तीजको नाच


लेखक : लेखापढी      २ श्रावण २०७८, शनिबार १२:२६ मा प्रकाशित     
तीजको नाच

–‘आज काँइली ठकुरानी किन नाचिनन् ?’
भीडबाट एउटा पाको मान्छेको आवाज आयो । उक्त आवाज गुन्जिने बित्तिकै तीजको नाच हेर्न भेला भएका सारा मान्छेका नजर काँइली ठकुरानीतिर तेर्सिए ।

–‘.. ए ! हो त ! किन नाचिनौ काँइली ?’ अर्को आवाज गुन्जियो ।

उनको नाचसँग परिचित अनुहारहरू ‘ठकुरानीको नाच हेर्न पाइनेभो’ भन्दै मुस्कुराउन थाले भने उनको नाच नदेखेका नयाँ मान्छेहरू मनमा कौतुहलताको भकारो भर्न थाले...
उनको नाचसँग परिचित अनुहारहरू ‘ठकुरानीको नाच हेर्न पाइनेभो’ भन्दै मुस्कुराउन थाले भने उनको नाच नदेखेका नयाँ मान्छेहरू मनमा कौतुहलताको भकारो भर्न थाले ।

–‘काँइली बज्यैले ननाचे त तीजै खल्लो पो लाग्छ त भाइ ! ल, उठ त बजै !’
यौटी मंगोलियन कदकी तरूनी ठकुरानीको पाखुरा तान्न थाली । उनको नाचसँग परिचित अनुहारहरू ‘ठकुरानीको नाच हेर्न पाइनेभो’ भन्दै मुस्कुराउन थाले भने उनको नाच नदेखेका नयाँ मान्छेहरू मनमा कौतुहलताको भकारो भर्न थाले । तर ठकुरानीले साह्रै हठ गरिन्, नाच्नै मानिनन् ।

–‘काँइली बजैलाई रक्सी पुगेन की क्या हो यसपाली ?’ भीडबाटै एउटा पुरूष आवाज गुन्जियो ।
–‘ए ! हो त , आज रक्सी खाइनौ आमै ?’ अर्की मंगोलियन अधबैशे बोलिन् –‘खाइनन् ए कान्छी, आज आमैले रक्सी खाइनन् ?’ भीडकै एक अर्की आइमाईतिरको संकेत थियो ।

–‘अँ, आज मुमाले रक्सी खाइस्या छैन ।’ ठकुरानीकी कान्छी बुहारीको जवाफ थियो त्यो शायद ।
–‘हत्तेरी ! आज तीजको दिन, रमाउनुपर्ने, नाच्नुपर्ने, आजै किन रक्सी नखाको त नी ? ..ल जाओ त, कोइ पर भट्टीबाट रक्सी लाइकन आओ त .!’
दुईटी तरूनी रक्सी लिन नजिकैको भट्टीतिर हिँडे ।
–‘अलि राम्रो ल्याउनु है, जसोतसो नल्याउनु ..!’
ठकुरानीले ननाची धर नपाउने भइन् । चारैतिर हेरिन, सारा मानिसहरू उनकै नाचको प्रतिक्षामा बसेझैं अनुभव गरिन् । छिन्मै रक्सी पनि उनको हातैमा थमाइयो । उनले फेरि चारैतिर हेरिन् । अलि अप्ठेरो मानिछन् क्या हो, रक्सी इन्कार गरिन् ।

मगरहरूका थुप्रै तरूनीहरू, अधबैशे, बुढी समेत रक्सी पिउँदै नाच्दै गर्दै थिए, तर ठकुरानीले पिउन असहज महसुस गरिन् ।

–‘यतिका मान्छेको बीचमा कसरी खानु, म त खान्न है ..!’
हुन त त्यहाँ उनीमात्रै थिइनन् रक्सी खाने । मगरका थुप्रै तरूनीहरू, अधबैशे, बुढीसमेत रक्सी पिउँदै नाच्दै गर्दै थिए, तर ठकुरानीले पिउन असहज महसुस गरिन् । एक अधबैशे महिलाले ठकुरानीसँग कुन्नी के कानेखुसी गरिन, दुवै जना उठे र सरासर गएर भट्टीभित्र छिरे ।

–‘के को मासु राखम् बजै ? बुँगुरको पनि छ, कुखुराको पनि छ, बदेलको पनि छ ..! अनि, तामाको चटनी पनि छ । अनि, अर्नी चैं के को चाइने हो नि ?’
होचो कद, चिम्सा आँखा र चुच्चो नाक भएको भट्टीवाला सोध्न थाल्यो ।

–‘अरे ! कान्छा, आज तीजको दिन, जसोतसो के खानु राम्रै ल्याउनु के छ, अन्नको रस छैन ? असली ल्याउ है !’ ठकुरानीसँगकी अर्की आइमाईले खानपानको मेनु सुझाइन् ।
–‘गँहुको पनि छ, चामलको पनि छ ..! कोदोको थोरै छ, साह्रै कडा ! कस छ असली । जे मर्जी हुन्छ ..।’
–‘आज त असली नै चाइन्छ है ! ल्याउ न, बदेलकै चट्नी ल्याउ, कस ल्याऊ ! कोदोको चैं नलिम् आज । नाच्नु छ बेस्कन । त्यल्ले त सुताइ पो देलाकी ? पैंसा चैं पछि नै पाइन्छ है कान्छा ..!’

–‘ल ! काँइली बजैलाई पनि म पैसाको विश्वास नगरम्ला र ? खानु राम्ररी, तीज मनाउनु ..। छोरा जागिरे छदैछन, बजैलाई के को चिन्ता नि ?’ भट्टीवाला मुस्कुराउँदै बोल्यो ।
एक बोत्तल असली कस, दुई प्लेटमा बदेलको मासु र दुई गिलास राख्यो भट्टीवालाले । मासुका टुक्रासँगै रक्सीका गिलास मुखमा लगाउन थाले दुईटी महिलाहरू ।

–‘कस त सारै कडा रैछ ए कान्छा !’
–‘आज तीजको दिन पनि जसोतसो के बनाउनु बजै ! फेरी जसोतसो पिलाए हजुर नाच्दै ननाच्ने ! हा हा हा हाहा ..!
–‘अनि, बनेल चैं कस्ले ल्याएछ नि ?’
–‘बाबै जानुभाथ्यो हिजो जंगलतिर कता भेट्टाउनु भएछ, कुन्नि ! बन्दुक पड्केको आवाज त तलै दमारतिर सुनियाथ्यो..।’
–‘तिम्रा बाबैले पनि जंगलका मृग सखापै पारे लौ ! केई बाँकी राखेनन्, हा हा ..!’
–‘के गर्नु बजै, गुजाराको बाटो यै छ, यस्तो नगरे चुलोमा आगो बल्दैन ..। यो जातको न कमाई खाने बारी न सरकारको जागिर ..।’

–‘ए कान्छा, एक बोत्तल ल्याऊ त अझै ! खान थालेपछी अलिअलिले त मनै मान्दैन ..।’
कान्छाले थप्यो एक बोत्तल ।
–‘तामाको चटनी छ, ल्याउँ बजै ?’
–‘नाइ कान्छा, ऐले नखाऊँ क्या हो, आज पाँच दिन भैसक्यो घरमा पनि तामाकै चटनी चल्या छ, बरू यसमै थपथाप गर ।’
०००
–‘ल ठिटी हो, राम्रो सँग गाऊ है ! मादल बजाउने को हो यो लिखुरे ? राम्रोसँग ठटाउ है ..।’ होस गुमाएर जोश बटुलेर झुल्किन् ठकुरानी भीडको माझैमा । उमङ्गका ताली बजे भीडमा ।
‘कता गयो न्याउली चरी देखिदैन बनमा
बरीलै, पर्यो क्यारे रनैमा …।’

नाच्नु, गाउनु, नाच हेर्नु, तरूनी–तन्नेरी हेर्नु, व्यक्तिपिच्छे उद्देश्य फरक होउन् तर यी सबै उद्देश्यको परिपुर्ति गर्न, सबैका लागि एउटा मीठो संयोग यो दिन बनेको थियो ।
मादलको ताल जोरजोरले घन्किन्छ । मादलको तालसँग एक हूल तरूनीहरू सूर र स्वर गुञ्जाउन मस्त छन् । सूरतालसँगै आफ्नो कलात्मक नृत्य नाच्दैछिन्–ठकुरानी, उनलाई साथ दिँदैथिए उनकै उमेरकी अरू दुइचार आइमाई । त्यसबाहेक अरू तरूनीहरू पनि कम्मर मर्काउन व्यस्त थिए । भीड बढ्दै थियो । अझैँ गाउँतिरबाट मान्छेहरू आउने क्रम जारी थियो । जोश बढ्दै थियो भीडमा । सबैजना कुनै न कुनै तरिकाले आ–आफ्ना कला देखाउन र पहिचान स्थापित गर्न लालायित थिए । सबैले केही न केही सम्झना छोड्नुथियो, केही न केही जोड्नु थियो मान्छेलाई । के ठिटाठिटी, के तरूनी–तन्नेरी, के युवायुवती, के बृद्धबृद्धा । सबैका मुखमा रक्सीको सुगन्ध मौलाइरहेको आभास हुन्थ्यो । केही त चुर्लुम्मै डुबेका थिए नशामा । कत्तिका हातमै जाँडका घ्याम्पा र रक्सीका बोत्तल देखिन्थे । नाच्नु, गाउनु, नाच हेर्नु, तरूनी–तन्नेरी हेर्नु, व्यक्तिपिच्छे उद्देश्य फरक होउन् तर यी सबै उद्देश्यको परिपुर्ति गर्न, सबैका लागि एउटा मीठो संयोग यो दिन बनेको थियो । अझ बर्षभरिमा एकपल्ट आउने यो दिनमा बर्षभरका दुःख कष्ट बिर्सेर रमाइलो गर्नु त सबैको साझा उद्देश्य हो । त्यसैले त सबैले हृदयका दुःखका पहाड र अभावका दह छिचोलेर हँसिला देखिन्थे, फुर्तिला देखिन्थे ।

ठकुरानी नाच्दै थिइन माझमा । तिनलाई अरू अधवैँसे, युवायुवती, ठिटाठिटी साथ दिँदै थिए । केही जिउ हल्लाउँदै, केही ताली पड्काउँदै । बुढापाकाहरू टिकाटिप्पणी गर्दै थिए ठकुरानीका बारेमा ।

–‘जेठा ठकुरीले पटक्कै राम्रो काम गरेका हैनन् है, बिहे गर्ने बेलामा सातसातवटा बिहे गरे । बिहे गर्दै, सन्तान जन्माउँदै छोड्दै गरे सबैलाई । सहारा दिएनन् कसैलाइ ..। कान्छीलाई त देउतै मानेर राखेकाथे, कुन्नि ! के रूचाइनन् कान्छीले ! दुई वर्षमै छोडेर अन्तै गइहालीन । एक त तरूनी, खाइलाग्दी मगरकी छोरी, बर्ष नाघेको ठकुरीसँग के अरी बस्ती हो त..। उमेर ढल्यो, बिचरा के गरोस् ! ठाइलीसँग टाँस्सिएर बसेका छन् ..।’

–‘..काँइलीलाई त दिनुसम्म दःख दिएका हुन् । एकपल्ट त गोली नै हान्याथे ! धन्न बाँचिन्, बिचरी ।’
–‘दुइटा छोरा, एउटी छोरी हुन काँइलीबाट, छोरा लाइक लागे, आर्मीमा छन दुवै । छोरी चैँ पोहोर मेला हेर्न गकी पारी सुर्खेत । उतैबाट कौना ठिटोसँग साथै लागेर गई । उमर चढेकी छोरी, क्याअरी बस्ति हो त माइतैमा ..!’
–‘काँइली आफु पनि राम्रै मान्छे हुन् । ठकुरीका आइमाई त कस्ता छुच्चा हुन्छन, अरूलाई मान्छे नै गन्दैनन । काँइली भने अरू जस्ती पटक्कै छैनन् । कसैलाई नराम्रो नजरले हेरिनन्, कसैसँग नमिठो बोलिनन् । रक्सी भने असाध्यै खान्छिन । रक्सी नखाएत कामै अर्न सक्दिनन, कुन्नी ! कसरी परेछ रक्सीको लत ..।’
भीडछेऊ यस्तै कुरा चल्दै थिए ठकुरानीको बारेमा ।

उता भीडमा छिनछिनमै गीतका भाका परिवर्तन हुँदैथिए । मादलका ताल जोर जोरले घन्किदै थिए । नाच्नेमा क्रमशः ठिटीहरू, तरूनीहरू, अधवैशे, वृद्धा समेत थपिँदै थिए । आइमाई मात्र हैन, पछि त तन्नेरी युवाहरू, पाका समेत सामेल हुन थाले नाचमा । कसैका हातमा सिङ्गै रक्सीका बोत्तल थिए । कोही अरूलाई समेत हात तानेर जबर्जस्ती नाच्न कर गर्दै थिए । कोही खुलेर नाच्दै थिए भने कोही लाजले रातेपिरो हुँदै थिए । स्पर्श, दृष्टि, प्रवाह, आलिङ्गन आदिले सबलाई छोपेको थियो । मनोरञ्जनको पनि यदि सीमा हुँदो हो त त्यही चरम सीमामा थिए उनीहरू ।

उसो त नाच हेर्नेहरू पनि कम्ता उल्साहित थिएनन् । बुढापाकाहरू आफ्नो यौवन र खाइलाग्दो उमेर सम्झँदै थिए भने नयाँ पींडी मेलामा नयाँ–नयाँ कला र रंग भर्दै थिए । एकै दिनका लागि भएपनि सारा गाउँवासीहरू आफ्ना घरव्यवहार थाती राखेर तीजको नाचमा रमाउन सामेल भएका थिए । गरीब र बिपन्न मानिसहरूसँग पनि हाँसो र रहरका असंख्य लहर हुन्छन भन्ने कुराको दह्रो वकालत गरिरहेथ्यो –तीजको नाच ।
०००
–‘नाच् ! तँलाई कति नाच देखाउनु छ, दुनियाका अघि देखा कुलंगार ! तँलाई रक्सी धोकेर गाउँका जवानसँग अँगालो मार्दै नाच्नुपर्ने हैन ? सेखी झार्छु अब तेरो ..।’
अकस्मात बिजुली चम्केजसरी चम्किए जेठा ठकुरी, भीडको माझमा । ठकुरानीको गालामा हिर्काए जोरको झापड ।

–‘मेरो मान–इज्जत सब माटोमा मिसाइस् बोक्सी ? दुनियाँका अघि यो नौटङ्की गरेर मेरो कुलघरानमै दाग लागाइस ..?’
हातको बेतको लौरीले दुइ दनक कम्मरमा कसे । ठकुरानी पछारिइन् भुँइमा, कपाल समातेर लतार्न थाले जेठा ठकुरी । नानाथरी गाली गर्दै भकुर्न थाले ठकुरानीलाई ।

एकैछिन त सबै जना अवाक भए । नाचगान, बजान सब बन्द भो । सितिमिति कसैको मुखबाट शब्द निस्किएन् । नशाले छोएको सिङ्गै भीडले कतिसम्म सहन सक्दो हो । कोही ठकुरीलाई थुन्न थाले कोही ठकुरानीलाई बचाउन थाले । कोही त्यसो नगर्न ठकुरीलाई बिनम्र अनुरोध गर्न थाले भने कोही नानाथरी बोल्न थाले ।

–‘ए बुढा, किन बहुलायौ ? किन कुटेको यस्तरी बुढी आमैलाई ?’ माने घर्तीले नसामै उम्दै भन्यो ।
–‘चुप लाग् तँ बजिया, तेरो पनि ढाड सेक्छु ..।’ रिसले रन्थनिएका ठकुरी कर्किए ।

–‘के भनिस बुढा ? बर्ष दिनको पर्व चलेको बेला यतिका मान्छेको भीडमा बिचरी बुढी मान्छेलाई कुटेर के बहादुरी देखाउँछस ? म त ठकुरी–सगुरी केई मान्दैन, थुतुनो च्यातिदिन्छु ..।’ माने जंगियो ।
–‘तँ मेरो थुतुनो च्यात्ने ? को होस तँ, के हो तेरो हैसियत ? गिठा भ्याकुरले छाक टार्ने मगरले कुलघरानको ठकुरीसँग जोरी खोज्छस ?’ ठकुरी झन् जोरले कराउन थाले ।

ठकुरीका कुराले सिङ्गै भीड अशान्त भयो । भीडबाट अनेक थरी शब्द बर्सिनथाले ठकुरी उपर । ठकुरी अझ जोरले कराउन थाले ।
–‘तिमी मगरहरू आफै जस्तो ठान्छौ हाम्लाई पनि ? जाँड धोकेर नाच देखाउने, जात भन्नु छैन, भात भन्नु छैन । कस्को लोग्ने कस्को स्वास्नी, कस्को छोरी बहिनी अँगालो हाल्याछन, भाँडभैलो मच्चाछ ! अनि मेरी श्रीमतीलाई पनि त्यस्तैमा मिस्याउने ? मेरी श्रीमतीले नानाथरी गरे मेरो इज्जत जाँदैन ? अनि आफ्नै श्रीमतीलाई पनि कुट्न नपाउने ? तिमीहरूको इज्जत छैन र जे गर्दा नी भो, हाम्रो त इज्जत छ नि ..।’

–‘ठकुरी भन्दैमा इज्जत आफै बन्दैन बुढा ! इज्जत कमाउने एउटै काम गर्या छैनौ तिम्ले । सात–सातवटा विहे गर्यौ । मगर्नी भनेनौ, तामाङ्नी भनेनौ, बाहुनी भनेनौ । ऐले मगर भनेर हेप्न खोज्छौ ..?’ भीडबाट पनि उसै गरी चर्काचर्का आवज आउनथाले ।

–‘स्वास्नी भन्दैमा जेपनि गर्न मिल्छ ? आफुले स्वास्नीप्रतिको जिम्मेवारी पुरा गर्या छौ ? बिहे गर्यो, मोजमस्ती गर्यो, सन्तान जन्मायो छोड्यो । आर्की तरूनीको खोजीमा लाग्यो । फेरि उस्तै, दुखकष्टका महाभारत देखायौ अबला आइमाइलाई । ऐले बिचरीले अलिअलि रमाइलो गर्दा तिम्रो इज्जत जाने ? तिम्रो इज्जतै कहाँ छ र जानलाई ? हिजोसम्म लाटा–सिधा मगरहरूको पसिना चुसेर खायौ । अब गए तिम्रा दिन ..।’
भीडबाट एक से एक बोलीहरू फुट्न थाले । ठिटाठिटी तन्नेरी तरूनी, यवा युवती, बुढापाका कसैले केही भन्न बाँकी राखेनन् ।
रीसले आगो भएका ठकुरीको सातो जालाझैँ भयो । चोटले रन्थनिएकी ठकुरानी होसमा आइन् र बिस्तारै उठ्दै लर्खरीएको स्वरमा बोल्न थालिन् ।
–‘ठकुरीको इज्जत कस्तो हुन्छ, कुलघरान कस्तो हुन्छ म बताउँछु अब ..। राम्रोसँग बताउँछु । जाओ त ल्याओ कोइ, मलाई एक बोत्तल रक्सी ल्याइकन आओ ..।’
भीडबाटै कसैले रक्सीको बातेत्तल थमायो काईली ठकुरानीको हातमा । बोत्तल मुखमा लगाउँदै बोलिन ठकुरानी ।

–‘यी, यै हो ठकुरीको इज्जत् …!’
त्यसपछि ठकुरानीले एक्कै सासमा बोत्तल रित्याइदिइन् । भीडबाट ताली बज्यो । ठकुरी भीडमा कतै देखिएनन् ।


जनक रसिक
धनगढी, कैलाली 
(जनक रसिक डडेल्धुरामा जन्मेर हाल कैलालीमा बसोबास गर्दै साहित्य, पत्रकारिता एवम् शिक्षण क्षेत्रमा सक्रिय छन् । उनको यस कथामा अभिजात्य संस्कृति र जनसामान्यको संस्कृतिका बिचको उतारचढावलाई कलात्मक तरिकाले प्रस्तुत गरिएको छ ।)


यहाँहरुका लेख-रचनाहरु हामीलाई पठाउन सक्नुहुनेछ ! 
ईमेल- lekhapadhimedia@gmail.com

100% LikesVS
0% Dislikes
Spread the love !