सृृजन लम्सालका दुई लघुकथा


लेखक : लेखापढी      १९ असार २०७८, शनिबार १६:०५ मा प्रकाशित     
सृृजन लम्सालका दुई लघुकथा

घरभित्रको मामिला

प्रमुख अतिथि प्रख्यात मानवअधिकारकर्मी तथा समाजसेवी अनुसुया शर्माको उपस्थितिले गोष्ठीको गरिमा बढाएको थियो । श्रोताहरुले खचाखच भरिएको थियो हल । थोरै पुरुष र धेरै महिलाहरूले “महिला हिंसा र बालश्रम शोषण” विषयमा प्रवचन दिए । प्रायः सबैले महिला वर्गमाथि पुरुषवर्गको थिचोमिचो, शोषण, अन्याय, अत्याचार बारे बोले र आक्रोस पोखे ।

प्रमुखअतिथिले त झन् चर्को बोलिन् । भनिन् – “महिला माथिको हिंसा विरुद्धमा राज्यले कडा कानून बनाउनु पर्छ । महिलामाथि अझ खास गरेर एक्काइस बर्ष उमेर नपुगेका बालिकामाथि हुने बलात्कारका मुद्दामा बलात्कारीलाई सार्वजनिक रुपमै गोली ठोक्ने वा झुन्ड्याउने प्रावधान गरिनुपर्छ । त्यस्ता बलात्कारीलाई गोली ठोकेको वा झुन्डयाएको हेर्न चाहन्छु म ।”

अनुसुयाले त्यसो भनिरहँदा श्रोताहरुले जोडले ताली ठोके, केही युवतीहरुले त ‘अनुसुइया म्याम हाई !! हाई !!’ भने ।

उसको कुर्ती च्यातिएको, अनुहार दर्फरिएको, ओछयान खजमजिएको र ओछ्यानमा केही आलो रगत लतपतिएको थियो ।

कार्यक्रम सकिएपछि कारमा बसेर घरतर्फ जांदैगर्दा ताली र नाराको सम्झनाले अनुसुयाको नाक घिरौला जत्रो भयो । स्वादै फेरेर भनें–भन्ने भावको खुसी र उत्तेजना थियो उनमा ।

अनुसुयाले आफ्नो घरको गेटसामु पुगेर धेरै पटक हर्न बजाइन् तर गेट खुलेन । सँधै हर्न बज्नेवित्तिकै गेट खोल्न आइपुग्ने गीता आज आइन् ।

‘कहाँ मरिछ यो गीते’ भन्दै कारबाट ओर्लेर आफैले गेट खोलिन र कारलाई ग्यारेजमा हुलेर घरभित्र पसिन् ।

घरभित्र सबै कोठाहरु ह्वाङ्ङै थिए । छेउपट्टिको एउटा कोठामा सँुक्कसँुक्क गरेर रोइरहेकी थिई गीता । उसको कुर्ती च्यातिएको, अनुहार दर्फरिएको, ओछयान खजमजिएको र ओछ्यानमा केही आलो रगत लतपतिएको थियो । त्यो दृश्य देखेपछि अनुसुयाजस्ती प्रबुद्ध र चेतनशील महिलाले घटनाको यथार्थताबारे लख नकाट्ने कुरै भएन ।

अनुसुइया झस्किइन् !

उसले चुलोचौकादेखि लिएर सम्पूर्ण घरको भित्री धन्दा धानेकी थिई ।

छोरी सरह व्यबहार र माया गर्छु डिग्रीसम्म पढाउँछु भनेर घरको कामधन्दा गर्न बसेकी हो गीता । चौध वर्षकी गीता नौ कक्षामा पढ्दै थिई । उसले चुलोचौकादेखि लिएर सम्पूर्ण घरको भित्री धन्दा धानेकी थिई । आज उसलाई आफ्नै घरमा यो अवस्थामा देख्दा अनुसुया दुःखी र मर्माहत नभएकी त होइनन् तर त्योभन्दा बढी उनी सतर्क भइन । उनले घरको मूलढोका बन्द गरिन् र गीतालाई केरकार गरिन् –

“कस्को काम हो यो ? नढाँटेर भन गीता”

गीता बोल्नै सकिन, रोइमात्र रही । अनुसुयाले तारन्तार खोर्याएपछि यतिमात्र भनी –‘प्रका श दा ई ।’

आफ्नो इज्जत र पुत्रमोह सामु अनुसुया शर्माको नैतिकता, मानवता, सिद्धान्त, आदर्श र न्यायप्रतिको निष्ठा आदि सबै छिनभरमै भस्मिभूत भए ।

उनले भनिन्–“कान खोलेर सुन् गीता, यो घटनाको समाचार मिडियामा वा बाहिर अन्यत्र कतै गयो भयो भने तेरै चरित्रमा दाग लग्छ, तेरै आमाबाबुको इच्जत जान्छ, तेरै जीवन बरवाद हुन्छ । त्यसैले यो घरभित्रको मामिला घरभित्रै साम्य हुनुपर्छ ।”

कथाको पात्रले जघन्य अपराध गर्यो । उसले अकारण एक व्यक्तिको हत्या गर्यो । त्यो हत्यालाई कथानक बनाएर कथा लेख्ने विषयमा कथाकारले सोच्दै गर्दा कथाको पात्र फरार थियो । उसले अज्ञात थलोबाटै कथाकारलाई धम्की दियो, भन्यो–“कान खोलेर सुन कथाकार ! मेरो कथा लेखिस् भने तँलाई मैले जान्याछु, जिउँदै जलाउने वा गाड्ने छु जङ्गलमा !”

त्यो धम्की सुनेपछि कथाकारले आफ्नाे कलममा सर्प देख्न थाल्यो, छुनै डरायो ।

त्यो कथा प्रकाशित भयो । बजारमा निकै चर्चित भयो र कथाकार पनि हर्षित भयो ।

केही समय पश्चात भने कथाको पात्र पक्रियो उसमाथि ज्यानमारा मुद्दा चलाइयो । अदालतबाट मुद्दा फैसला भयो । हत्यारालाई आजीवन कारावास सजाय मिल्यो ।

कथाको पात्र जेल चलान भएपछि भने कथाकारले आफ्नाे कलमबाट सर्प हराएको देख्यो र ढुक्क भएर कथा लेख्यो । त्यो कथा प्रकाशित भयो । बजारमा निकै चर्चित भयो र कथाकार पनि हर्षित भयो ।

तर आश्चर्य ! संसारमै कतै कहिल्यै नभएको काम अहिले यहाँ भयो । कानूनी राज्यको मान्यता विपरीत न्यायपालिकाको सर्वोच्च निकायले गरेको फैसलाको मसी ओभाउन नपाउँदै कथाको पात्र जेलबाट छुट्यो । ऊ जेलबाट बाहिर निस्कँदै गर्दा उसको गलामा बीस धार्नीको फूलमाला र राज्यसंचालकहरुद्वारा खटाइएका जमातकै जुलुस नारा देखे, सुनेपछि अहिले फेरि त्राहिमाम छ कथाकार ।


सृजन लम्साल


(सृजन लम्सालको बसोबास नेपालगञ्ज, बाँकेमा रहेको छ । उहाँ मूलत निबन्ध एवम् नियात्रामा कलम चलाउनु हुन्छ । स्रष्टा लम्सालका “मान्छेदेखि सावधान” नामक लघुकथा कृति प्रकाशित छ ।)


यहाँहरुका लेख-रचनाहरु हामीलाई पठाउन सक्नुहुनेछ ! 
ईमेल- lekhapadhimedia@gmail.com

 

100% LikesVS
0% Dislikes
Spread the love !