साउदीअरब जाने नेपाली कामदारको संस्थागत क्वारेन्टिन खर्च रोजगारदाताले व्यहोर्ने


साउदीअरब जाने नेपाली कामदारको संस्थागत क्वारेन्टिन खर्च रोजगारदाताले व्यहोर्ने

काठमाडौँ । वैदेशिक रोजगारीको लागि साउदी अरब जाने नेपाली कामदार साउदीमा संस्थागत क्वारेन्टिन बस्दाको खर्च सम्बन्धित रोजगारदाताले व्यहोर्ने भएका छन् । वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै साउदी श्रम प्रणालीले समेट्ने कामदारहरुको संस्थागत क्वारेन्टिनको खर्च सम्बन्धित रोजगारदाताले र घरेलु कामदारको हकमा सम्बन्धित रिकुटिङ एजेन्सीले व्यहोर्ने व्यवस्था गरिएको जानकारी प्राप्त भएको जनाएको हो ।  

साउदी सरकारले गत मे २०, २०२१ मा सो मिति पछि साउदी अरब प्रवेश गर्ने कोभिड १९ विरुद्धको खोपको मात्रा पुरा नगरेका विदेशी नागरिक साउदीमा अवतरण भएपछि अनिवार्यरुपमा सात दिनको संस्थागत क्वारेन्टिनमा बस्नुपर्ने नियम लागू गरेको छ । जस अनुसार साउदी आउने नन् इम्यून विदेशीनागरिकले संस्थागत क्वारेन्टिन वापत लाग्ने खर्च हवाई टिकट लिंदाकै बखत बुझाउनु पर्नेभयो त दिनको संस्थागत क्वारेन्टिन खर्च करिब एक हजार अमेरिकी डलरको हाराहारी हुने जनाइएको छ । जसले गर्दा  छुट्टीमा घर गई साउदी फर्किन लागेका र पहिलो पटक साउदी अरब आउन लागेका नेपाली कामदारहरु समस्यामा पर्दै आएका थिए । 

यसअघि नेपाली राजदूतावास रियादले संस्थागत क्वारेन्टिन वापतको खर्चको भार कामदारलाई पर्न नदिने व्यवस्था गरिदिन अनुरोध गरेको थियो ।
-साझासवालबाट