विष्णुप्रसाद उप्रेतीका कोरोनाकालीन दुई लघुकथा
“साहुजी ! ए साहुजी ।” भन्दै बाहिर कसैले कराएको आवाजले पसलेले अलिकति झयाल खोल्दै भने “किन, के चाहियो ?”
“एक पोको नुन दिनु न ।” उसले नुन माग्यो । पसलेले नुनको एक पाकेट दिदै भन्यो “रु पचास पर्छ ।”
ग्राहक झस्क्यो “किन यति धेरै ?”
“के गर्नु हजुर । लकडाउन कडा छ । होलसेलमै महंगो छ । मेरो त रु पाँच मात्र ।”
एक छिनमा, अर्की महिला आएर तेल मागिन् । साहुले पुरानै जवाफ दियो “तेलको रु तीन सय पर्छ । के गर्नु हजुर । लकडाउन कडा छ, होलसेलमै महंगो छ ।”
महिला पैसा बुझाएर नबोलेर गईन् ।
एवम् प्रकारले दिनभरि ग्राकहरू आइरहे । साहुले एउटै बोली बोलिरह्यो । तीन गुणासम्म बढीमा बेचिरह्यो । लाचार मानिसहरू मागे जति तिरेरै फर्किरहे ।
साहुजीले मूल्यसूची देखाउदै भन्यो “मरि जाऊँ हजुर यो भन्दा बढि लिनै मिल्दैन । लकडाउन कडा छ ।
चार बजेतिर कसैले सम्बन्धि ठाउँमा कुरा पुर्यायो । चार जनाको टोली, अनुगमनमा आयो । पसलमा आएर अनुगमन टोलीले सोधखोज गर्यो ।
साहुजीले मूल्यसूची देखाउदै भन्यो “मरि जाऊँ हजुर यो भन्दा बढि लिनै मिल्दैन । लकडाउन कडा छ ।
अनुगमन टोलीले एक छिन मुखामुख गरे । साङ्केतिक भाषा बोले । पाँच ओटा हात्तीहरू गल्लाबाट बाहिरिए र सरासर अनुगमन टोलीतिर हानिए । एकैछिनमा कता हराए ।
टोलीका सबै सदस्यको, अनुहारको रुपमा परिवर्तन आयो । साहुजीले पुनः अगाडिकै भाषामा बोल्यो, “के गर्नु हजुर । लकडाउन कडा छ ।”
श्रीमतीले सारै कर गरेपछि मैले बाध्य भएर फलफुल लिन बजार जानुपर्ने भयो । श्रीमतीको आदेश राजा, महाराजा, सेनापतिले त नमानेर धर छैन । म जाबो सेबानिवृत शिक्षक ।
डिटोल साबुनले मज्जाले हात धोएँ, उत्कृष्ट सेनिटाइजरले बेस्सरी हात मसारें । दुईटा माक्स विधि पुर्याएर लाएँ । सामाजिक दुरी कायम गरेर छेउको बाटोबाट फलफूल पसल पुगेर आदेश बमोजिम फलफुल किनेर हजारको नोट फलफुल माथि राखेर सामानको पोको बोकी घर आएर श्रीमतीको अगाडि झोला बिसाएँ । श्रीमती मुसुक्क हाँसिन् । म फुरुक्क भएँ ।
रातिदेखि हन्हनी ज्वरो आउन थाल्यो । मर्ने गरेर टाउको दुख्यो । स्वास फेर्न पनि गाह्र्रो भयो । उठेर बस्दा पनि हुँदैन, सुत्न पनि हुँदैन् ।
सबै परिवारले मलाई टोस्न थाले । छोराले त आमालाई, बुबाको छेउमा नजानु भन्दै सचेत गरायो । बुहारी कोठैमा पसिन्, छोरी ढोकैबाट कराउन थाली , खुब जान्ने भएर बजारबजार कुदनुपर्ने हाम्रा बालाई । अब सबैलाई सर्छ । को को मरिने हो ।
बिचरा बुढी खिन्न मन लाएर टाढैबाट बेसार पानी, गुर्जोपानी राखिदिन थालिन् ।
दुई दिनपछि म एक्लै टेष्ट गराउन गएँ । निकै कमजोर भएको अनुभव भयो । समयमा रिपोर्ट आयो तर नेगेटिभ ।
मेरो खुसीको सिमा रहेन् । सबै बिमार सञ्चो भयो ।
घरमा आएर ठुलो स्वरले कराएँ “सबै ज्वरो रुघाखोकी कोरोना हुँदैन । कसैलाई समस्या भए घृणा हैन, माया गरौँ ।”
विष्णुप्रसाद उप्रेती
बिर्तामोड, झापा
(विष्णुप्रसाद उप्रेतीको बसोबास बिर्तामोड, झापामा रहेको छ । उहाँ सेवानिवृत्त शिक्षक हुनुहुन्छ । हाल लघुकथा लेखनमा सक्रिय विष्णुले यी लघुकथामा कोरोनाकालीन जीवनका अनभूतिलाई कलात्मक तरिकाले प्रस्तुत गर्नुभएको छ ।)