रुपा सुनार प्रकरण: मन्त्री श्रेष्ठसँग माग्यो लिखित जवाफ, दुबै पक्षलाई सर्वोच्चले बोलायो


रुपा सुनार प्रकरण: मन्त्री श्रेष्ठसँग माग्यो लिखित जवाफ, दुबै पक्षलाई सर्वोच्चले बोलायो

सञ्चारकर्मी रुपा सुनारले दायर गरेको जातीय विभेदसम्बन्धी रिट निवेदनमा सर्वोच्चले दुबै पक्षलाई छलफलका लागि बोलाएको छ । साथै सर्वोच्च अदालतले जातीय विभेदको आरोप लागेकी घरबेटीलाई रिहा गराउन सहयोग गरेको विषयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठसँग लिखित जवाफ माग गरेको छ ।

सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासले हालसम्म भएको अनुसन्धानको प्रगतिसहित अन्तरिम आदेश हुने नहुने भन्ने विषयमा असार २९ गते दुबै पक्षलाई छलफलका लागि बोलाएको हो । 

सञ्चारकर्मी रुपा सुनारलाई जातीय विभेद गरी कोठा भाडामा नदिएको आरोप लागेकी सरस्वती प्रधानलाई रिहा गराउन मन्त्री श्रेष्ठ आफैं प्रहरी कार्यालय पुगेका थिए । यस विषयमा मन्त्री श्रेष्ठविरुद्ध प्रहरी र सरकारी वकिल कार्यालयमा उजुरी दिँदा लिन नमानेपछि रुपाले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।