ओलीले भने माधव नेपाल गद्दार हुन्, क्षमा दिन सकिँदैन


ओलीले भने माधव नेपाल गद्दार हुन्, क्षमा दिन सकिँदैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई गद्दारको संज्ञा दिएका छन् । माधवकुमार नेपालले नै आफ्नो सरकार ढाल्न अगुवाइ गरेको भन्दै ओलीले उनलाई क्षमा दिन नसकिने बताए ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेर बालकोट पुगेका ओलीले समर्थकहरुलाई सम्बोधन गर्दै आफूलाई जालझेल गरेर हटाइएको बताए । त्यसको अगुवाइ गरेको भन्दै उनले माधवकुमार नेपाल लाजशरम पचेको मान्छे भएको टिप्पणी गरे ।

ओलीले त्यसो भनिरहँदा समर्थकहरुले नेता नेपाललाई गद्दार घोषणा गर्न र पार्टीबाट निकाल्न माग गर्दै नाराबाजी गरे । उनीहरुलाई रोक्दै अध्यक्ष ओलीले अघि भने, ‘पछाडि लाग्नेहरुको सन्दर्भमा उहाँहरुले कमी कमजोरी महसुस गरेर पार्टीमा आएर काम गर्न चाहनुहुन्छ भने उहाँहरुलाई मौका दिन्छौं । तर माधव नेपालको हकमा आत्मालोचना, गल्ती कमजोरी स्वीकार गर्ने कुनै ठाउँ छैन ।’

निवर्तमान प्रधानमन्त्री समेत रहेका ओलीले आफ्नो नेतृत्वको विकास प्रेमी सरकार ढाल्न अगुवाइ गरेको भन्दै नेता नेपालको आलोचना गरे । हिजो पनि प्रधानमन्त्री शेरबहादुर देउवा सपथका लागि नपुग्दै नेता नेपाल शीतल निवास पुगेको भन्दै उनले भने, ‘माधव नेपाल जस्ता गद्दारलाई कुनै क्षमा गर्न सकिन्नँ ।’