चलिरहेका मोबाइल दर्ता नभए पनि बन्द हुँदैनन् तर यसरि सजिलै दर्ता गर्नुस


चलिरहेका मोबाइल दर्ता नभए पनि बन्द हुँदैनन् तर यसरि सजिलै दर्ता गर्नुस

सरकारले आगामी आर्थिक वर्षदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालनमा ल्याउने भनेर बजेट भाषण मै घोषणा गरेको छ ।  

यसको अर्थ हो, ‘साउन १ देखि नेपाल दूरसञ्चार प्राधिकरणमा आईएमईआई नम्बर दर्ता नभएका मोबाइल चल्दैन ।’ यसले मोबाइल प्रयोगकर्तालाई ‘चलाइरहेका मोबाइल दर्ता भएको छैन भने नचल्ने हुन त ?’ भन्ने प्रश्न उत्पन्न भएको छ । 

अहिले दर्ता गर्न नसक्नेदेखि गाउँगाउँमा यस्ता धेरै मोबाइल छन् । के ति सबै बन्द भएर मोबाइल प्रयोगकर्ता सेवाबाट बच्चित हुने हुन त ?  

यही द्धिविधाबीच हामीले नियामक निकाय प्राधिकरणसँग प्रश्न सोधेका छौं, ‘के अहिले चलिरहेका मोबाइल दर्ता छैनन् भने बन्द हुन्छन् त ?’

प्राधिकरणले स्पष्ट पारेको छ, ‘अहिले चलिरहेका कुनै पनि मोबाइल दर्ता नभएको भए पनि बन्द हुँदैनन् । यथावत रुपमा चल्छन् ।’ 

साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम सञ्चालनमा आएपनि त्यसको हाल चलिरहेका मोबाइलमा कुनै असर नगर्ने प्राधिकरणले बताएको छ । 

नेपाल दूरसञ्चार प्राधिकरणका सह-प्रवक्ता अच्युतानन्द मिश्रले अहिले चलिरहेका मोबाइललाई कुनै समस्या नहुने बताए ।

‘मैले अध्यक्ष ज्यूसँग पनि कुरा गरे,’ मिश्रले आईसिटी समाचारसँग कुरा गर्दै भने, ‘उहाँले अहिले चलिरहेका मोबाइललाई कुनै समस्या नहुने बताउनु भयो ।’ 

अहिले चलिरहेका मोबाइलको आईएमईआई नम्बर रजिष्टर चाँहि गर्नुपर्छ । त्यो पहिले देखिको नियम भएको भन्दै मिश्रले हाल चलिरहेका मोबाइल साउन १ गतेदेखि बन्द नहुने बताए । 

‘अहिले सबै सेवा मोबाइलमा आधारित छ । एकपटक सबै मोबाइल बन्द गर्दा अप्ठ्यारो हुन्छ । सीम राखेर चलाइसकेको मोबाइल बन्द हुँदै हुँदैन्’, उनले भने । 

तर, साउन १ गतेदेखि नेपाल भित्रिने मोबाइल दर्ता नभएको भेटिएमा उक्त मोबाइल नचल्ने उनले जानकारी दिए । 

आईएमईआई नम्बर कसरी दर्ता गर्ने ? 

नोटः अनलाइनबाट दर्ता गर्ने सिस्टममा अहिले चाप पनि बढेको र माइग्रेसन पनि भइरहेकाले उक्त सिस्टमले अहिले काम गरिरहेको छैन् । त्यसलाई समाधान गर्न काम गरिरहेको प्राधिकरणले आईसिटी समाचारलाई जानकारी दिएको छ । अनलाइनबाटै दर्ता गर्ने साइटको समस्या समाधान भएपछि तलको प्रक्रियाबाट दर्ता गर्न सकिने छ । 

प्राधिकरणले अनलाइनबाटै आईएमईआई नम्बर दर्ता गर्न सकिने व्यवस्था समेत गरेको छ त्यसका लागि यहाँ क्लिक गर्नुहोस् ।

त्यसपछि इन्डिभिजुअलमा क्लिक गरी त्यहाँ मागिएका आवश्यक विवरण राखेर दर्ता गर्न सकिने छ । अहिले उक्त साइटको सर्भर डाउन रहेको छ । 

साथै तपाईले यहाँ क्लिक गरी आफ्नो आईएमईआई नम्बर दर्ता छ की छैन् भनेर थाहा पाउन सक्नुहुनेछ । आफ्नो मोबाइलको आईएमईआई नम्बर *#०६# डायल गरेर थाहा पाउन सकिने छ । 

यो डायल गर्दा मोबाइलले एउटा मात्रै सीम सपोर्ट गर्छ भने एउटा मात्रै आईएमईआई नम्बर देखाउँछ भने यदी मोबाइलले २ वटा सिम सपोर्ट गर्छ भने २ वटा आईएमईआई नम्बर देखाउँछ । आईएमईआई नम्बर २ वटा भए प्राधिकरणमा दुबै नम्बर दर्ता गर्नुपर्ने हुन्छ ।  

चाबहिलको सिस्टम कहिलेदेखि सञ्चालनमा आउँछ ? 

प्राधिकरणले काठमाडौंको चाबहिलमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम राख्दै छ । यसको ‘सेकेण्डरी साइटलगायत सिभिल कन्स्ट्रक्सन वर्क तयार रहेको छ ।

निषेधाज्ञाका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा त्यहाँको काम प्रभावित भएको छ । चाबहिलको डेटा सेन्टरमा राख्ने उपकरणहरू आएका छैनन् भने जडान, परीक्षण र सञ्चालन गर्ने प्राविधिक टोली पनि आइपुगेको छैन् । चाबहिलको डेटा सेन्टरको काम सम्पन्न गर्न १-२ महिना लाग्ने मिश्रले बताए । 

चाबहिलको डेटा सेन्टर सञ्चालनमा नआएसम्म राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट सिस्टम सञ्चालन गर्ने प्राधिकरणको तयारी छ ।  

प्राधिकरणले २०७६ असारमा करिब ७७ करोड ३९ लाख रुपैयाँमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदका लागि मलेसियन कम्पनी एम/एस निउमेरा कन्पनी सँग सम्झौता गरेको थियो । सो कम्पनीले ५ वर्षसम्म यो सिस्टम सञ्चालन तथा व्यवस्थापन गर्ने छ । –ICT समाचारबाट 
https://lekhapadhi.com/2021/07/06/imei-register/