‘आनन्द आश्रम’ मा रमाएका लघुकथाकार त्रिलोचन ढकाल


‘आनन्द आश्रम’ मा रमाएका लघुकथाकार त्रिलोचन ढकाल

१. विषय प्रारम्भ

त्रिलोचन ढकाल नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिक आन्दोलनका साथसाथै साहित्यिक आन्दोलनका महत्वपूर्ण प्रतिभा हुन् । उनको जन्म वि.स. २००६ साउन १८ गतेका दिन स्याङ्गजा जिल्लाको आँधीखोला गाउँपालिका–६, फफरथुममा नन्दकला ढकाल एवम प. आनन्दमणि ढकालका सुुपुत्रका रुपमा भएको थियो । सानै उमेरदेखि शैक्षिक, राजनीतिक आन्दोलनका साथै सामाजिक आन्दोलनमा समेत संलग्न भएका ढकालले राज्यको महत्वपूर्ण जिम्मेवारी वहन गरेको पाइन्छ । उनी वर्तमानमा सामाजिक कामका साथै साहित्यिक क्षेत्रमा पहिलेभन्दा अझ सशक्त रुपमा काम गरिरहेका छन् । ढकालले प्रारम्भमा राजनीतिक विषयका कृति प्रकाशित भएपनि पछिल्ला दिनमा बालसाहित्य, कथा, नियात्रा, गजल, लघुकथा लगायतका विभिन्न विधामा कलम चलाएको र दुई दर्जनजति कृति प्रकाशित गराएको पाइन्छ । पछिल्ला समयमा लघुकथा लेखनमा सक्रिय भएर लागेका ढकाल लघुकथा कृतिका माध्यमबाट साहित्यिक क्षेत्रमा आफ्नाे परिचयलाई थप विस्तारित गर्न लागेका छन् । यस समीक्षा लेखमा स्रष्टा त्रिलोचन ढकालको आनन्द आश्रम कृतिमा अभिव्यक्त विचार सौन्दर्यका साथै कलात्मक प्राप्तिलाई प्रस्तुत गरिएको छ ।

२. आनन्द आश्रम कृतिमा अभिव्यक्त विचार सौन्दर्य

लघुकथाकार त्रिलोचन ढकालमा गहिरो सामाजिक दृष्टि पाइन्छ । उनका लघुकथामा सामाजिक जीवनका विभिन्न सन्दर्भको प्रस्तुति पाइन्छ । उनका लघुकथाका मुलभूत पृष्ठभूमिलाई विश्लेषणका आधारमा सामाजिक चालचलन एवम् संस्कारसँग सम्बन्धित लघुकथा, राजनीतिक सन्दर्भका लघुकथा, कोरोनासँग सम्बन्धित लघुकथा, विकृति र विसंगतिविरोधी चेतका लघुकथा, समाज परिवर्तन र नवीन चेतनाका लघुकथा, मिथकको प्रयोग र विकृतिविरोधी चेतनाका लघुकथा, व्यक्ति पात्रका प्रवृत्ति र परपीडक चरित्रसँग सम्बन्धित लघुकथा रहेका छन् ।

२.१ सामाजिक चालचलन र संस्कारसँग सम्बन्धित लघुकथा

लघुकथाकार त्रिलोचन ढकालका लघुकथामा सामाजिक चालचलन एवम्् संस्कारसँग सम्बन्धित विषयवस्तुलाई प्रस्तुत गरिएको पाइन्छ । यी लघुकथामा समाजमा रहेका कतिपय चिन्तन, मान्यता, संस्कारले वर्तमानमा मानिसको जीवनको अग्रगामी पक्षको सम्बोधन गर्न नसक्ने भएकोले कतिपय चलन संशोधन गर्नुपर्ने र कतिपयलाई हटाउनुपर्ने दृष्टिकोण व्यक्त भएको छ । ढकालका यस किसिमका लघुकथामा छुवाछुत, अन्तरजातीय प्रिती, बदला, कानुन, एसिड प्रहार, प्रेम, रातो पिरो, हिन्दु राष्ट्र, चियापान, पितृ श्राद्ध, पण्डित बाजे, काजक्रिया, एकादशी, धामी, बच्चा, शव समाधि, आत्महत्या आदि रहेका छन् । यी लघुकथामा समाजमा जातीय छुवाछुत भएकोले त्यसलाई हटाउनु पर्ने चिन्तन आएको छ । यी रचनामा समाजमा कुनै न कुनै रुपमा छुवाछुत रहेको, यसका कारण हिंसा एवम् प्रतिहिंसा हुनेगरेको तथ्यलाई प्रस्तुत गरिएको छ । समाजमा महिलामाथि शोषण, अन्याय, अत्याचारका घटना कायमै रहेको, एसिड प्रहारजस्ता घटनाका कारण उनीहरुले जीवन बाँच्न गाह्रो भएको, मानिसले जन्ममृत्यु संस्कारका नाममा अनेकन धार्मिक कार्य गर्ने र त्यसमा अत्यधिक धनसम्पति लगाउने गरेकोमा आफ्ना आफन्तका नाममा सामाजिक काम गर्नुपर्ने, समाजमा रहेको विभेदकारी चलन हटाउनुपर्ने, पुरुष हिंसामा परेका नारीलाई सहयोग गर्नुपर्ने, मृत्युपश्चात अंगदान गर्नुपर्ने लगायतका विषयलार्ई उठाइएको छ ।

यस लघुकथामा समाज परिवर्तनका लागि सबैको सचेत पहलको आवश्यकताका साथै व्यक्तिगत रुपमा समेत पहलकदमी लिनुपर्ने आवश्यकताबोध गरिएको छ ।

यसै सन्दर्भमा काजक्रिया लघुकथामा दिवंगत आफन्तका नाममा असल काम गर्नुपर्छ भन्ने सन्देशलाई यसरी व्यक्त गरिएको छ । “मृतकले देश, जनता र समाजको भलाईका निम्ति शुरु गरेका बाँकी काम म पुरा गर्छु भनेर प्रतिज्ञा गर्नु उत्कृष्ट काजक्रिया हो जस्तो लाग्यो ।” रुपाकुमारीले दृढतापूर्वक बताइन् । यस लघुकथामा समाज परिवर्तनका लागि सबैको सचेत पहलको आवश्यकताका साथै व्यक्तिगत रुपमा समेत पहलकदमी लिनुपर्ने आवश्यकताबोध गरिएको छ । लघुकथाकार त्रिलोचन ढकालका रचनामा समाजमा रहेका विभेदकारी चलन हटनुपर्ने, न्यायपूर्ण, समतामूलक समाज स्थापना हुनुपर्ने, अन्यायमा परेका जनतालाई सहयोग गर्नुपर्ने र नवीन जीवन संस्कृतिको निर्माण गर्नुपर्ने भावको अभिव्यक्ति आएको छ । यसर्थमा उनका रचनामा समाज रुपान्तरणको चेत प्रखर किसिमले व्यक्त भएको छ ।

२.२ राजनीतिक सन्दर्भका लघुकथा

लघुकथाकार त्रिलोचन ढकाल स्वयं लामो समयदेखि राजनीतिक आन्दोलनमा सक्रिय व्यक्तित्व हुन् । उनमा प्र्रखर राजनीतिक चेत पाइन्छ । ढकाल समसामयिक राजनीतिक घटनाको विश्लेषण गर्नमा सफल देखिन्छन् । उनका यस किसिमका रचनामा मेरो फर्सी, असक्षमता, तँ छैनस्, कोरोना जन्तर, माग्ने बुढा, किसान आन्दोलन, विकास, प्रतिक्षालय आदि रहेका छन् । यी रचनामा मेरो फर्सी अहिलेको राजनीतिक सन्दर्भसँग मिल्ने लघुकथा हो । बाहिर अत्यन्त ठूलो देखिए पनि आफैभित्रका अन्तरविरोधको सामना गर्न नसक्दा राजनीतिक पार्टी फुटेको प्रसंगलाई फर्सीका माध्यमबाट व्यक्त गरिएको छ । यसरी नै समाजमा संघीयताबारे बहस हुनेगरेको, यसका सकारात्मक एवम् नकारात्मक पक्षका बारेमा चर्चाको प्रसंगलाई प्रस्तुत गरिएको छ । ढकालका लघुकथामा राजनीतिक नेतृत्वाम रहेको अस्वस्थ प्रतिस्पर्धा, सभासम्मेलनमा देखिएको भीडसँगै स्वास्थय सर्तकताको कमी, जनताको मागप्रति उपेक्षा, नेतृत्ववर्गमा सत्ता, शक्ति र सम्पत्तिको भोक, किसानका समस्या समाधानमा उदासिनता, मिल मालिक र राजनीतिक नेताको साँठगाँठ, आर्थिक सम्बन्धले जनताबाट टाढा पारेको जस्ता विषय सन्दर्भलाई व्यक्त गरिएको छ । यी रचनामा विकृतिको आलोचना एवम् व्यङ्ग्यात्मक चेतना अभिव्यक्त भएको छ ।

वर्तमानमा आफ्ना स्वार्थका लागि जनताले गरेको सामूहिक कामको पनि विरोध गर्ने स्थानिय नेता प्रवृत्ति रहेको सन्दर्भलाई व्यक्त गरिएको छ ।

लघुकथामा विगत पञ्चायतका काममा माथिल्ला तहका नेता भ्रष्ट भएपनि गाउँस्तरका नेता, कार्यकर्ता जनताको सेवामा लाग्ने, जनताले सामूहिक कामबाट समाजमा विकासका काम गर्ने गरेको प्रसंगलाई अघि सारिएको छ । वर्तमानमा आफ्ना स्वार्थका लागि जनताले गरेको सामूहिक कामको पनि विरोध गर्ने स्थानिय नेता प्रवृत्ति रहेको सन्दर्भलाई व्यक्त गरिएको छ । यसै सन्दर्भमा तँ छैनस् लघुकथामा राजनीतिक विकृति, लुँछाचुँडी र शक्ति संघर्षलाई यसरी प्रस्तुत गरिएको छ, “त्यसो भए दश दिन पर्ख । आमासँग मागेर गाईका परिकार, कुखुराका लपेटा, बंगुरका फिला र होलीवाइन खाएर तिमीभन्दा बढी बलवान हुनेछु । विष्णुले आक्रोशयुक्त, रगत चुहिएला जस्तो अनुहार बनाएर धम्की दिए । यस लघुकथामा शक्ति प्राप्त गर्न गरिएका कुकृत्यको विश्लेषण गर्ने क्रममा होलिवाइन प्रकरणको समेत चर्चा गरिएको छ ।

लघुकथाकार ढकालका लघुकथामा सत्ता र शक्तिका लागि देश र जनताप्रति घात गर्ने प्रवृत्तिको आलोचना गरिएको छ । जनताका हितको बेवास्ता, तस्कर र माफियासँगको साँठसाँठ, सत्ता, शक्ति र सम्पतिका लागि गरिने नाजायज कर्र्म लगायतका विकृतिको आलोचना एवम्् व्यङ्ग्यात्मक चेतनाको अभिव्यक्ति पाइन्छ ।

२.३ कोरोनासँग सम्बन्धित लघुकथा

लघुकथाकार ढकालका लघुकथामा समसामयिकताबोध प्रखर रुपमा पाइन्छ । पछिल्लो एक वर्ष यता कोरोनाका कारण देखापरेको जनधनको क्षति, मानवमूल्यको ह्रास र जनजीविकामा परेको संकट र मानिसको संघर्ष कथा उनका रचनाका मूल कथ्य हुन् । यसै सन्दर्भमा उनका मेलमिलाप, धनदेवी, भगवान, आमाको मन, उज्यालो गाउँ, तीज, दशैं, नमुना गाउँ, तिहारले यस किसिमको भावविचारको प्रतिनिधित्व गरेका छन् । यी लघुकथामा कोरोनाकालमा अपाङ्गहरुले आफ्नो बुद्धिमताले असहजतालार्ई सहजतामा पुर्याएको अवस्थाबोध गरिएको छ । त्यस्तै आर्थिक गतिविधि नहुँदा कोरोनाकालमा विपन्न नागरिकको जीवनमा आएको सङ्कटलाई कुशलताका साथ प्रस्तुत गरिएको छ ।

कोरोनाकालमा विदेशबाट आएका युवाले समाजमा सकारात्मक परिवर्तनका लागि गरेको कार्यलाई लघुकथामा यसरी व्यक्त गरिएको छ, ‘हामीले बुझ्दैनन् भनेका हौला ।

देशविदेशमा छरिएर रहेका परिवारको सम्वेदना, एकअर्काप्रतिको विश्वासको भावनाका साथै विपतकालमा पर्व नमाउने निर्णयसँग सम्बन्धित लघुकथाको समेत आएका छन् । कोरोनाकालमा विदेशबाट आएका युवाले समाजमा सकारात्मक परिवर्तनका लागि गरेको कार्यलाई लघुकथामा यसरी व्यक्त गरिएको छ, ‘हामीले बुझ्दैनन् भनेका हौला । हामीले पनि देखेका छौँ । अर्जुनको नेतृत्वमा भुजुङ्गेमा पर्यटक लोभ्याउने संरचना बनाएका छौ । लोकनाथ र जीवनको नेतृत्वमा सहकारी भवनको नजिकै पुस्तकालय भवन बनाउने अभियान सुरु गरेका छौ । डोलराजको नेतृत्वमा माध्यमिक विद्यालयलाई पुर्णाङ्गको बनाउन एघार र बाह्र कक्षा सुरु गर्ने योजना पनि बनाएका छौ । गाउँलाई कोरोनाले फाइदा पो दियो त ।’ युवाहरू एकै आवाजमा बोले ।

ढकालका लघुकथामा एकातिर समाजमा स्वास्थ्य चेतनाको अभावमा सामूहिक रुपमा गरिने गुन्डागर्दी र कोरानापीडितप्रति गरिएको अन्यायपूर्ण व्यवहारको आलोचना गरिएको छ । त्यसरी नै कोरोनाकालमा विदेशबाट आएका युवाले समाजमा सकारात्मक कार्य गरेको, त्यस कार्यले समाजको विकासमा महत्वपूर्ण योगदानको प्रसङ्ग पनि आएको छ । लघुकथामा सकारात्मक कर्मको प्रशंसा एवम् नकारात्मक भावको विरोधको चेतनाको अभिव्यक्ति पाइन्छ ।

२.४ विकृति र विसंगतिविरोधी चेतका लघुकथा
लघुकथाकार त्रिलोचन ढकालका लघुकथामा समाजमा देखिएका विकृति एवम् विसंगतिप्रति आलोचना एवम् व्यङ्ग्य पाइन्छ । उनका लघुकथा व्यक्ति पात्रका साथै समूहका माध्यमबाट पनि समाजमा गलत चिन्तन, प्रवृत्ति एवम् क्रियाकलाप बढेकोमा चिन्ता व्यक्त गरिएको पाइन्छ । उनका यस किसिमका लघुकथामा झगडा, कपट, कुकुर, बच्चा, फेसबुके प्रेम, लेखक, देवर बाबु, श्रेयाको प्रतिकार, पहिरो, जेठाजु,स्वावलम्बन, पुस्तक प्रकाशन आदि रहेका छन् । यी लघुकथामा पारिवारिक बेमेल, दाजुभाइको झगडा, छलछाम, कपट प्रवृत्तिलाई प्रस्तुत गरिएको छ । त्यस्तै समाजमा व्याप्त बलात्कार, प्रेमका नाममा धोका, आफन्तले नै दुःख दिने, सताउने, चोर्न काम गरेको प्रसंगलाई प्रस्तुत गरिको छ । त्यस्तै समाजमा असल बनिरहने तर घरमा श्रीमती काममा लदाउने समाजसेवी प्रवृत्ति, पुस्तक प्रकाशनमा गरिने ठगी आदि कुरालाई व्यक्त गरिएको छ । यी लघुकथामा समाजमा परपीडक चरित्रका कारण सिधासादा जनताले न्याय नपाएको अवस्थाबो गरिएको छ । ढकालका लघुकथामा समाजमा हुने गरेका गलत कार्यको विरोध एवम् समतामुलक न्यायपूर्ण समाजको स्थापना मूल स्वरका रुपमा आएको छ ।

२.५ समाज परिवर्तन र नवीन चेतका लघुकथा

लघुकथाकार ढकालका लघुकथामा सामाजिक परिवर्तनको चेत प्रखर किसिमले आएको छ । उनका लघुकथामा परम्पराको भारी बोक्नेभन्दा जीवनको सही व्यवस्थापनका लागि साहसिक निर्णय र कर्मको आवश्यकताबोध गरिएको छ । उनका यस किसिमका केही लघुकथामा गाउँ निकाला, छुवाछुत, उज्यालो गाउँ, कानुन, श्रेयाको प्रतिकार, बा, पितृ श्रृाद्ध, काजक्रिया, ज्ञान रहेका छन् । यी लघुकथाका पात्रले समाजमा रहेको परम्परागत चिन्तनमाथि धावा मात्र बोलेका छैनन्, समाजमा नयाँ चिन्तन ल्याउनका लागि संघर्ष समेत गरेका छन् । कोरोना लागेको मानिसलाई गाउँले वडा अध्यक्षले निकाल्न खोज्दा सम्झाउने हेडसर, क्वारेन्टाइनमा दलित युवा हटाउन खोज्दा सम्झाउने डाक्टर, कोरोनाकालमा परदेशबाट घर आएर सामाजिक काम गर्ने युवा, बालविवाहको विरोध गर्ने गाउँले र प्रहार, बलात्कार गर्न खोज्नेलाई प्रतिकार गर्ने बालिका सबै सामाजिक रुपान्तरणका सारथी पात्र हुन् । लेखकले यी व्यक्ति पात्रका माध्यमबाट रुपान्तरणको पक्षलाई दह्रोसँग समातेका छन् । बुढेसकालमा आफू अनुकुलका साथी खोज्न वृद्धाश्रममा बस्ने बा सकारात्मक चेतनाका अग्रणी व्यक्तित्व हुन् । लेखकले समाजमा मृत्यु संस्कारका नाममा अनेकन खर्च गर्नुभन्दा समाजको हितमा काम गर्नुपर्ने विचारका माध्यमबाट समाज विकासका क्षेत्रमा व्यक्ति पात्र आफै सरेर आउनुपर्ने दृष्टिकोण अघि सारेका छन् । लघुकथाको जोगी पात्रको ज्ञान अधुरो रहेको र त्यसलाई परिष्कृत गर्नुपर्ने विचार आएको छ । यी लघुकथामा नेपाली समाजमा रुपान्तरणको चिन्तन आएको छ । कुन्ठा, गनगन र परनिन्दाबाट बचेर सकारात्मक चिन्तन र चेतनाको प्रस्तुति आजको आवश्यकता हो यसर्थमा स्रष्टा ढकालका रचनाले परम्परागत समाजका रुढि र अन्धविश्वासमाथि प्रहार गरेका छन् र नवीन चेतनको उद्गार व्यक्त गरेका छन् ।

२.६ मिथकको प्रयोग र विकृति विरोधी चेतनाका लघुकथा

स्रष्टा त्रिलोचन ढकालका लघुकथामा मिथकको प्रयोगका साथै विकृतिविरोधी चेतनाको अभिव्यक्ति पाइन्छ । यी लघुकथामा पुराणमा वर्णित पात्रसँग सम्बन्धित रहेर वर्तमान समाजमा देखिएका अन्धविश्वासको आलोचना पाइन्छ । उनका यस किसिमका रचनामा ध्यान, एकादशी, तँ छैनस्, महासम्मेलन आदि रहेका छन् । यी लघुकथामा शिव, पार्वती, नन्दी, भृङ्गीलाई पात्र बनाएर कोरोनामा गरिएको भ्रष्टाचार र त्यसलाई पचाउन नसकेर बिमार परेका ती पात्रको अवस्था चित्रणका माध्यमबाट गलत कार्यप्रतिको आलोचना एवम् व्यङ्ग्य आएको छ । जनताले मानेका ईश्वर, नेताले गलत कार्य गर्छन् भने तिनको कार्यको विश्लेषणका साथै त्यसको विरोध गर्नुपर्ने चेतना व्यक्त भएको छ । उनका रचनामा राजनीतिका नाममा हुने गरेको अस्वस्थ प्रतिस्पर्धा, देश र जनताविरोधी कार्य, होलीवाइन लगायतका प्रसंगको प्रस्तुतिका साथै विकृति विरोधी चेतना व्यक्त गरिएको छ । यी लघुकथा मध्ये सबैभन्दा सशक्त लघुकथा महासम्मेलन हो । उनका लघुकथामा देवता कोरोनाकालमा भोकै रहेको, जनताले केही खुवाउन नसकेको, उसले पनि काम गरे मात्र बाँच्ने भन्ने भनाइका माध्यमबाट कर्मवादी चेतनाको सशक्त अभिव्यक्ति आएको छ ।

२.७ व्यक्ति पात्रका प्रवृत्ति र परपीडक चरित्रसँग सम्बन्धित लघुकथा

लघुकथाकार त्रिलोचन ढकालका लघुकथामा व्यक्ति पात्रका मनोवृति र परपीडक चरित्रलाई प्रस्तुत गरिएको छ । उनका यस किसिमका लघुकथामा कपट, सोच, नामर्द, देवर बाबु, कुरौटे, शवदाह, जेठाजु, ढुक्क रहेका छन् । यी लघुकथामा आफ्नो स्वार्थका लागि दाजुभाइमा बेमेलको अवस्था, यौन आवश्यकताका नाममा आफ्नो जोडालाई धोका दिने प्रवृत्ति, आफ्नै आफन्तको सामान चोरी गर्ने कार्य, काम नगरेर खान खोज्ने प्रवृत्तिलाई प्रस्तुत गरिएको छ । ढकालका लघुकथामा व्यक्ति पात्रका विसंगत जीवन यथार्थको प्रस्तुति पाइन्छ । आफ्नो सानो लाभका लागि आफ्नै निकटतम व्यक्तिलाई धोका दिने प्रवृत्ति समाजविराधी प्रवृत्ति हो । निराशा, कुन्ठा एवम् हताशामा बाँच्नु, अरुको प्रगति देख्न नसक्नु, स्वार्थ र महत्वाकांक्षाका कारण गलत कार्य गर्नु यस किसिमका पात्रका चरित्रगत विशेषता हुन् । स्रष्टा ढकालले समाजमा असल पात्र र चरित्रका कार्यको प्रशंसाका साथै समाज एवम् व्यक्ति पात्रका गलत चिन्तन र प्रवृत्तिको समेत कुशलताका साथ विश्लेषण गरेको पाइन्छ । यी लघुकथामध्ये सबैभन्दा विकृतिको चरम रुप शवदाह लघुकथामा पाइन्छ । आफ्नै पत्नीको बलात्कारपछि हत्या अनि शवदाह स्थलमै लाशसँग बलात्कारले विसंगतिको चरम रुपलाई देखाएको छ ।

३. शिर्षकको प्रयोग, परिवेश, पात्रविधान एवम् दृष्टिबिन्दको प्रयोग

लघुकथाकार त्रिलोचन ढकालका लघुकथामा पात्रको त्रियाकलापसँग सम्बन्धित रहेर शिर्षकको प्रयोग पाइन्छ । यसरी हेर्दा उनका लघुकथाका शिर्षक प्रवृत्तिगत पक्षका आधारमा राखिएको पाइन्छ भने कतिपय शिर्षक पात्रका नामबाट समेत राखिएको पाइन्छ । उनका लघुकथाका शिर्षक प्रायः एक शब्द वा पदावली स्तरका छन् । उनका लघुकथाको परिवेश नेपाली समाजसँग जोडिएको छ । सहरबजारको परिवेश आउँदा शासक वर्ग, जनता, सडक, आन्दोलन जस्ता परिवेश आएको छ भने ग्रामीण समाज र त्यससँग सम्बन्धित गतिविधिले परिवेशका रुपमा मुख्य स्थान ग्रहण गरेको छ । लेखक स्वयं राजनीतिक, सामाजिक आन्दोलनमा जोडिँदा शहरबजार केन्द्रित भएको, बसोबासका हिसाबले ग्रामीण भेगसँग नजिक रहेकोले स्थानगत परिवेशको रुपमा सहरी एवम् ग्रामीण परिवेश आएको छ ।कालगत परिवेशका रुपमा पछिल्लो समयको राजनीति, समाज, संस्कृति र जीवन उनका लघुकथा लेखनमा आएको छ । मानसिक परिवेशमा विकृतिले गाँजेको समाज, विकृत जीवन एवम् संस्कृति र विकृतिविरोधी लेखकीय चेतले रचनामा आकार प्राप्त गरेको छ । उनका लघुकथामा परिवेशको सुक्ष्म चित्रण पाइन्छ । लघुकथकार ढकालका पात्र प्रायः निम्नमध्यम एवम् निम्न वर्गका पात्र रहेका छन् । अधिकांश युवा पात्र छन् भने बालक एवम् वृद्ध पात्रको उपस्थिति आंशिक रुपमा रहेको छ । लघुकथामा सुक्ष्म रुपमा पात्रको उपस्थिति छ । उनले शासकवर्गीय पात्र र पुराणवर्णित मिथकका रुपमा आएका पात्रलाई पनि स्थान दिएका छन् । उनका लघुकथाका पात्रले कथानक एवम् परिवेश अनुकुल आफ्नो चरित्र वहन गरेका छन । ढकालका लघुकथामा तृतीय पुरुष दृष्टिबिन्दुको प्रयोग छ भने आंशिक रुपमा प्रथम पुरुष दृष्टिबिन्दुको पनि प्रयोग पाइन्छ ।

४. सारांश

आनन्द आश्रमको भौतिक जगतमा उपस्थिति छ र लेखकले त्यसैबाट आफ्को कृतिको नामकरण गरेका छन् । यो कृति समकालीन नेपाली समाज, संस्कृति, जीवन र राजनीतिको अध्ययनका लागि महत्वपूर्ण कृति हो । लेखकको जीवनप्रतिको दृष्टि जीवनबोधी छ । कृतिमा विकृतिप्रतिको आलोचनाका साथै व्यङ्ग्यात्मक चेतनाको प्रखरता पाइन्छ । यस कृतिमा शासकवर्गीय चिन्तनबाट मुक्त रहेर आम श्रमजीवी जनताको जीवनको प्रगतिको चाहना, अन्धविश्वासविरोधी चेतना एवम् परिवर्तनप्रतिको अगाध आस्था पाइन्छ । कृतिमा सम्वादका माध्यमबाट सामाजिक संघर्ष र त्यसमा भाग लिएका पात्रका मनोवृत्तिका विश्लेषण गरिएको छ । राजनीतिक नेतृत्वका खराब पक्षको आलोचना, सामाजिक चालचलन एवम् संस्कारमा रहेका अन्धविश्वासबाट मुक्तिको चाहना, कोरोनाकालीन सामाजिक मनोविज्ञान र उत्पीडित जनताप्रतिको सम्वेदना, सामाजिक परिवर्तनको चेत, मिथकको प्रयोग एवम् व्यक्ति पात्रका विसंगतिको आलोचना गरिएको छ । लघुकथामा जीवनप्रतिको दृष्टि प्रगतिशील छ र यसले समाज रुपान्तरणको चेतलाई दह्रोसँग समातेको छ । नेपाली लघुकथा लेखन शिल्पका हिसाबले कृति मध्यम किसिमको छ । यस कृतिका केही रचनामा भएको आयामगत विस्तार, लामो सम्वादको परित्याग तथा सूत्रात्मक अभिव्यक्तिका प्रयोगका साथै कलात्मक प्रौढता आउने हो भने नेपाली लघुकथा लेखनमा लेखकको उपस्थिति अझ सबल हुँदै जाने विश्वास लिएको छु ।


डा. पुष्करराज भट्ट
प्रधान सम्पादक, लेखापढीडटकम