टोकियो ओलम्पिक : खेलाडी र कर्मचारी कोरोना संक्रमित


टोकियो ओलम्पिक : खेलाडी र कर्मचारी कोरोना संक्रमित

टोकियो — टोकियो २०२० को आयोजकले उद्घाटन समोराहको एक साताअघि बिहीबार जापानमा खेलाडी र ओलम्पिकमा कार्यरत ५ जनालाई कोरोना भाइरस संक्रमण भएको जनाएको छ ।

ब्राजिलको जुडो टिम रहेको जापानी होटलका आठ कर्मचारीलाई कोभिड–१९ पोजिटिभ देखिएको छ भने रुसको रग्बी सेभेन्स टिमका एक सदस्यलाई संक्रमण भएपछि अस्पतालमा भर्ना गरिएको छ । यसले आयोजकलाई चुनौती बढाएको छ । तर, उसले जुलाई १ यता आठ हजार बढी जापान प्रवेश गरे पनि सम्हाल्न सकिने गरी थोरैमात्रै यस्तो देखिएको जनाएको छ ।

टोकियो २०२० ले जुलाई १३ र १४ मा खेलाडी, ओलम्पिकमा कार्यरत गरी ६ जनालाई भाइरस संक्रमण भएको जनाइएको छ । ती ६ संक्रमितको थप परिचय खुलाइएको छैन । तर, पदाधिकारीले ब्राजिली जुडो टिम बसेको जापानी होटलका आठ कर्मचारीलाई कोभिड–१९ पोजिटिभ देखिएको बताएका छन् । पश्चिमी टोकियोस्थित हामामात्सु सहरका होटल भएको बताइएको छ । ब्राजिलको ३० सदस्यीय जुडो टिम आइतबार आइपुगेको थियो ।

पूर्वी जापानको मुनाकातामा हुने रग्बी सेभेन्समा रुसको टिमका एक सदस्यलाई कोरोना संक्रमण भएपछि अस्पताल भर्ना गरिएको छ । १६ खेलाडी र अन्य १० जनासहितको रुसी टिम टोकियोमा जुलाई १० मा उत्रिएको थियो । यो टोली स्थानीयवासी र अरू पदाधिकारीको सम्पर्कमा नरहेको बताइएको छ ।

टिमका अरू सदस्य क्वारेन्टाइनमा रहेका छन् । उनीहरूले बिहीबार नेगेटिभ आए शुक्रबार ट्रेनिङ गर्न पाउनेछन् । क्योदो समाचार एजेन्सीका अनुसार आयोजकले ६८ हजार दर्शक क्षमताको राष्ट्रिय रंगशालामा एक हजारभन्दा कम भीआईपी र प्रतिष्ठित व्यक्तिहरूको मात्रै उपस्थिति हुने बताएको छ । टोकियोमा बुधबार जनवरीयताकै सबैभन्दा बढी १,१४९ जनामा संक्रमण भएको पाइएको थियो ।