रेडपाण्डाको छालासहित दुईजना पक्राउ


रेडपाण्डाको छालासहित दुईजना पक्राउ

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपलिका–४, बोराडाँडीस्थित पण्डित मोटर्स वर्कसपबाट दुर्लभ वन्यजन्तु रेडपाण्डाको एकथान छालासहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ बस्ने ३८ वर्षीय मुकेश भट्ट र पण्डित मोटर्स वर्कसपका सञ्चालक भारतको मोतिहारी केशरीया थाना, गोछी कुशगर घर भएका ४१ वर्षीय गगनदेव पण्डित रहेका छन् ।

वडा प्रहरी कार्यालय धनगढी तथा संघीय प्रहरी इकाइ कार्यालय धनगढी र कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले वर्कसप तलासी गर्दा रेडपाण्डाको छाला फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय धनगढी कैलालीमा बुझाइने प्रहरीले जनाएको छ ।