आमा बेलुकाको काम सकेर कोठामा आउँदा दीपु गृहकार्य गर्दै थियो । आमाले दीपुलाई सोध्नुभयो–“बाबु ! तिम्रो गृहकार्य सकियो त ?”
“सकिनै आँट्यो आमा !” दिपुले भन्यो ।
“ल छिटो सक अनि यो गिलासको दुध पिऊँ ।”
आमाले दूध नजिकैको टेबुलमा राखिदिनु भयो । दीपुले गृहकार्य सकेर गिलासको दूध स्वात्त पार्याे । आमा दराजको कपडा मिलाउँदै हुनुहुन्थ्यो । दीपु पनि आमा नजिकै गएर बस्यो । आमाले कपडा मिलाएर राखेको हेरिरहेको थियो । उसको आँखा तराजमा राखेको सुर्के थैलीमा पर्याे । उसले त्यो निकाल्यो र आमालाई सोध्न थाल्यो ।
“आमा यो के हो ?”
आमाले भन्नुभयो–“यो सुर्के थैली हो ।”
“यो सानो छ । यस्मा के राखिन्छ आमा ?” दीपुले जिज्ञासा राख्यो ।
“यो तिमी जस्तै सानो छ तर महत्त्वपूर्ण छ । यसमा पैसा राखिन्छ । यो पैसा राख्ने सानो बैंक हो ।”
आमाले भन्नुभयो–“यो तिमी जस्तै सानो छ तर महत्त्वपूर्ण छ । यसमा पैसा राखिन्छ । यो पैसा राख्ने सानो बैंक हो ।” दीपु झन उत्साहित हुँदै गयो र आमालाई प्रश्न सोधिरह्यो । आमा दिपुको जिज्ञासा मेटाउँदै हुनुहुन्थ्यो ।
“यो थैली भित्र रूपियाँ पैसा राखेर पहिला पहिलाका हाम्रा आमा–हजुरआमाले कम्मरको पटुकामा गाँठो पारेर बोक्नुहुन्थ्यो । अहिले हामी आफुसँग भएका रूपियाँ, पैसा, सुन, चाँदी बैकमा लगेर राख्छौं सुरक्षाको लागि । पहिला बैंक खुलेका थिएनन् । घरमा भएका सन्दुक, टायङ्का र थैली नै प्रयोगमा आउँथे ।”
“ए…थैली पनि मेरो खुत्रुके जस्तै पो रहेछ त । पैसा जम्मा गर्ने सानो भाँडोे ।” दीपुले दराजको खुत्रुके आमालाई देखाउँदै भन्यो ।
“हो बाबू ! तिमीले ठिक भन्यौ तर अहिलेका मान्छेले यसको प्रयोग गर्दैनन् । अहिले त खुत्रुके, सहकारी र बैंकमा खाता खोलेर पैसा जम्मा गरिन्छ । पैसा जम्मा गरे बापत बैंकले ब्याज थपेर राखिदिन्छ । जम्मा गरेको पैसाको ब्याज पनि आउने र सुरक्षित पनि हुने ।”
“अहिले चाहिँ थैलीमा पैसा किन नराखेको त आमा ?” दीपुले फेरि सोध्यो । आमाले भन्नुभयो– “फेरि अहिलेका आमाहरूले फरिया चौबन्दी लगाउँदैनन् । कम्मरमा बटुका पनि बाँध्ने गर्दैनन् । फेरि थैलीमा पैसा राख्दा हराउने डर पनि हुन्छ । अहिले त फेरि टोलटोलमा बैंक खोलेका छन् । सजिलो भाको छ पैसा बचत गर्नलाई । यो थैली हेर् त, मलाई मेरी आमाले दिनुभएको । त्यसैले आमाको चिनो सम्झेर जतनसाथ राखेको छु । यसमा चारओटा सुर्कना छ । यो दुईओटा सुर्कनाले थैली खोल्ने काम गर्छ भने यो दुईओटा सुर्कनाले थैली बन्द गर्ने काम गर्छ । यो दुई रंगको छ । रातो र हरियो । यसको चारैतिर हरिया चोसे बुट्टाले सजाएको छ । सुर्कनामा रातो कपडाको फूलबुट्टा बनाएको छ । यो कति राम्रो छ हगि दीपु !”
आहा ! कति राम्रो । यो कहाँ पाइन्छ आमा ?”
दीपुले आमापट्टि हेर्दै भन्यो ।
“पहिला त दर्जी दाईले घरमै सिलाउँथे र पसलमा किन्न पनि पाइन्थ्यो ।” आमाको कुरा बिचैमा काटेर दीपुले केहि सम्झे जसरी भन्यो ।
“अँ…अस्ति न बाबाको विदेशी साथी जेनीलाई हजुरले यस्तै थैली उपहार दिनुभाको होइन त आमा !”
“हो त । तिमीले सम्झिरहेका रहेछौ । हामीले यस्ता पुराना चिजहरूको संरक्षण गर्नुपर्छ । जोगाउनु पर्छ । ल अब हामी सुत्ने है त । स्वस्थ हुनलाई निद्रा पनि चाहिन्छ ।”
आमाले बत्ती निभाउनु भयो । दीपु सिरकभित्र पस्यो ।
तारा केसी
(तारा केसी बहुविधाकी लेखिका हुन् । यस बालकथामा नयाँ पुस्तालाई पुराना काम लाग्ने चिजका बारेमा जान्नुपर्ने विषयमा शिक्षा दिइएको छ ।)
यहाँहरुका लेख-रचनाहरु हामीलाई पठाउन सक्नुहुनेछ !
ईमेल- lekhapadhimedia@gmail.com