छ । मेरो तन्द्रा टुट्दा ऊ अर्कोतिर फर्केर चुरोट तान्दै थियो । मेरो सुन्दरताको बयान गर्दै सुखी जीवनको आशा दिलाउँदै उसले म सामु काठमाडाँै जाने प्रस्ताव राख्यो । मैले सहर्ष स्वीकार गरेँ । पेशाले ऊ वनविभागमा रेञ्जर रहेछ । रात त्यहीँ नजिकैको गाउँमा बिताएर भोलिपल्ट हामी काठमाडौँका लागि हिँड्यौँ । बाटोभरि मेरो मन बा–आमा र गाउँको सम्झनाले अत्यन्तै उदास भइरह्यो ।”

“राति बुटवलमा बास बस्नुपर्यो । होटेलको एउटा कोठा देखाएर, खानपीनको व्यवस्था गरिदिएर आफू बाहिर गयो । अनिँदो र भोको थिएँ, मीठो खाना खाएपछि निदाएछु । शहरको वातावरणदेखि अनभिज्ञ मैले ढोकासमेत लगाएनछु । राति कोठामा पसेर भित्रबाट चुकुल लगाउँदा मेरो निद्रा खुल्यो । नशामा लट्ठ ऊ मतिर आयो । उसको मनशाय बुझेपछि मैले लाख विरोध गर्दा पनि केही लागेन । त्यो रात दोस्रोपटक मेरो आदर्शको बार भत्कियो । त्यसपछि काठमाडौँ शहरमा पुगेपछि त्यहाँको चमकदमक, ठिटा–ठिटीहरूको पहिरन, त्यहाँको खानपिन आदिमा आफ्नो अतीतको सिंगो पाटो बिर्सेर नयाँ जिन्दगी शुरू गरेँ । मलाई एउटा होटेलमा काममा लाइदिएर रेन्जर फर्कियो । मलाई अब कुनै अभिभावकको आवश्यकता थिएन । होटेलमा केही महिना काम गरेपछि मलाई त्यहाँ पनि बस्न मन लागेन । आफ्नो नाम परिवर्तन गरी पल्लवी भएर कोठा लिएर बस्न थालेँ । घरबेटीले मागेकोभन्दा दोब्बर भाडा तिरेकाले रातविरात आए पनि उनीहरु केही भन्दैनथे ।”

भौतिक सुविधा यति विधि हुँदा पनि कहिलेकहीँ आफ्नो घर, बा–आमाको असाध्यै याद आउँथ्यो ।

“मलाई धनी बाउकी छोरी भनेर चिन्थे तर मेरो संसार अर्कै थियो । सुइय…..गाडी लिएर कहिले स्वदेशी कहिले विदेशी आउँथे, लिएर जान्थे । नयाँ–नयाँ महङ्गा होटेलमा लगेर सक्दो मनोमानी गर्थें अनि कोठामा छोडेर जान्थेँ । त्यसपछि मैले आफ्नै गाडी किनेँ । पैसाको कुनै कमी थिएन, हिसाबकिताबै थिएन । भौतिक सुविधा यति विधि हुँदा पनि कहिलेकहीँ आफ्नो घर, बा–आमाको असाध्यै याद आउँथ्यो । त्यतिखेर एक/दुई प्याग लिएपछि त्यसबाट पनि छुट्कारा पाइन्थ्यो ।” यति भन्दै पुष्पाले लामो सास फेरिन् । मलाई भने उनका कुराले चिटचिट पसिना आइरहेको थियो । उनी बोल्दै गइन्, एक दिन मलाई धेरै ज्वरो आयो । साधारण औषधिले कुनै असर गरिरहेको थिएन । मलाई गाउँको झोपडीघर, आमाको काख, बुवाको स्नेहपूर्ण स्पर्श क्रमशः एकपछि अर्को सम्झनामा आउँदै रहे । आँखाबाट साउने झरीझैँ बलिन्द्र आँसु झरिरहे ।”

“धेरै दिनसम्म औषधिले काम नगरेपछि अस्पतालमा गएर स्वास्थ्य जाँच गराउने क्रममा रगत परीक्षण गराउँदा H.I.V. Positive देखियो । त्यसदिन मेरो भावना र चाहनाको पर्खाल गल्र्यामगुर्लुम ढल्यो । त्यसदिन त्यो अथाह पैसा ती नयाँ डिजाइनका कपडा, गाडी, सबै वस्तुप्रति वितृष्णा जागेर आयो । त्यसपछि आउने ग्राहकहरूलाई मैले आफ्नो विरामीबारे नढाँटी यथार्थ बताइदिने गर्थें । मलाई आफू बॉच्नुको कुनै औचित्य नभएको लाग्न थाल्यो । केही खर्च आफूसँग राखेर बाँकी पैसा अनाथाश्रमलाई दान दिएँ । गाडी थोरै मोलमा घरबेटीलाई दिएँ । एकपटक घर पुग्ने र त्यहीँ मर्ने इच्छा थियो । हिँड्दाहिँड्दै गाडी बाटोमा जाममा परेछ । म त्यहीँ बेहोस भइछु । यता आउने सरकारी गाडीमा हालेर यो सेती अञ्चल अस्पतालमा ल्याइएछ । यो मेरो अवस्था तिमी देखिरहेकी छौ । हो सुधा भौतिक सुविधामा सुख रहेनछ भन्ने तब थाहा पाएँ जब आफ्नो सर्वस्व गुमाइसकेकी थिएँ । घरको खबर तिमीबाट थाहा पाइसकेँ अब त्यहाँ जानलाई बाँकी के नै छ र ?” यति भन्दै उनले अर्कोतिर फर्केर आँखा चिम्लिन् । मलाई पनि घेरै ढिलो भैसकेको थियो । “पुष्पा ! भोलि आउँदा के खानेकुरा लिएर आउँला ?” भनी सोधेँ ।

उनले भनिन्—“सुधा ! म तृप्त भएँ । आज मन पनि हलुको छ । तिमी आउनु मात्रै । ल्याउनै पर्ने भए थोरै आलुको अचार र खिर लिएर आउनु !”

तिनताक मेरो मनस्थिति अशान्त थियो । पुष्पाको सम्पूर्ण कहानी सुनेपछि उनीप्रति दया, रिस, माया के–के हुन्थ्यो हुन्थ्यो । घरको काम भ्याएर दिउँसो १ः३० बजेको समय हुँदो हो, अस्पतालमा गएँ । अस्पतालको गेटमा नगरपालिकाको गाडी र बिरामी कुरुवाहरूले गर्दा भीडजस्तो देखिएको थियो । त्यसैले म जनस्वास्थ्यतिरको सानो गेटबाट भित्र पसेँ र सरासर बेड नं. ११ मा पुगेँ । सधैँझै आँखा ओछ्याएर मेरो बाटो हेर्दै होलिन् जस्तो लाग्दै थियो, तर कोठामा लागेको ताल्चाले एकछिन स्तब्ध बनायो । आत्तिएर नर्सलाई सोध्दा थाहा भयो कि पल्लवी त हिजो राति नै प्राणमुक्त भइछन् । नर्सले भनिन्—“राति के–के बडबडाउँदै थिइन् कुन्नि ? सुधा खाना के ल्यायौ, खान्छु भनेको मात्र बुझेँ । त्यसपछि बोली बन्द भयो । अहिले नगरपालिकाको गाडीले लास लग्दैछ ।”

दौडेर बाहिर आएँ र टाढैबाट देखेँ, उनका ती खुलेका आँखाले शायद मेरो बाटो हेर्दै थिए । लगेको आलुको अचार र खिर त्यही गाडीमा राख्न लगाएँ । पुष्पाको अन्तिम यात्रालाई आफ्ना आँसुले बिदा गरेर बोझिलो मनस्थिति लिई घर फर्कें । आज पनि मलाई पूरा दोष पुष्पालाई मात्रै दिन मन लाग्दैन । यो धनी र गरीबबीचको खाल्टो नपुरेसम्म यस्ता महत्वाकाङ्क्षी पुष्पाहरू नजन्मेलान् अनि यस्ता भयंकर रोगको शिकार भएर घृणित जीवन बाँच्न बाध्य नहोलान् भन्न सकिन्न ।


हेमन्ती जोशी
धनगढी, कैलाली


(हेमन्ती जोशीको बसोबास धनगढी, कैलालीमा रहेको छ । उनका दुर्ई कथा कृृति प्रकाशित छन् । यस कथामा उनले एक नारीको जीवनको महत्वाकांक्षा र त्यसले उत्पन्न गरेको कारुणिकतालाई प्रस्तुत गरेकी छिन् ।)


यहाँहरुका लेख-रचनाहरु हामीलाई पठाउन सक्नुहुनेछ ! 
ईमेल- lekhapadhimedia@gmail.com

100% LikesVS
0% Dislikes
Spread the love !
  • 349
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    349
    Shares