जनकपुर-जयनगर रेल्वे ट्रयाकको परीक्षण सफल


जनकपुर-जयनगर रेल्वे ट्रयाकको परीक्षण सफल

जनकपुरधाम । लिक बनाएको दुई वर्षपछि जनकपुर-जयनगर रेल्वे खण्डको ट्रयाकको परीक्षण गरिएको छ । भारतीय रेल ल्याएर ट्रयाकको परीक्षण गरिएको हो ।

आइतबार भारतको जयनगरदेखि धनुषाको कुर्थासम्मको ३४ किलोमिटर रुटमा भारतीय रेल ल्याएर ट्रयाकको परीक्षण गरिएको छ । नेपालले गत वर्ष खरीद गरेर ल्याएको रेलले नै ट्रयाक परीक्षण गर्ने बताइएको थियो । तर, भारतीय रेल ल्याएर परीक्षण गरिएको हो ।

ट्रयाक परीक्षण गर्दा १२० किलोमिटर प्रति घण्टा दौड्ने भनिएपनि गति कमै देखिएको स्थानीयले बताएका छन् ।

ट्रयाक परीक्षण सफल भएको रेल्बे साइट इन्जिनियर बिनोल ओझाले बताए । ‘टेक्निकली ट्रयाक ठीक छ । अब रेल गुडाउन सकिन्छ’ उनले भने ।

आफ्नो रेल हुँदाहुँदै परीक्षणका लागि भारतीय रेल किन ल्याइएको ? भन्ने जिज्ञासामा ओझाले परीक्षणका लागि छुट्टै यान हुने भएकाले भारतीय रेल नै ल्याएर परीक्षण गरिएको बताए ।

भारतीय रेल ट्रयाकबाट गुड्दा पनि जनकपुरधाम रेल्वे स्टेशनसहित विभिन्न ठाउँमा हेर्ने स्थानीयको भीड लागेको थियो ।

नेपाल सरकारले गत बर्ष रु ८४ करोड ६५ लाखमा खरीद गरेको दुई वटा रेल गत वर्षको असोजदेखि धनुषाको इनर्वा स्टेशनमा त्रिपालले ढाकेर राखिएको छ । रेल कहिले संचालनमा आउने भन्ने कुराको यकीन हुन सकेको छैन् ।
-अनलाइनखबर बाट